साहित्य
आचार्य प्रभा
भन्ने गर्छन् कोहीकोही–
केवल कल्पनामा
रमेर अस्वाभाविक दुनियाँको
रंगमञ्चमा अक्षरहरू छर्नु
होइन साहित्य सिजना
तर, म भन्छु–
हो पनि ।
यथार्थमा कहाँ सबैले
इन्द्रेणी सपना देख्ने
सौभाग्य पाउँछन् ?
के कल्पना गर्नु
पाप हो र ?
कल्पनामा रमेर पनि
कति दुःखीहरूले आफूलाई
बादलमाथिको क्षितिजमा
उडाइरहेका छन्
र, सिर्जित गरिरहेका छन्
सित्तैमा मिठामिठा
भावनाका ठेलीहरू ।
मूल्य चुकाएर पनि कसले
सहजै पाएका छन्
सिर्जना जन्माउने कौशल ?
त्यसैले
म भन्छु–
कल्पनाको संसार
यथार्थको संसारभन्दा पृथक् छ
जहाँ असीम आनन्दको
अनुभूति पाइन्छ
अनि, जसले साहित्यको गर्भाशयमा
सिर्जनाको शुक्रकीट छरिदिएर
भुर्रा सिर्जनाहरूको
उत्पादन गर्न मद्दत गर्छ ।
(अमेरिका)
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८० ०९:३३
प्रतिक्रिया दिनुहोस्