site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जयजयकार
SkywellSkywell

धेरै सोचविचार गरेपछि धनबहादुरले आफ्नो एउटा मिर्गौला बेच्ने निर्णय गर्यो । ऊसँग अरू कुनै उपाय पनि त बाँकी थिएन । श्रीमतीका ढुंग्री र बुलाकी बिकिसकेका थिए । आफ्नो पसिना बेचेर कमाएको पैसा रित्तिसकेको थियो । रगत बेच्यो भने त्यसबाट आएको पैसा जर्जर मरुभूमिमा एक गाग्रो पानी खन्याएजस्तै हुनेछ भन्ने उसलाई थाहा थियो ।

एउटा बेच्न बाँकी भनेको त्यही मिर्गौला मात्रै थियो । एकातिर छोरीको जीवन र अर्कोतिर आफ्नो मिर्गौलालाई मनको तराजुमा राखेर तौलिँदा छोरीको जीवनको तौल कैयौँ गुणा बढी निस्क्यो । आफ्नो एउटा मिर्गौलाले छोरीको जीवन साट्न सक्छ भने बाबुले त्यति पनि त्याग नगरे केको बाबु ? उसले यस्तै सोचेर मिर्गौला बेच्ने निर्णय गरेको थियो ।

दुई हप्तादेखि उसकी छोरी निर्मला अस्पतालमा जीवन–मरणको दोसाँधमा रहेर संघर्ष गर्दै थिई । मुटुमा समस्या देखिएपछि जाँच गर्दा डाक्टरले तुरुन्तै अपरेसन गर्नुपर्ने बताए । त्यति ठूलो समस्या नभए पनि मुटुको अपरेसन थियो, सानो खर्चले पुग्ने कुरो थिएन ।

KFC Island Ad
NIC Asia

परिवारको सुनौलो भविष्य सुनिश्चित गर्ने सपना बोकेर पहाडबाट काठमाडौं झरेर दैनिक ज्यालादारीमा गुजारा चलाइरहेका धनबहादुरको परिवारका लागि छोरीको मुटुको रोग उनीहरूकै मुटु चिर्न आइपुगेको थियो ।

छोरी बिरामी परेपछि उनीहरूको कमाउने बाटो पनि बन्द भएको थियो । धनबहादुर डकर्मीको काम गर्थ्यो । उसकी श्रीमती गौरी तीन घरमा घरायसी सहयोगीका रूपमा काम गर्थी । दुवैका लागि काम पाउन सजिलै थियो । कमाइ पनि ठिकै थियो । खान–लाउनसँगै छोरीलाई बोर्डिङ स्कुलमा राख्न पनि पुगेको थियो । तर, छोरी अस्पताल भर्ना भएपछि कमाइ ठप्प मात्र भएन, अलिअलि जम्मा गरेको नगद पनि अस्पतालको चर्को खर्चको भुमरीमा पर्दै रित्तियो ।

धनबहादुरले मिर्गौला बेच्ने निर्णय त गर्यो, तर गौरीलाई भनेको थिएन । उसलाई कसरी भन्ने विषयमा उसले कुनै उपाय पत्तो लगाउन सकेको थिएन । त्यति ठूलो निर्णय श्रीमतीलाई नभनी पनि भएन ।

जसरी पनि भन्नैपर्यो भन्ने सोचेर ऊ निर्मला सुतेको ओछ्यानको डिलमा थचक्क बस्यो र गौरीलाई हेर्यो । ऊ टोलाइरहेकी थिई । तर, श्रीमतीलाई निर्णय सुनाउन उसका ओठ उघ्रन सकेनन् ।

उसले छोरीतिर हेर्यो । निर्मलाले श्वास फेर्दा एकनाससँग तलमाथि गरिरहेको उसको छातीको चालमा उसको घाँटीको मन्द घ्यार...घ्यार... आवाज पनि मिसिएको थियो ।

उसका आँखा बन्द थिए । दुई हप्तामै मासुजति हराएर उसको शरीरमा छाला र हाड मात्र बाँकी थिए । छोरीको अवस्था देखेर अनायासै उसका आँखाबाट बरर्र आँसु झरे । गला अवरुद्ध भयो ।

ऊ उठेर झ्यालतिर गयो र सिसाबाट बाहिर हेर्यो । मन सम्हाल्ने कोसिस गर्यो । एकछिनपछि झ्यालबाट नजर हटाएर फेरि गौरीलाई हेर्यो । ऊ अझै पनि टोलाइरहेकी थिई ।

“मैले किड्नी बेच्न लागेँ,” हिम्मत गरेर उसले गौरीलाई भन्यो ।

“के रे !”

“अरू उपाय क्यै छैन, के गर्ने त ?”

“काम गरेर खाने मान्छेले किड्नी बेचेर के गरी खाने हो ?”

“एउटा किड्नी बाँकी नै हुन्छ त, क्यै हुन्न रे !”

“हुन्न । बेच्ने नै भए म बेच्छु बरु । मेरो काम तिम्रोजस्तो गाह्रो छैन ।”

“हुन्न, म बेच्छु ।”

‘तिमी चुप लाग, म बेच्छु’ भनेर गौरी त्यहाँबाट उठेर जान लागी ।

तुरुन्तै गएर मिर्गौला बेचिहाल्छे जसरी ऊ उठेको देखेर धनबहादुर आत्तियो । अनि, गौरीलाई रोक्न उसको हात तान्यो । गौरीले उसलाई धकेलेर लडाइदिई । त्यसपछि ऊ झसंग भयो । उसले त सोचेको मात्रै रहेछ ।

उसले फेरि गौरीलाई हेर्यो । ऊ अघिजस्तै त्यसरी नै टोलाइरहेकी थिई । गौरीलाई मिर्गौला बेच्ने कुरा भन्यो भने उसले बेच्न दिने छैन भन्ने उसलाई लाग्यो । बेचिसकेर भनेपछि त केही उपाय हुने थिएन । खाए गाली खाने मात्रै त हो । त्यसै गर्नुमा उसले बुद्धिमानी देख्यो ।

आफ्नो निर्णय र योजनामा दृढ बनेपछि उसले लामो सास फेर्यो । टेबलमा दुईवटा स्याउ राखेको प्लास्टिकको रातो झोला, एउटा स्टिलको कचौरा अनि आधा बोतल पानी थियो । टेबलबाट पानीको बोतल उठाएर उसले अलिकति पियो ।

निर्मलाको अपरेसन गर्ने डाक्टर आइपुगे ।

“कस्तो छ अहिले ?”

धनबहादुर झस्कियो । उसले नजर उठाएर पुलुक्क डाक्टरलाई हेर्यो । केही बोलेन । उनी तिनै डाक्टर थिए, जसले उसकी छोरीलाई त्यो हालतमा पुर्याएका थिए । उनलाई देख्दा त कुरै भएन, सम्झँदा पनि क्रोधले धनबहादुरको अधर काम्थ्यो ।

यतिखेर ऊ आफ्नो असन्तुष्टि र क्रोधलाई छिपाउन बाध्य थियो । ऊ निरीह थियो, विवश थियो । त्यसैले त ऊ मौन थियो ।

अरूका लागि डाक्टर भगवान् हुँदा हुन् । तर, धनबहादुरको परिवारका लागि दानव बनेर आएका थिए । उसले ती डाक्टरमाथि निकै विश्वास गरेको थियो । तर, उसको विश्वासको डोरी डाक्टरले आफैँ तोडे ।

उनका लागि त एउटा अपरेसन असफल भएको थियो, तर धनबहादुरको परिवारका लागि एउटा जीवन नै असफल बन्दै थियो । डाक्टरका लागि त्यो अपरेसन खालि एउटा अंक थियो । तर, एउटा कोपिला नफक्रँदै त्यही अंकको गणनामा सदाका लागि ओइलाएर झर्ने अवस्थामा पुग्न थालेको थियो ।

“उस्तै छ,” गौरीले भनी ।

“अपरेसनको पैसा जम्मा गर्नुभो त ? बिरामी झन् सिरियस हुँदै गैरहेको छ । जति सक्यो छिटो गर्नुस्,” डाक्टरले भने ।

पहिलो अपरेसन सफल नभएपछि डाक्टर पनि लज्जित बनेका थिए । त्यसैले दोस्रो अपरेसन अलि छिटो गरेर केस टुंग्याउन पाए हुन्थ्यो भन्ने हतारो थियो ।

“पैसा खोज्दै छम् डाक्टर सा’ब । भन्याबित्तिकै काँ पाइन्छ र ? रिन दिनेले पत्याउन्नन् । दुईदुईपटक अपरेसन गर्नपर्ला भन्ने पनि था’भैन,” सोझै भन्न नसके पनि डाक्टरप्रति आफ्नो असन्तुष्टि पोख्दै धनबहादुरका कामेका अधर खुले ।

नेपालकै सबभन्दा नाम चलेको अस्पतालको सबभन्दा ठूलो डाक्टरलाई खोजेर अपरेसन गर्दा त्यस्तो नतिजा आउला भन्ने न त धनबहादुरले कल्पना गरेको थियो न त डाक्टर स्वयंले । डाक्टरले पनि त्यति जटिल अपरेसन हैन, सफल हुन्छ भनेर विश्वास दिलाएका थिए । तर, दुवैको विश्वासले धोका खायो ।

ऊ फेरि चुप भयो । डाक्टरसँग सवालजवाफ गर्नुभन्दा सहेर बस्नु नै उचित ठान्यो । आफ्नो आशाकी कोपिलाको जीवन उनकै हातमा थियो ।

‘ल, जतिसक्यो छिटो पैसाको व्यवस्था गर्नुहोला । पैसाको व्यवस्था हुनासाथ हामी अपरेसन गर्छौँ, पालो कुर्नु पर्दैन’ भनेर उनी फर्किए । 

“काँबाट ल्याउनी हो ?,” गौरी एक्लै गनगुनाई ।

कहाँबाट ल्याउने धनबहादुरलाई थाहा थियो, तर उसले केही उत्तर दिएन ।

टिनिनी...टिनिनी... धनबहादुरको फोनको घण्टी बज्यो ।

प्यान्टको खल्तीबाट फोन निकाल्यो र हेर्यो । नचिनेको नयाँ नम्बर थियो ।

“हेलो,” फोन कानमा लगाएर ऊ बोल्यो ।

“हेलो, धनबहादुरजी हो ?”

“अँ ।”

“अघि किड्नीको कुरा गर्न आउनुभा’थ्यो नि, म त्यहीँबाट बोल्या ।”

उसले अस्पतालनजिकैको ल्याबमा गएर मिर्गौला बेच्ने कुरा गरेको थियो । मिर्गौलाको कुरा सुनेपछि ऊ अलि सम्हालियो । पुलुक्क गौरीलाई हेर्यो र ‘अँ अँ’ भन्यो ।

“ल, किन्ने मान्छे भेटियो । आज साँझ काम हुन्छ । पैसा लिन आउनुस् ।”

‘हुन्छ’ भनेर उसले फोन राख्यो र फेरि एकपटक पुलुक्क गौरीलाई हेर्यो । गौरीका आँखा छोरीमा गएर अडिएका थिए । उसले लोग्नेको फोनमा खासै ध्यान दिएकी थिइन ।

‘म एकछिन बाहिर जान्छु, पैसा खोज्न’ भनेर ऊ त्यहाँबाट उठ्यो ।

गौरीले मलिन नजरले हेरी । केही बोल्न सकिन । भनोस् पनि के ! 

पहिले बेच्ने भनेर निर्णय गरिसकेको भए पनि पैसा लिन भर्याङबाट ओर्लिँदा उसले अंग बेच्ने कि नबेच्ने भनेर सोच्न सकिरहेको थिएन ।

बेच्ने कि नबेच्ने ! मनमा उर्लेका अनेक तर्क र द्विविधासँग लड्दै आफू ल्याबमा पुगेको समेत पत्तो पाएन ।

‘आउनुभयो ? मैले कुरा गरेको छु । आज साँझ सात बजे यहाँ आउनुहोला’ भन्दै एक लाख रुपैयाँको बिटो ल्याबको मान्छेले दियो ।

नोटको बिटो हातमा परेपछि उसको मनमा खेलिरहेका द्विविधा आफैँ हरायो । एक लाख बैना बुझेर ऊ खुसी हुँदै जीवन–मरणको दोबाटोमा अनिर्णीत छोरीको जीवन फर्किन्छ कि भन्ने आस बोकेर अस्पताल फर्कियो ।

‘ल, एक लाख ल्या’छु’ भनेर उसले रुपैयाँको बिटो गौरीलाई राख्न दियो ।

“कसले दियो ?”

‘जसले दे’पनि केको निधीखुदी हो ? तैँले चिन्दैनस्’ भनेर उसले टार्यो ।

“अनि, यत्तिले पुग्छ त ?”

“एकजनाले साँझ बोला’छ, दिन्छ कि दिन्न !”

“को हो ?”

“तैँले चिन्दैनस् भनेँ त !”

गौरी चुप लागी र लोग्नेले जसरी पनि मिलाउला भन्ने सोचेर आशा–भरोसा उसमै लगेर बिसाई ।

त्यस दिन साँझ त्यहाँबाट निस्कनुभन्दा पहिले मिर्गौला बेच्ने निर्णय गौरीलाई सुनाउन धनबहादुर अन्तिम प्रयास गरिरहेको थियो । तर, कुनै उपाय सुझिरहेको थिएन ।

त्यो निर्णय उसको गलामा आएर बसेको थियो । तर, दिमागले त्यहीँ रोकेर राखेको थियो । मनले ओकल्न खोज्थ्यो, दिमागले रोक्थ्यो ।

अन्त्यमा दिमागकै जित भयो । ऊ गौरीलाई नभनी मिर्गौला बेच्न हिँड्यो ।

अर्को दिन बिहान अरुणोदयसँगै धनबहादुर साँझ भर्ना भएको क्लिनिकको ओछ्यानमा ब्युँझियो । अरुणोदयसँगै छोरीको जीवनको आशा पनि उदायो ।

“ल, सबै भनेजस्तै भयो । अब फर्किन सक्नुहुन्छ,” मास्क लगाएका एकजना सेतो कोटधारी मान्छेले उसलाई पैसाको बिटो थमाउँदै भने ।

नाममा धन भए पनि धनबहादुरले जीवनमा पहिलोपटक यति धेरै पैसा स्पर्श गर्दै थियो । उसका हात काँपे ।

‘चार लाख छ, गन्ने भए गन्नुस् । तपाईंको छोरीको अपरेसन सफल होओस्’ भनेर उनी फर्किन आँटे ।

तर, ‘मैले के–के गर्नुपर्छ डाक्टर साब ?’ भन्ने धनबहादुरको प्रश्नले उनी रोकिए ।

“खासै केही गर्नु पर्दैन । दुईतीन दिन आराम गर्नुहोला । दुई हप्ताजति थाक्ने र धेरै परिश्रम गर्ने काम नगर्नु होला । त्यसपछि सबै सामान्य हुन्छ । घाउ अलि बढी दुख्यो भने या रगत आयो भने डाक्टरलाई देखाउनुहोला ।”

“पछि क्यै असर त गर्दैन नि ?”

“त्यस्तो क्यै असर हुँदैन । दुईवटा भएको जस्तो त किन हुन्थ्यो र ! अलिअलि असर त हुन्छ नै, तर सामान्य अवस्थामा कुनै ठूलो असर पर्दैन । सामान्य मानिसको जस्तै जीवन जिउन सक्नुहुन्छ ।”

हुन त उसले त्यही सुनेको थियो, तर डाक्टरकै मुखबाट सुनेपछि ऊ झन् ढुक्क भयो ।

उनीहरू आफैँले गाडी बोलाएर उसलाई अस्पतालबाट फिर्ता पठाए ।

अपरेसन गर्दा बेहोस बनाउने सुईको असर गइसकेको थियो । देब्रे कोखामा अलिअलि पीडा सुरु भइसकेको थियो । तर, कोखाको घाउभन्दा छोरीको चिन्ताले मनको घाउ चहर्याइरहेको थियो ।

अस्पतालको गेटमा गाडी रोकियो । एउटा हातले पैसाको थैलो र अर्को हातले मिर्गौला निकालेको कोखा समातेर ऊ गाडीबाट ओर्लेर विस्तारै छोरीलाई राखेको बेडतिर लाग्यो ।

अस्पतालको मूलढोकामा अरू दिनभन्दा धेरै नै चहलपहल थियो । तीनचारवटा चिल्ला गाडीहरू रोकिएका थिए । एकजना मान्छे गाडीबाट ओर्लिए । उभिएकाहरूले उनलाई नमस्ते गर्न, हात मिलाउन र नजरमा पर्न तँछाडमछाड गर्दै थिए ।

पत्रकारहरू क्यामेरा लिएर ठूलै समाचार हात लागेझैँ यताउता गर्दै थिए, मानौँ सारा समाचार त्यहीँ थुप्रिएको छ । गाडीबाट ओर्लिएका मान्छेको स्वागतमा त्यहाँ जम्मा भएको भीडले जयजयकार सुरु गर्यो ।

अस्पताल आउँदा पनि केको हर्षोल्लास हो यो ! उसले बुझ्न सकेन । उसलाई त्यो सबै बुझ्ने समय र उत्साह पनि थिएन ।

उपस्थित सबैका चेहरामा कान्ति छाएको थियो । कुनै ठूलै चाडझैँ त्यो कोलाहलमा सबैमा खुसी र उल्लास देखिन्थ्यो । तर, पीडैपीडाबाट थिचिएको धनबहादुरले खुसी र उल्लास के हो भन्ने समेत बिर्सिसकेको थियो । त्यो चहलपहलले उसको मनभित्र छाएको आँधीबेरीपछिको सन्नाटालाई छुन सकेन ।

त्यो कोलाहलमा पनि उसले सन्नाटाबाहेक केही देखेन । खुरुखुरु भित्र गयो ।

“पाइयो त पैसा ?”

‘अँ’ भन्दै धनबहादुरले चार लाखको पोको गौरीलाई दियो ।

“कसले द्यो ?”

“एउटो किड्नी बेचेँ ।”

“किन ?,” विस्मयमिश्रित लबजमा गौरीको मुखबाट प्रश्न निस्क्यो । तर, त्यो प्रश्न थिएन । स्वाभाविक प्रतिक्रिया मात्र थियो । उत्तर गौरीलाई पनि थाहा थियो, सोध्नु आवश्यक थिएन ।

धनबहादुरले पनि उत्तर दिने आवश्यकता ठानेन । चुप लाग्यो । उसको मौनताले नै सबै बताइरहेको थियो ।

“अनि, ऋण माग्न गा’भन्या हैन ?”

“मागेर त्यति धेरै पैसा कसले दिन्थ्यो र ?”

गौरीले पछ्यौरीको छेउले आँखा पुछी । अनायासै उसका आँखा रसाएका थिए । अपरेसनका लागि पैसा पाएको खुसीले रसाएका थिए कि लोग्ने मिर्गौला बेच्न बाध्य भएको दुःखले रसाएका थिए, थाहा थिएन ।

“मर्दैन के ! एउटा किड्नी राखेर बाँचिरा’ मान्छे कति छन् कति !,” श्रीमतीले आँसु पुछेको देखेर धनबहादुरले भन्यो ।

“था’छ !,” गौरीको मुहार अलिकति चम्कियो ।

अर्को दिन निर्मलाको अपरेसन हुने भयो । अपरेसन तयारीका लागि गर्नुपर्ने सबै काम गौरीले गरी । तर, एक्लै कति भ्याउँथी र ? रगत चाहियो, औषधि चाहियो, फाराम भर्नुपर्यो ।

डाक्टरले आराम गर्ने भने पनि आराम गर्ने छुट धनबहादुरलाई कहाँ थियो र ? ऊ पनि दिनभरि कहिले यता कहिले उता गरिरह्यो । घाउ बढी दुखेमा खाने भनेर डाक्टरले दर्द कम हुने औषधि दिएर पठाएका थिए । घाउ दुख्न बढी भएपछि एक गोली औषधि खायो ।

थाकेको शरीर, हताश मन, तलमाथि गर्दा ऊ साँझतिर भर्याङमा चिप्लेर लड्यो । बल्लतल्ल उठ्यो । घाउ झन् चर्कियो । थाहा पाए गौरीले गाली गर्ली भनेर उसलाई केही भनेन । अर्को एक गोली औषधि खायो ।

कोखामा रगतको धब्बा लुगाबाहिरै देखियो । रगत रोक्न पट्टी बाँधेको घाउ कस्ने गरी गम्छा निकालेर कम्मरमा कस्यो ।

अर्को दिन छोरीको अपरेसन थियो । त्यो रात दुवैलाई पटक्कै निद्रा लागेन । लागोस् पनि कसरी ? मनभित्र छोरीको बिरामीको घाउ थियो । धनबहादुरलाई त झन् कोखाको घाउको पीडा पनि थपिएको थियो ।

बिहान हुँदा दुवैका आँखा काँचै थिए । धनबहादुरको घाउ झन् बढी दुख्न थालेको थियो । उसले झन् जोडले पटुका कस्यो, अनि फेरि अर्को गोली औषधि खायो ।

छिटो गर्ने भन्दाभन्दै डाक्टरहरूलाई पनि फुर्सद भएन । दिउँसो चार बजे मात्र निर्मलालाई अपरेसन कक्षमा लगियो । पहिले गल्ती भइसकेकोले डाक्टर पनि जति नै ढिलो भए पनि निर्मलाको अपरेसन फत्ते गर्न चाहन्थे ।

छोरीले नयाँ जीवन पाउने आसमा गौरी र धनबहादुर अपरेसन कक्षअगाडि राखेको प्लास्टिकको बेन्चमा बसिरहेका थिए । न भोक न प्यास, न आराम उनीहरूले घण्टौँ पर्खे ।

अपरेसन कक्षबाट कुनै डाक्टर या नर्स बाहिर निस्कँदा वा ढोका खुल्दा छोरी आई कि भनेर दुवै उठेर झटपट अगाडि पुग्थे र सोध्थे । उनीहरूले अपरेसन हुँदै छ भन्ने सूचनाबाहेक अरू नयाँ भनिरहेका थिएनन् ।

त्यस दिन उनीहरूको घडी निकै सुस्त गतिमा चलेको थियो । एकएक घण्टा एकएक कल्पजसरी बितिरहेका थिए । तर, निरीह ती दुई प्राणीसँग ईश्वर पुकारेर पर्खनुबाहेक केही उपाय थिएन ।

गौरी कहिले उठ्थी कहिले बस्थी । कहिले आफैँ बर्बराउँथी । धनबहादुर भने कुर्सीमा बस्न अप्ठ्यारो मानेर एउटा कुनामा भित्तामा अडेस लगाएर बस्यो । अलि थकाइ लागेपछि हर फर्कन्थ्यो । तर, उसलाई त्यो ठाउँबाट उठ्ने जाँगर चलेन । थकान, भोक र दर्दले ऊ झन् कमजोर भइसकेको थियो ।

राति नौ बजेतिर घाउ चर्कन थालेपछि गौरीसँग पानी मागेर फेरि अर्को गोली औषधि खायो । समय बित्दै थियो, गौरीको छटपटी बढिरहेको थियो । धनबहादुर भने औषधि खाएर एकछिन झकायो ।

नयाँ जीवन पाउने आसमा अपरेसन कक्षमा पसेकी सजीव निर्मला दश घण्टा लामो अपरेसनपछि मध्यरातमा निर्जीव बनेर स्ट्रेचरमा फर्की । निर्मलालाई बचाउन सकेजतिको कोसिस गर्दा पनि मृत्युको अगाडि डाक्टरहरूको केही लागेन ।

अपरेसन कक्षमा पस्दा खुलै रहेका उसका आँखा फेरि कहिले नखुल्ने गरी बन्द भए । डाक्टर मलिन मुहार लिएर बाहिरिए । सेतो कपडाले छोपेको छोरीको निर्जीव शरीर बाहिरिएको देखेपछि भोकप्यास केही पर्वाह नगरी दिनभरि अपरेसन कक्षअगाडि पर्खेर बसेका धनबहादुर र गौरीको संसारमा बज्रपात भयो ।

डाक्टरमाथि अन्तिम आशा राखेर ‘डाक्टर सा’ब’ भन्दै हात जोडेर डाँको छोड्दै हतप्रभ गौरी डाक्टरको पछिपछि दौडिई । नर्सहरूले उसलाई सम्हाले । त्यो रात उनीहरूको जीवनमा कालरात्रि नै बनेर आयो ।

छोरीको लासमा घोप्टो परेर रुँदै गौरीले गरेको विलाप अस्पतालका भित्तामा ठोकिएर त्यहीँ हरायो । उसको रोदन अरू कसैले नसुने पनि धनबहादुरले सुन्यो । भित्ताको अडेस लागेर झकाएको धनबहादुरका आँखा खुले । गौरीको रोदन र विलापले छोरी अब कहिले नफर्कने लोकमा गइसकी भन्ने अनुमान लगाउन उसलाई कठिन भएन ।

उसको हंसले ठाउँ छोड्यो । उसलाई पनि डाँको छोडेर रुन मन लाग्यो । तर अचम्म, ऊ रुन सकेन । उसको कण्ठबाट आवाज निस्केन । उसको गलाबाट सासको सानो त्यान्द्रो फुस्स मात्र गर्यो ।

धनबहादुर अत्तालियो र उठ्न खोज्यो, तर सकेन । उसका हातखुट्टा लुलाजस्ता भएका थिए । शरीर आफ्नो हो कि अरूको हो जस्तो अनुभव भइरहेको थियो । उसले शरीरमा शक्ति बाँकी नभएको महसुस गर्यो । तैपनि, काँपिरहेका युगल हरले शरीरका दुवैतिरबाट भुइँमा ठेलेर जबर्जस्ती उठ्न खोज्यो ।

हातको कम्पन खुट्टामा पनि सर्यो । उसले हिम्मत हारेन र उठ्यो । भयानक हुरीले भर्खर सरेको रुखको बिरुवा हल्लाएजस्तै उसको पूरै शरीर हल्लियो । खुट्टा बांगिए ।

अनि, उठेर राम्रोसँग उभिन नपाउँदै अगाडिको दृश्य एकाएक मधुरो भयो । उसका कान डम्म भए । दिमाग शून्य भयो । र, एकैछिनमा उसका लागि संसार नै अँध्यारो भयो । ऊ गर्लम्म भुइँमा लड्यो ।

कोही लडेको आवाज सुनेपछि सबैका नजर त्यतातिर पुगे । गौरीका पनि । उनीहरू दौडेर धनबहादुर लडेको ठाउँमा पुगे । ऊ चुपचाप भुइँमा लडिरहेको थियो ।

‘के भो ?’ भन्दै रुन्चे स्वरमा गौरीले धनबहादुरलाई घच्घचाई । तर, ऊ बोलेन । उसको लथ्रक्क परेको शरीर उत्तानो पर्यो । नजर बन्द थियो । गौरीले फेरि हल्लाई । फेरि पनि ऊ बोलेन ।

गौरीले रुँदै सहायताका लागि गुहार मागी । धनबहादुर अडेस लागेको भित्तामा आलो रगतको धब्बा थियो । नर्सले आएर उसलाई जाँची । अलिअलि सास बाँकी थियो । उसको सर्ट पल्टाएर हेरी । देब्रे कोखानेर रगतले पटुका भिजेको थियो । देखेर गौरी मुर्छा परी ।

त्यहाँकी नर्सले धनबहादुरको नाडी छामिन् । नाडी निकै कमजोर भइसकेको थियो । नर्स पनि आत्तिइन् । तर, उनीसँग धनबहादुरलाई मृत्युको मुखबाट खोसेर ल्याउने कुनै जादु थिएन ।

नाडीको चालसँगै मुटुको चाल पनि विस्तारै धिमा भयो र उसले त्यही भुइँमा अन्तिम सास फेर्यो ।

निर्मलाको लास पछिपछि अर्को स्ट्रेचर लिएर उनीहरूले धनबहादुरको शवलाई लिएर गए । बेहोस गौरीलाई पनि स्ट्रेचरमा राखेर आकस्मिक कक्षमा पुर्याइयो ।

अर्को दिन फेरि अरुणोदय भयो । दुई दिनअगाडि आशाको किरण बोकेर आएका दिनकर त्यस दिन निराशा बोकेर आएका थिए । झ्यालको पर्दाको चरबाट पसेको एक मधुरो किरणले गौरीलाई बेहोसीबाट बाहिर ल्यायो । तर, ऊ पूरै होसमा आइसकेकी थिइन ।

होस र बेहोसीबीचमा उसले कतैबाट आइरहेको कोलाहल सुनी । रेडियो हो या टेलिभिजन या अरू यस्तै केही, उसले यकिन गर्न सकिन । उसले आवाज आएतिर हेरी ।

त्यहाँ मानिसको भीड थियो । उत्साह र प्रफुल्लता थियो । सबैले सफलताको उत्सव मनाइरहेका थिए । चिल्ला गाडीका लहर कसैलाई पर्खेर बसिरहेका थिए । पत्रकारहरू क्यामेरा तेर्स्याएर प्रतीक्षारत थिए । बुद्धिजीवीहरू फूलमाला र पुष्पगुच्छासहित स्वागतमा लामबद्ध थिए ।

सबैले प्रतीक्षा गरिरहेका उनी हँसिलो मुहारमा भीडको बीच झुल्किए । उनी अस्पतालबाट स्वास्थ्यलाभ गरेर फर्किंदै थिए । उनको मिर्गौलाको सफल प्रत्यारोपण भएको थियो । त्यो पनि देशभित्रकै सरकारी अस्पतालमा ।

डाक्टर, कर्मचारी, नेता, कार्यकर्ता, पत्रकार सबै खुसी थिए । उनी गाडीभित्र पसे । त्यहाँ जम्मा भएको भीडले उनको जयजयकारमा नारा लगायो । उनको दीर्घायुको कामना गर्यो ।

त्यो कोलाहलले गौरीको पूरै होस आयो । उसले छोरीलाई सम्झी, लोग्नेलाई सम्झी, आफ्नो हालत हेरी । उसको मन स्तब्ध भयो । दिमाग शून्य ! प्रभातीय सुन्दर मौसममा पनि उसको मनमा कालो मेघ मडारियो । यतिखेर उसले आफूलाई चारैतिरबाट असहाय देखी । जिन्दगीमा निराशा र पीडाबाहेक केही नजर आएन ।

एकाएक उसलाई कहिल्यै नभएको अचम्मको छटपटी हुन थाल्यो । गलामा केही वस्तु अड्किएर सास रोकिएजस्तो भयो । खलखली पसिना आयो । अनि, छातीभित्र भयानक विस्फोट भयो । उसका नजर धूमिल भए । उसले देखिरहेको दृश्य पनि ओझेल पर्न थाल्यो ।

जयजयकारको तुमुल ध्वनि विस्तारै कम भयो । एकछिनपछि सबै शान्त थियो ।

(वीरगन्ज, पर्सा) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro