
काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ३७ जनाको जिवितै उद्धार गरिएको सशस्त्र प्रहरीका सहायक प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । मृत्यु हुनेमा पाँच पुरुष र एक महिला छन् ।
“अझै केही हराइरहेको आशंका छ । खोजी कार्य जारी राखेका छौँ,” जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुन्तुलाल जैसवालले बाह्रखरीसँग भने, “गाडीमा ४५ यात्रुको चलान बनाएको पाइएको छ । त्यसैले केही हराइरहेको हुनसक्ने हाम्रो आशंका छ ।”
धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस त्रिशूली नदीमा खस्दा उक्त हताहत भएको हो ।
थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ । उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ ।