काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पछिल्लो समय सहकारी क्षेत्रलाई बदनाम गर्ने काम भएको बताएका छन् ।
आज नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्दै उनले एकाध सहकारीले गलत गरेको भए पनि सबै सहकारीलाई एउटै डालोमा राखेर हेर्न नहुने बताए ।
सहकारीको संख्या ३१ हजार भने पनि मन्त्रालयसँग समेत यकिन तथ्यांक नरहेको उनको भनाइ छ । उनले वास्तविक तथ्यांक निकाल्न प्रयास गर्ने बताए ।
मन्त्री अधिकारीले गलत गर्ने सहकारीलाई कारबाही हुन्छ भन्ने सन्देश दिन र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहित गर्न आवश्यक रहेको उनले जनाए ।
सहकारी पीडितको समस्या समाधान गर्न सरकारले वार्ता टोली बनाइसकेको र उनीहरूको मागप्रति राज्य गम्भीर भएको समेत उनले बताए ।