site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

प्रधानमन्त्री पुष्पकमल दाहालले बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई पुरस्कार वितरण कार्यक्रममा शनिबार व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेकाछन् । सरकारले व्यावसायिक वातावरण सिर्जना गर्न सरकारले काम गरिरहेको पनि दाबी गरेका छन् । 

व्यावसायिक समुदायका लागि प्रधानमन्त्री दाहालको यस आह्वान र आश्वासनले प्रेरित एवं प्रोत्साहित गर्नुपर्ने हो । तर, राजनीतिक नेतृत्वको कथनी र प्रशासनिक व्यवहारमा देखिने अन्तरले व्यावसायिक समुदाय ‘ठुक्क’ हुन भने पक्कै सक्तैन । वर्तमान प्रधानमन्त्रीकै कार्यकालमा भएको प्रशासन संयन्त्रको दुरुपयोगले पनि व्यावसायिक समुदायलाई झस्काइरहेको देखिन्छ ।

संविधानतः देशमा विधिको शासन छ । राज्यका संयन्त्रहरू सञ्चालनका लागि कानुन बनेका छन् । तर, त्यस्ता कानुनहरू मूलतः प्रशासनिक सुविधा र नियन्त्रणका उद्देश्यले बनाइएका हुन्छन् । यसैले कार्यान्वयनका चरणमा पुग्दा नागरिकले कानुनले आफ्नो रक्षा गर्छ भन्ने विश्वास गर्नै सक्तैनन् । यस्तो अवस्थामा सत्तामा पहुँच र प्रभाव नहुने कसैले पनि ढुक्कसँग लगानी गर्न सक्तैन । 

सरकारी संयन्त्र र व्यवसायीका बीचमा विवाद उत्पन्न भएमा न्यायालयबाट इन्साफ पाइने विश्वास पनि ढुक्कसँग गर्न सकिने अवस्था छैन । नेपालको न्यायालय अपेक्षाकृत  स्वतन्त्र र सक्षम भए पनि मुद्दाको फैसला हुनलाग्ने समयले व्यवसायीहरूलाई हतोत्साही नै बनाउँछ । त्यसमाथि पछिल्ला दिनहरू अदालतका निर्णयहरू पनि सडकबाट प्रभावित हुनेगरेका देखिन थालेको छ । न्यायमूर्तीहरू नै सस्तो लोकप्रियताका पछि लाग्न थालेपछि न्यायिक मनको प्रयोग हुनसक्तैन । अनि न्याय पाइन्छ भनेर कसरी ढुक्क हुने ?

Global Ime bank

राज्य संयन्त्रको विशेषगरी प्रहरी र प्रशासनको राजनीतिक दुरुपयोग नेपालमा व्यवसायीलाई निरुत्साहित तथा सामान्य नागरिकलाई आतङ्कित बनाउने अर्को कारण हो । ‘पहिले थुन्ने अनि सुन्ने’ प्रहरी शैलीलाई विगत वर्षमा सरकारको नेतृत्व गर्नेहरूले नै सराहना गरेका थिए । सस्तो लोकप्रियताका लागि विधि र प्रक्रिया मिच्न नहिचकिचाउने प्रवृत्ति प्रहरी प्रशासनका अधिकारीहरूमात्र होइन राजनीतिक नेतृत्वले समेत देखाएको कसैले बिर्सेका छैनन् । अनि कसरी ढुक्क होलान् त व्यवसायीहरू ?

राजनीतिक दलका अधिकांश नेता कार्यकर्ता अरूकै कमाइमा बाँचेका छन् । सत्ताको निकट भएको वा शासनमा प्रभाव र पहुँच देखाएर ‘असुली’ गर्ने नै उनीहरूको जीवनवृत्ति बनेको छ । स्वाभाविकरूपमा तिनको पहिलो सिकार व्यवसायीहरू नै हुने हुन् । पार्टीका नाममा हुने असुली नरोकिँदासम्म कसरी व्यवसायीले ढुक्कसँग लगानी गर्ने ?

यसैले पहिले प्रहरी प्रशासनलगायत नागरिकलाई सेवा प्रवाह गर्ने राज्यका संयन्त्रमा काम गर्नेहरूले नागरिकलाई दुःख दिएर असुली गर्ने वातावरण बनाउनुपर्छ । यसैगरी नीति वा विधि बनाउँदा राजनीतिक नेतृत्व ‘कम्युनिस्ट धङधङी’बाट मुक्त हुनुपर्छ । रोजगारी राज्यले सिर्जना गर्ने नभएर रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई प्रेरित, प्रोत्साहित र संरक्षित गर्ने हो भन्ने यथार्थ राजनीति नेताहरूले आत्मसात् गर्नुपर्छ । अहिले व्याप्त ‘पपुलिस्ट’ संस्कृति र कथित ‘समाजवादी विभ्रम’बाट मुक्त नभई स्वदेशी वा विदेशी लगानीकर्ता ढुक्क हुनसक्तैनन् । 

विधिको शासनको सुनिश्चितता नहुँदासम्म देशमा औद्योगिक वातावरण बन्दैन । औद्योगिक वातावरणविना वैदेशिक लगानी आकर्षणदेखि रोजगारी सिर्जनासम्म सबै भाषणमै सीमित हुन्छन् । यसैले व्यवसायीलाई ठुक्कसँग लगानी गर्न प्रेरित गर्नका लागि पहिले देशमा विधिको शासन सुनिश्चित गर्नुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu