site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीको निर्णयप्रति एमाले नजर : कांग्रेससँगको बार्गेनिङ ! 
फाइल तस्बिर

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको माओवादीले राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेसँगै राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।  माओवादीको बुधबारको स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको थियो । यस निर्णयले राजनीतिक वृत्तमा आशंकाको बीउ रोपेको हो ।

सत्तारुढ कांग्रेस माओवादी निर्णयले सशंकित बनेको छ । राष्ट्रियसभामा कोसी प्रदेशमा कांग्रेसले घात गरेको निष्कर्षमा पुगेको माओवादीले गठबन्धन परिवर्तनको प्रयास गरेको आशंका पनि सुरु भएको छ ।

तर, गठबन्धन भत्काउने योजनामा रहेको एमालेका नेताहरु भने माओवादीको निर्णयमा सहकार्यका लागि विस्वस्त हुने आधार देख्दैनन् । कांग्रेससँग ‘बार्गेनिङ’ का लागि यस्तो निर्णय गरेको बुझाइ एमाले वृत्तमा छ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम उमेदवार उठाउने निजी विषय भए पनि ‘गिभ एण्ड टेक’का लागि बहस सुरु गरेको आशंका व्यक्त गर्छन् । 

“उमेदवार उठाउने माओवादीको निजी कुरा हो । लेनलेदन त केही भइरहेको छ कि ? त्यसका लागि बहस चलिरहेको छ कि, कुनै लिन वा दिन यस्तो भइरहेको हो कि ?” गौतम भन्छन्,“यो कांग्रेससँग बार्गेनिङका लागि हो भन्ने हामीलाई लागेको छ ।”

Global Ime bank

कांग्रेसलाई एमालेसँगको सहकार्यको धम्की दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप केही विषयमा आफ्नो संख्या बढाउने प्रयास गरेको हुनसक्ने आंशका एमाले नेतामा देखिन्छ ।

“माओवादीले साँच्चै निर्णय गरेर हामीसँग सहकार्यका लागि दह्रो गरी उभिने खोजेको हो वा हामीलाई देखाएर कांग्रेससँग थप केही लिन खोजेको हो भनी ठ्याक्कै भन्न सक्ने अवस्था रहेन,” एमालेका एक पदाधिकारी भन्छन् । 

गौतम भने माओवादीलाई जतिबेला आवश्यकता पर्छ त्यति बेला नै सहकार्य गर्न नसकिने बताउँछन् ।  “जतिखेर आवश्यकता पर्छ त्यतिखेरसँगै जाने भन्ने होइन नि । सँगै जाने यात्रा त प्रारम्भ गरेका हौं । त्यो यात्रा उहाँहरुलाई आवश्यक लागेन,” गौतम भन्छन् । 

२०७९ पुष १० गते एमालेसहितका दलका समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।  त्यो गठबन्धन लामो समय टिक्न सकेको थिएन । राष्ट्रपति निर्वाचनको विषयले गठबन्धन फेर्ने निर्णयमा प्रचण्ड पुगेका थिए ।

राष्ट्रियसभाको अध्यक्षको विषयले भने गठबन्धनमा असर नपर्ने जिकिर गर्छन्, माओवादीका कोषाध्यक्ष एवम् कार्यालय सचिव श्रीराम ढकाल ।  “गठबन्धन परिवर्तनको कुरा भएको छैन । राष्ट्रियसभाका अध्यक्षका सन्दर्भमा पहिले त गठबन्धनमा नै कुरा हुन्छ, त्यहीबाट निष्कर्षमा जान्छ । हामीले उमेदवार उठाउने विषयले गठबन्धनमा केही असर गर्दैन,” उनको दाबी छ ।  

पार्टीको तर्फबाट उमेदवारी दिने निर्णय गरिएको र गठबन्धनमा छलफलपछि निकास निस्कने उनको विश्वास छ ।  “स्थायी समितिका सबै साथीहरुले राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुँदैन, उमेदवारी दिनुपर्छ भन्ने छलफलको निष्कर्ष हो,” उनी भन्छन्, “अध्यक्षमा कांग्रेसले पनि दाबी गरिरहेको छ । गठबन्धनमा छलफल गरेर एउटा निकासमा पुगिन्छ ।” 

सत्तारुढ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने शीर्ष नेताहरुको सहमतिमा राष्ट्रियसभा सदस्य बनाइएको हो । तर, माओवादीले उमेदवारी दिने निर्णय गरेसँगै कांग्रेसमा आशंका पैदा भएको हो । 

राष्ट्रियसभामा तेस्रो दलको हैसियतमा खुम्चिएको एमालेले राष्ट्रियसभाको निर्वाचनकै बेला भागबण्डा चाहेको थियो । केन्द्रीय कमिटिको सातौ बैठकका कम्रमा केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको उमेदवारको विषयमा सहमति हुन नसकेको बताएका थिए । 

कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड भागबण्डाका लागि तयार भएको तर टिआरसी विधेयकमा सहमति गरेपछि मात्रै दिने शर्त तेर्साएपछि पछि हटेको जानकारी केन्द्रीय समितिमा गराएका थिए । 

राष्ट्रियसभा अध्यक्षका सन्दर्भमा भने एमाले कुनै निचोडमा पुगेको छैन । राष्ट्रियसभामा १० सिट मात्रै रहेको एमालेले उपस्थितिले तात्विक भिन्नता हुने अवस्था पनि छैन ।  सत्तारुढ गठबन्धनका दलहरुको निर्णयप्रति एमाले ‘पर्ख र हेर’को नीतिमा देखिन्छ । 

“राष्ट्रियसभाका अध्यक्षका विषयमा हामीले कान ठाडो पारेका छैनौं । हाम्रो उपस्थितिले फरक हुने देखिँदैन,” गौतम भन्छन् । 

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भने एमाले– माओवादी सहकार्य भए राम्रो हुने बताउँछन् । “एकतर्फी हामीले मात्रै सहयोग गर्ने भन्ने कुरा हुँदैन । सहयकार्य भए राम्रै कुरा हो,” उनले भने । माओवादी र कांग्रेसको तर्फबाट फरक उमेदवार भएमा माओवादीले साथ खोज्न एमालेसँग सहकार्य गर्ने सम्भावना छ । तर, अहिलेकै गठबन्धनमा रहे साथ नदिने पक्षमा एमाले देखिन्छ । 

अध्यक्ष ओलीसँग केही दिन अघि भेट गरेका एमालेका नेता विष्णु रिजाल भने माओवादी–एमाले सहकार्यको सम्भावना देख्दैनन् । अध्यक्षबाट कसैसँग पनि परामर्श नभएको जानकारी आफूले पाएको उनले बताए । 

“मैले केही दिन अघि मात्रै अध्यक्ष कमरेड केपी ओलीसँग कुरा गरेको थिएँ । उहाँले कसैसँग पनि राष्ट्रियसभा अध्यक्ष बनाउनेबारे कुराकानी नभएको बताउनुभएको थियो,” उनी भन्छन्, “माओवादीले कांग्रेससँग बार्गेनिङ गर्न पार्टीबाट निर्णय गरेको छ । र, आफ्नो निर्णयबाट कांग्रेसलाई तर्साउन एमालेको नाम बेचिरहेको छ ।”

केही समययता एमालेका उपाध्यक्ष विष्णु पौडेल र माओवादीका केन्द्रका उपमहासचिव वर्षमान पुनबीच भेटवार्ता जारी रहेको चर्चा छ । तर, रिजाल भने अध्यक्षको जानकारी र स्वीकृति बेगर गठबन्धन बनाउने वा अन्य पार्टीसँग कुरा गर्ने सम्भावना नरहेको भन्दै चर्चाको विश्वसनीयता नरहेको दाबी गर्छन् । 

राष्ट्रियसभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गते गर्ने कार्यतालिका छ । वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सना फागुन २० गतेबाट ६ वर्षे कार्यकाल पूरा गरी बिदाइ हुँदैछन् । उनी निर्वाचित स्थानमा उपनिर्वाचन भइसकेको छ । अध्यक्ष पदका लागि भने अब निर्वाचन हुँदैछ । एमालेबाट निर्वाचित तिमिल्सिना बिदा हुँदैछन् ।

राष्ट्रियसभाको अध्यक्ष संवैधानिक परिषद्को सदस्य रहने भएकाले अध्यक्ष आफ्नो पक्षमा पार्ने दाउपेचमा दलहरु देखिन्छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu