site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
इलामको रमणीय करफोकमा गुञ्जिँदै नेपथ्य

काठमाडौं । सात दशक अगाडि देशका विशिष्ट मूर्धन्य साहित्यकारहरूको उपस्थितिमा इतिहास रचेको पूर्वी नेपालको रमणीय मैदानमा आउँदो साता नेपाली लोक–रक भाकाको संगीत गुञ्जिने भएको छ । नेपालको चर्चित साँगीतिक ब्यान्ड नेपथ्यले आउँदो चैत ३ गते इलाम, सूर्योदय नगरपालिका अन्तर्गतको करफोकस्थित सल्लाघारीको पाखामा साँगीतिक प्रस्तुतिदिने भएको छ । लाप्चा भाषामा ढुकुरलाई करफोक भनिन्छ ।

नेपालयद्वारा प्रेषित प्रेस विज्ञप्तिअनुसार जतिखेर नेपालमा काठमाडौं उपत्यकाबाहिर विरलै बृहत् साहित्यिक कार्यक्रम हुन्थ्यो । त्यसबेला अर्थात् २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र शंकर लामिछाने लगायतका साहित्यकारहरू भेला भएर करफोकमा ‘पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ आयोजना भएको इतिहास छ । नेपथ्यले प्रस्तुत गर्न लागेको त्यो पाखो उक्त भेगकै ऐतिहासिक महत्त्व राख्ने करफोक विद्यामन्दिरको परिसर रहेको विज्ञप्तिमा जनाइएको छ । 

आयामेली लेखक इन्द्रबहादुर राई, कला समीक्षक तथा पत्रकार नारायणबहादुर सिंहजस्ता हस्ती व्यक्तित्व प्रधानाध्यापक अनि साहित्यकार तारानाथ शर्मा शिक्षक रहेको यो विद्यालयको शिलान्यास २०१० सालमा तत्कालीन युवराज महेन्द्रले गरेको विज्ञप्तिमा जनाइएको छ । नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, “यसपटक इलामका साथीहरूले जोग मिलाइदिनुभएकोमा असाध्यै खुसी लागेको छ ।”

मेची राजमार्गसँगै जोडिएको यो विद्यालय फिक्कल भएर इलामबजारतर्फ जाँदा बाटैमा अर्थात् सूर्योदय नगरपालिकाअन्तर्गत पर्छ । कुनै समय दुई वर्षसम्म जिल्लाको सदरमुकाम (खलंगा) रहेको यो स्थान वि.स. १८७५ सालमा नामसालिङ हुँदै हालको सदरमुकाम अर्थात इलाम बजारमा सरेको हो ।

नेपथ्यले मुलुकका स–साना गाउँबस्ती हुँदै विश्वका ठूला सहरहरूसम्म आफूलाई प्रस्तुत गर्दै आएको छ । नेपालमा हालसम्म करिब १२० वटा कन्सर्ट आयोजना गरिसकेको ब्यान्डले नेपालबाहिर विश्वका १७ वटा मुलुकको ४१ वटा मुख्य सहरमा ८० भन्दा बढी साँगीतिक प्रस्तुति दिइसकेको छ । 

यो कन्सर्टको आयोजना ‘इलाम गुरुङ समाज’ले गर्न लागेको हो । करफोक कन्सर्टमा टिकटको मूल्य एक हजार एक सय रुपैयाँ राखिएको छ ।

कन्सर्टका हकमा विदेशका ठूला सहरहरूमा आयोजना हुने गुणस्तरलाई नेपालका साना गाउँबस्तीसम्म पनि एकरूपता दिन आफूहरू सदैव क्रियाशील रहेको र करफोकमा पनि दर्शकले यसलाई महसुस गर्नसक्ने जानकारी नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका अर्पण शर्माले बताएका छन् ।

“पूर्वाञ्चलका विभिन्न सहरहरूमा टिकटको खुला बिक्रीवितरण सुरु भइसकेको छ,” शर्माले भनेका छन्, “त्यसबाहेक नेपथ्यकै वेबसाइट www.nepathya.com.np मार्फत् अनलाइनबाटै पनि टिकट किन्न सकिने प्रबन्ध मिलाइएको छ ।”

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गीतारमा सुविन शाक्य, गीतारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro