site stats
बाह्रखरी :: Baahrakhari
खेल
कप्तान रोहित भन्छन्– हामीले नामिबियालाई १९० रनमै रोक्न सक्नुपर्थ्यो
फाइल तस्बिर ।

काठमाडौं । नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले नामिबियालाई १९० रनभित्र रोक्न नसक्दा हार बेहोर्नु परेका बताएका छन् । 

त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा आज नेपालले नामिबियासँग २० रनको हार बेहोरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८.५ ओभरमा १८६ रनमै समेटिएको थियो । 

खेलपछि पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले नामिबियाविरुद्ध योजनाअनुसार खेल्न नसकेको बताएका हुन् ।

“पहिलो १० ओभरमा हामीले राम्रो सुरुआत गरेका थियौँ । तर, अर्को १० ओभरमा खेल नामिबियातर्फ ढल्कियो । लोफ्टीले एकदमै राम्रो ब्याटिङ गर्‍यो । नामिबियाले राम्रो खेले पनि हामीले १९० भित्र रोक्न सक्नुपर्थ्यो,” उनले भने, “लोअर अर्डर ब्याटिङले लिनुपर्ने जिम्मेवारी लिन सकेनन् । अवस्था पनि प्रहार गर्नुपर्ने थियो । आज हामीले सोचेजस्तो हुन सकेन । तर, पनि सोमपाल दाइ र दिप्पी दाइले ब्याटिङ गर्दा पुनः खेल हाम्रोतर्फ आइसकेको थियो । ट्रम्पेलमनको ओभरमा नौ रन बनाएको भए अन्तिममा १५ रन बनाउन सकिन्छ भन्ने सोचेका थियौँ । तर, आज सोचेजस्तो भएन ।”

नेपालविरुद्ध नामिबियाका जान निकोल लोफ्टी इटोनले सबैभन्दा छिटो शतकको कीर्तिमान बनाउँदै १०१ रनको इनिङ खेलेका थिए । नेपालकै कुशल मल्लको नाममा रहेको ३४ बलमा शतकको कीर्तिमान तोडेको लोफ्टीले ३३ बलमा शतक बनाएका थिए । खेलपछि नेपाली टिमका कप्तान रोहितले नामिबियाले पाएको जितको श्रेय लोफ्टीलाई दिनुपर्ने बताए ।

“क्रेडिट लोफ्टीलाई पनि दिनुपर्छ । उसले पनि मेहनत गरेको होला । उसले एकदम राम्रो खेल्यो । तर, हामीले डेथ ओभरमा अझै राम्रो बलिङ गर्न सक्थ्यौँ । जति पनि योजना थियो, त्यसअनुसार खेल्न सकेनौँ,” रोहितले थपे ।

ट्वान्टी–२० विश्वकपको तयारीस्वरूप आयोजित शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् ।  नेपालले अब फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्ने छ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्ने छ ।

शृङ्खलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्ने छन् । फाइनल खेल फागुन २२ गते हुने छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्