
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी ‘ट्रुथ सोसल’ चाँडै पब्लिक (सार्वजनिक) कम्पनी बन्ने भएको छ । सम्भवतः आउँदो साता ट्रुथ सोसल सार्वजनिक कम्पनी बन्ने वायर्डले उल्लेख गरेको छ ।
डिजिटल वर्ल्ड एक्विजिसन कर्पोरेसन कम्पनी ट्रुथ सोसलको मुख्य कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजीसँग मर्जरमा जान तयार भएको हो । पब्लिक भएपछि कम्पनीले डीजेटी टिकरअन्तर्गत व्यापार गर्नेछ ।
ट्रम्पसँग ट्रुथ सोसलको ६० प्रतिशत सेयर छ । पब्लिक कम्पनी बनेसँगै ट्रम्पले तीन अर्ब अमेरिकी डलरभन्दा बढी कमाउन सक्ने जनाइएको छ ।
तर, कम्पनीसँगको सम्झौताअनुसार ट्रम्पले सेयर बेच्नुअघि ६ महिना कुर्नुपर्नेछ । त्यसैले ट्रम्पले तत्काल पैसा पाउने छैनन् ।
उनी हाल एउटा ठगी मुद्दामा ४५ करोड ४० लाख अमेरिकी डलर तिर्न संघर्ष गरिरहेका छन् । न्युयोर्क अदालतले उनीमाथि यस्तो फैसला सुनाएको थियो ।
उनलाई त्यति बेलाको ट्विटर (हालको एक्स)मा प्रतिबन्ध लगाइएपछि सन् २०२२ मा ट्रुथ सोसल खोलेका थिए ।