site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
निज्जर हत्याकाण्ड : तीन भारतीय पक्राउपछि के हुन्छ भारत–क्यानडा सम्बन्ध ?
Sarbottam CementSarbottam Cement

ओटावा । के भारतले नै गरेको हो त क्यानडेली नागरिक हरदीप सिंह निज्जरको हत्या ? अघिल्लो वर्षदेखि भारत र क्यानडाबीच यो विषयलाई लिएर तनावको वातावरण सिर्जना भएको छ । त्यसको वास्तविक जवाफ वा प्रमाण मिलिसकेको छैन । तर, गत सालको उक्त हत्याकाण्डमा संलग्न रहेको भन्दै क्यानडाको प्रहरीले गएको शुक्रबार तीन भारतीयलाई पक्राउ गरेकाले त्यसको जवाफ चाँडै मिल्ने विश्वभरि आकलन भइरहेको छ ।

४५ वर्षीय निज्जरको हत्या गएको वर्ष क्यानडाको भ्यान्कुभरमा गरिएको थियो । नकाब लगाएर आएका बन्दुकधारीले उनको हत्या गरेका थिए । त्यति बेला क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हत्यामा भारत सामेल भएको आरोप लगाएका थिए ।

सिख नेता निज्जरलाई भारतले पञ्जाबका पृथकतावादी नेताका रूपमा व्यवहार गर्दै आएको थियो । क्यानडाका प्रधानमन्त्रीले त्यति बेला आफूसँग हत्यामा भारतको संलग्नताबारे विश्वसनीय प्रमाण रहेको समेत बताएका थिए । तर, भारतले सो विषयको खण्डन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

गिरफ्तार गरिएका व्यक्ति को हुन् ?
शुक्रबार क्यानडा प्रहरीका अधीक्षक (निरीक्षक) मंदीप मूकरले तीन व्यक्तिलाई उक्त मामिलामा गिरफ्तार गरिएको बताएका थिए । उनीहरूमा २२ वर्षीय करण बरार, २२ वर्षकै कमलप्रीत सिंह र २८ वर्षीय करणप्रीत सिंह रहेका जनाइएको छ ।

प्रहरीका अनुसार, उनीहरू तीनैजना अल्बर्टाको एडमान्टनमा रहेका थिए । सोही स्थानबाट प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो । अदालतको रेकर्डका अनुसार, तीनैजनालाई हत्याका साथै हत्याको षड्यन्त्र रचेको आरोप लगाइएको छ ।

Global Ime bank

प्रहरीका अनुसार, तीनैजना क्यानडामा बितेका तीनदेखि पाँच वर्षभित्रमा गएका हुन् । प्रहरीले उनीहरूसँग भारत सरकारको सम्बन्धका बारेमा जाँचबुझ भइरहेको जनाएको छ ।

प्रहरीका असिस्टेन्ट कमिसनर डेबिड टेबोलले भने, “यस मामिलामा अलग–अलग जाँच चलिरहेको छ । यो विषय अहिले पक्राउ परेका व्यक्तिहरूमा मात्र सीमित छैन ।”

उनका अनुसार, जाँचकर्ता भारतीय अधिकारीका साथ मिलेर काम गरिरहेका छन् । एक वर्षयता मिलेर काम गर्न निकै कठिन र चुनौतीपूर्ण समेत भएको उनको भनाइ छ । तर, केही प्रहरीको भनाइमा हत्यामा अरू व्यक्ति पनि सामेल हुन सक्छन् । र, आउने समयमा अरू पनि गिरफ्तार हुन सक्छन् ।

को हुन् निज्जर ?
निज्जर एक सिख पृथकतावादी नेता हुन् । उनी भारतको पञ्जाब प्रान्त अलग देश हुनुपर्छ भन्ने खालिस्तान अभियानमा संलग्न थिए । उनको माग सिखको अलग राष्ट्र हुनुपर्ने भन्ने हो ।

सन् १९७० को दशकमा सिखको एउटा समूहले भारतमा पृथकतावादी विद्रोह सुरु गरेको थियो । त्यसक्रममा हजारौँ मानिस मारिएका थिए । सोही समयदेखि यो आन्दोलन ती देशबाट पनि चलाइएको छ, जहाँ सिखको संख्या धेरै छ ।

भारतले पहिला नै निज्जरलाई आतंककारी घोषणा गरेको थियो । चरमपन्थी पृथकतावादी समूहको नेतृत्व गरेको उनीमाथि आरोप लगाइएको थियो । निज्जर समर्थकका अनुसार, उनको अभियानलाई लिएर उनीमथि धम्की दिने काम भइरहेको थियो ।

गत वर्षको जुन १८ मा भ्यान्कुभरबाट पूर्व ३० किमिको दूरीमा रहेको सहरस्थित गुरुद्वाराबाहिर गोली हानी उनको हत्या गरिएको थियो । निज्जरनिकटस्थका अनुसार, क्यानडाको खुफिया एजेन्सीले उनलाई ‘हिट लिस्ट’मा राखिएको र ज्यानको खतरामा रहेको पहिल्यै जनाएको थियो ।

ब्रिटिस कोलम्बिया गुरुद्वारा काउन्सिलका सदस्य मोनिन्दर सिंह विगत १५ वर्षदेखि निज्जरका साथी थिए । उनले बीबीसीसँगको कुराकानीमा सिख समुदाय जाँचमा देखिएको प्रगतिलाई लिएर आभारी  भएको जनाएका छन् । उनले भने, “यति हुँदाहुँदै पनि सार्वजनिक सुरक्षालाई लिएर चिन्ता र तनाव अनि निराशाको अवस्था छ । साथै, अपेक्षा पनि छ ।”

निज्जर हत्याको तीन महिनापछि त्यहाँको संसद् हाउस अफ कमन्समा बोल्दै क्यानडाका प्राधानमन्त्री ट्रुडोले उक्त घटनामा भारतसँग ‘तार जोडिएको’ जनाएका थिए । तर, भारतीय अधिकारीले त्यसको खण्डन गर्दै क्यानडाले आतंककारी र चरमपन्थीलाई स्थान दिइरहेको आरोप लगाएको थियो ।

पक्राउ परेका व्यक्ति विद्यार्थी भिसामा छिरेका थिए क्यानडा
पक्राउ परेका भारतीय नागरिक भारतबाट तीनदेखि पाँच वर्षका बीचमा त्यहाँ गएका व्यक्ति हुन् । भारतीय अंग्रेजी दैनिक द हिन्दूका अनुसार, उनीहरू ‘नन पर्मानेन्ट रेसिडेन्ट’का रूपमा त्यहाँ बस्दै आएका थिए ।

सोही पत्रिकाले ग्लोबल न्युजलाई उद्धृत गर्दै उनीहरू विद्यार्थी भिसामा त्यहाँ गएका र त्यसपछि भारतीय गुप्तचरसँगको सम्बन्धमा रहेर काम गरेका हुन सक्ने जनाएको छ ।

यसैबीच, भारतीय विदेशमन्त्री एस जयशंकरले क्यानडासँग पक्राउ परेका भारतीयको विस्तृत विवरण दिन आग्रह गरेका बीबीसीले जनाएको छ । उनले ती व्यक्तिहरू कुनै ‘ग्याङ’को सदस्य हुन सक्ने अनुमान गरेको जनाइएको छ । 

भारत–क्यानडाको सम्बन्धमा के–के भयो ?
निज्जर मामिलालाई लिएर क्यानडाका प्रधानमन्त्रीले ठाडो आरोप लगाएका थिए । भारतले पनि त्यसैगरी खण्डन गरेको थियो । दुई देशबीचको तनावकै सिलसिलामा क्यानडाले दिल्लीस्थित आफ्नो दूतावासको ‘साइज’ घटाएको छ । उसले त्यति बेला कूटनीतिक कर्मचारीसहित उनीहरूका परिवारका सदस्य समेत गरेर ४१ जनालाई फिर्ता बोलाएको थियो ।

भारतले  क्यानडेली प्रधानमन्त्रीको आरोपको विरोधमा भारत आउन चाहने क्यानडेलीलाई केही हप्ता ‘भिसा इस्यु’ गर्न समेत रोक लगाएको थियो । पछि उसले उक्त प्रक्रिया फेरि खुला गरेको थियो । विवादको सिलसिला अझै पनि जारी छ ।

गत हप्ता मात्रै क्यानडाका प्रधानमन्त्री सामेल रहेको वैशाखी पर्वसम्बन्धी एक कार्यक्रममा सिखहरूले खालिस्तानका पक्षमा नारा लगाएपछि भारतले आपत्ति जनाएको छ । त्यसको भोलिपल्टै (गएको सोमबार) भारतीय विदेश मन्त्रालयले दिल्लीस्थित क्यानडेली दूतावासका डेपुटी हाइकमिस्नरलाई बोलाएर विरोधपत्र दिएको थियो ।

पछिल्लो पक्राउ प्रकरणपछि उक्त हत्याकाण्डले एउटा दिशा लिने र त्यसबाट नै क्यानडा र भारतको सम्बन्ध अझ बिग्रने वा सप्रने भन्ने विषयको समेत निर्धारण हुने संकेत देखिएको छ । बीबीसी/द हिन्दू/एजेन्सीहरूबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement