site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कसले ढाल्दैछ सरकार ? प्रधानमन्त्री नै किन दिँदैछन् स्पष्टीकरण ?

काठमाडौं । दुई ठूला दलको दुई तिहाइ बहुमतनजिकको मतसहित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको ९४ दिन पुगेको छ । 

यो सरकारले ‘मधुमास’ पूरा गर्न पनि अझै एक साता बाँकी छ । तर, बुधबार सरकार खरानीको ढल्लो नभएको र नढल्ने ओलीको अभिव्यक्तिसँगै जोखिममा परेको त होइन भन्ने शंका पैदा भएको छ ।

हुन त सरकार गठन भएदेखि नै सरकारको आयुका बारेमा अडकल नकाटिएको होइन तर प्रधानमन्त्रीले नै स्पष्टीकरण दिने अवस्था कसरी आइपुग्यो ? यो प्रश्न अहिले राजनीतिक वृत्तमा चासोको रूपमा प्रकट भइरहेको छ ।

Dabur Nepal
NIC Asia

नेपाल प्रहरी दिवसमा बोल्दै गर्दा बुधबार ओलीले भने, “दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा पनि सुनिन्छ । दसैँपछि तुरुन्तै परिवर्तन हुन्छ रे ? कुन दसैँ भनेको ? ०८४ सालको दसैँपछिको चुुनावमा ठीकै हो । त्यसभन्दा यता मैले चलाउने एक वर्ष ९ महिना जति बाँकी रह्यो होला । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु ।”

प्रधानमन्त्रीले ढुक्क पार्ने प्रयास गरिरहँदा झन् शंका पैदा भएको हो । 

ओलीले भनेका थिए, “सबभन्दा ठूला, इतिहास बोकेका कांग्रेस र एमालेले सरकार बनाएका छन् । सरकार लगभग दुइतिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस्, यो खरानीको डल्लो होइन ।”

पहिलो पार्टी कांग्रेसको समर्थनमा दोस्रो पार्टी एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भएका हुन् ।  कांग्रेस र एमालेको संस्थापन समूहको ‘कोर–टिम’ले तयार पारेको सातबुँदे सहमतिमा यो सरकार बनेको थियो ।

हालसम्म पनि दुई नेताको हस्ताक्षर भएको पत्र सार्वजनिक भइसकेको छैन ।  तर, ओलीले सार्वजनिक गरेको ‘सहमति’को चौथो बुँदामा दुई नेताले प्रधानमन्त्री चलाउने कार्यवधि स्पष्ट तोकिएको छ । 

“राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि ०८४ मंसिरमा हुने निर्वाचनसम्म कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने,” सहमतिको बुँदा नम्बर–४ मा भनिएको छ ।
 
कांग्रेसको संसदीय दलमा देउवा ७५ प्रतिशत मतसहित नेता भएका हुन् ।  एमालेको संसदीय दलमा ओली सर्वसम्मत् नेता चयन भएका हुन् । दुवै पार्टीको केन्द्रीय समिति बैठकमा पनि यी नेताकोे प्रचण्ड बहुमत छ ।

महाधिवेशन प्रतिनिधिहरूबाट ५९ प्रतिशत मत पाएका सभापति देउवासँग केन्द्रीय समितिमा हाल झन्डै ८५ प्रतिशत ‘गुटगत’ मत छ । 

उनलाई केन्द्रीय समितिमा अल्पमतमा पारेर शेखर कोइराला समूहले कुनै निर्णय गर्नसक्ने अवस्था विद्यमान देखिँदैन । झन् एमालेको केन्द्रीय समितिमा त ओलीको प्रस्तावमा फरक मत राखेका उदाहरणसमेत अपवाद मात्र भेटिन्छन् । 

पार्टीभित्र छलफल समेत नगरी भएको सहमतिको दस्तावेज नै नदेखाइ आ–आफ्ना पार्टीमा अनुमोदन गराउने ‘ल्याकत’ भएका यी नेताबीच भएको सहमति उल्ट्याउने तागत दुवै पार्टीका अरु नेताहरूमा देखिँदैन । 

त्यसैले देउवा–ओलीबीच भएका सहमति तोड्न उनै दुई नेताबीच अविश्वास हुँदाका अवस्थामा बाहेक अर्को सम्भावना छैन । यस्तो ‘मजबुत सरकार’का प्रधानमन्त्रीको स्पष्टीकरण पछि भने प्रश्न उठेको छ, ‘के सरकारमाथि संकट आइसकेको हो ?’ 

राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बराल ओलीको बोलीको ठेगान नभएको बताउँछन् । 

सरकारमाथि अंक–गणितको संकट नभए पनि नागरिक असन्तुष्टि रहेको उल्लेख गर्दै त्यहीकारण प्रधानमन्त्रीले सामाजिक सन्जालका हल्लामाथि टिप्पणी गरेको उनको भनाइ छ । 

“यो सरकार गठन भएको तीन महिना भयो । तीन महिनामा ओलीले केही प्रोजेक्सन दिन सकेका छैनन् । एउटा टीआरसी (सत्य निरुपण र वेपत्ताको खोजबिन सम्बन्धी विधेयक) पास गर्नेबाहेक अर्को काम गर्नसकेको देखिएन,” बरालले बाह्रखरीसँग भने, “व्यापकरुपमा असन्तुष्टि छ, हल्लाखल्ला व्यापक छ । भारतले पनि वास्ता गरेको छैन र नेपालभित्र पनि असन्तुष्टि छ भन्ने टिप्पणीलाई जवाफ दिएका हुन सक्छन् ।”

उनी सरकारमाथि कांग्रेसले नचाहँदा मात्रै संकट आउने उल्लेख गर्दै भन्छन्, ‘‘शेरबहादुरजी मख्ख परेर प्रधानमन्त्री पद पर्खेर बसिराखेका छन् । सरकार परिवर्तन भइहाल्यो भने ओलीको ठाउँमा देउवा आउने हुन् । यदि त्यो हो भने ‘जुन जोगी आए पनि कानै चिरेको’ के फरक पर्छ र !” 

राजनीतिक विश्लेषक डाक्टर विष्णु दाहाल प्रधानमन्त्रीको अभिव्यक्तिका दुईवटा मुल अन्तर्य रहेको बताउँछन् । 

पहिलो सरकारविरुद्ध नागरिक मत सकारात्मक देखिएन भने दोस्रो प्रधानमन्त्रीका लागि अन्तर्राष्ट्रिय परिस्थिति सकारात्मक नदेखिँदा ओली आत्तिन पुगेको उनको बुझाई छ ।

“यो सरकार खरानीको डल्लो होइन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिका दुईवटा अन्तर्य देख्छु,” विश्लेषक दाहालले भने, “पहिलो दुईतिहाइको सरकारविरुद्ध सार्वजनिक असन्तुष्टि धेरै देखियो । महानगरकै नेतृत्वले समेत प्रधानमन्त्रीलाई चुनौती गरिदिँदा आत्तिएको देखियो । दोस्रो प्रधानमन्त्रीका लागि अन्तर्राष्ट्रिय परिस्थिति पनि अनुकूल देखिएन ।” 

के भन्छन् कांग्रेस–एमाले ?

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत सरकारलाई कतैबाट पनि संकट नरहेको र प्रधानमन्त्रीको अभिव्यक्ति गठबन्धनको अविश्वाससँग सम्बन्धित नरहेको बताउँछन् ।  “मैले कांग्रेस र एमालेबीचमा त्यस्तो कुनै अविश्वास भएको पाएको छैन,” उनले बाह्रखरीसँग भने, “उहाँले बाहिर आएका हल्लालाई जवाफ दिनुभएको होला !”

एमाले प्रचार–विभाग प्रमुख राजेन्द्र गौतमको बुझाई पनि कांग्रेस प्रवक्ता महतसँगै मिल्दोजुल्दो छ ।  उनी प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दलका नेताको अभिव्यक्तिमा आएको जवाफका रुपमा अर्थ्याउँछन् । 
“प्रतिपक्षी दलका नेताले यो सरकार धेरै दिन टिक्दैन भन्ने अभिव्यक्तिलाई ‘टिट फर ट्याट’ होे,” गौतमले बाह्रखरीसँग भने, “यो सरकार ढलिहाल्छ भन्ने हल्ला चलाउनेहरूलाई पनि त जवाफ त दिनुपर्‍यो नि !”

के भनेका थिए प्रधानमन्त्रीले प्रहरी दिवस समारोहमा ?

धेरै कुरामा ‘कम्प्रोमाइज’ हुन सक्छ, तर प्रणालीको कुरामा ‘कम्प्रोमाइज्ड’ हुँदैन । लोकतन्त्रको कुरामा ‘कम्प्रोमाइज’ हुँदैन । लोकतान्त्रिक प्रणलीभित्रबाट जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ । चुनाव गरौं, चुनावमा जाउँ, एउटा सरकार मन परेन भने जनताले अर्को सरकार गठन गर्छन्, चुनावका माध्यमबाट । तर, अलोकतान्त्रिक विधि, अलोकतान्त्रिक बाटोबाट परिवर्तनका कुरा भनेको अराजनीतिक कुरा हो, अलोकतान्त्रिक कुरा हो । त्यो सभ्य समाज र संस्कृतिभित्र पर्ने कुरा होइन । यति म भन्न चाहन्छु र सबैलाई आश्वस्त पनि गर्न चाहन्छु । कुनै प्रकारका भ्रमहरूमा नपर्न म आग्रह गर्न चाहन्छु । 

दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा पनि सुनिन्छ । दसैँपछि तुरुन्तै परिवर्तन हुन्छ रे ! कुन दसैँ भनेको ? ०८४ सालको दसैँपछि चुुनावमा ठीकै हो । त्यसभन्दा यता मैले पहिले नै भनिसकेको छु मैले चलाउने एक वर्ष ९ महिना जति रह्यो होला । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु । 

आफैँ फेरिन्छ यो सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ र चुनाव उहाँको नेतृत्वमा हुन्छ–०८४ सालमा । त्यसपछि चुनावबाट जो आउँछ त्यसले सरकार बनाउँछ । यस कुरामा सबै ढुक्क रहन म आग्रह गर्न चाहन्छु ।
 
नेपालको राजनीति, नेपालको समाज, नेपालको अर्थतन्त्र नेपालको विकासमा ठूलो योगदान गरेका, सबभन्दा ठूला, इतिहास बोकेका, योगदान गरेका कांग्रेस र एमालेले सरकार बनाएका छन् । र, सरकार लगभग दुईतिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस्, यो खरानीको डल्लो होइन । 

एमाले र कांग्रेस जसको इतिहास यो देशलाई विकास गर्नेमा छ, परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरूको सरकार हो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro