site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँच राजनीतिक दलको साझा संकल्प : शिक्षा, स्वास्थ्यमा अधिकांश पुरानै, केही आसलाग्दा योजना 

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले यही चैत ६ गते न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरे । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)को संयुक्त संकल्पमा शिक्षा र स्वास्थ्यमा भने अधिकांश पुरानै अवधारणा समेटिएको छ । 

सो संकल्पमा उच्च शिक्षाका निम्ति विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने वर्षौँदेखिको प्रतिबद्धता दोहोर्‍याइएको छ । त्यसनिम्ति विश्वविद्यालयहरूमा विद्यमान समस्याको तत्काल समाधान गरी शिक्षा र रोजगारीबीच सन्तुलन कायम गर्ने नीति लिइएको छ ।

निःशुल्क र अनिवार्य शिक्षासम्बन्धी ऐन तथा नियमावलीको मर्म र भावना कार्यान्वयन गरी शिक्षा पाउने जनताको अधिकार सुनिश्चित गर्ने संकल्पमा उल्लेख छ । यो नेपालको संविधान निर्दिष्ट अधिकार हो ।

गुणस्तरीय शिक्षा नीति अवलम्बन गर्दै उद्यमशील शिक्षित युवाको नीति कार्यान्वयन गर्ने संकल्पमा समेटिएको छ ।

सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा रहेको अन्तरलाई न्यूनीकरण गर्ने संकल्पको लक्ष्य छ । डिजिटल माध्यम (ई–लर्निङ)को प्रयोग गरी शिक्षालाई आधुनिकीकरण गर्ने नीति संकल्पमा समेटिएको आसलाग्दो कार्यक्रम हो । यो सामुदायिक विद्यालयमा सिकाइका क्रममा प्रयोगमा ल्याउन थालिएको छ ।

अवकाशप्राप्त सरकारी कर्मचारी र इच्छुक बुद्धिजीवीलाई शैक्षिक क्षेत्र सुधारका निम्ति स्वयंसेवक शिक्षक बन्ने अवसरको परिकल्पना संकल्पमा गरिएको छ । यो अवधारणा शैक्षिक क्षेत्रको गुणस्तर उकास्न प्रभावकारी हुनसक्छ ।

यस्तै, नेपालबाहिर दक्षता हासिल गरेको जनशक्तिले यहाँको शिक्षा क्षेत्रमा योगदान दिने वातावरण सिर्जना गर्ने आसलाग्दो परिकल्पना पनि संकल्पमा गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा अधिकांश पुरानासहित केही आशा जगाउने बुँदा संकल्पमा समेटिएको छ । जनतामा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने, सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउने, दायरा बढाउँदै किफायती स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सहज बनाउने योजना संकल्पमा उल्लेख छ ।

स्वास्थ्य सेवाको गुणस्तर निश्चितताका निम्ति नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेसनल अक्रिडिटेसन अथोरिटी) गठन गर्ने योजना समेटिएको छ । रोग नियन्त्रण केन्द्र र खाद्य तथा औषधि नियमन प्राधिकरण (एफडीए) बनाई स्वास्थ्य सेवाको नियमन गर्ने विषय पनि संकल्पमा समेटिएको छ ।

एफडीएको अवधारणा विगत तीन वर्षदेखि लगातार बजेट वक्तव्यमा समेत घोषणा गरिँदै आएको छ । उद्देश्यअनुरूप एफडीए स्थापना गरिए औषधि र खाद्यान्नको नियमनमा छरिएको क्षेत्राधिकारलाई एकीकृत गरी प्रभावकारी बनाउन सकिन्छ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro