site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

नवीन रिजाल/रासस


दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्छन्, “बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।”

दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ । गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर सहर पठाउने सपना साकार नहुँदै सोही सडकमा गुडेका सवारीसाधान चढेर गाउँका युवा सहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ । भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उनीहरूको गुनासो छ । 

गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन् । विसं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा ३६६ जनाको बसोबास थियो । हाल १७ घरमात्र छन् । गाउँको जनसंख्या १२० मा झरेको छ । 

गाउँका अगुवा धनबहादुर थापा भन्छन्, “पहिले बस्तीमा चहलपहल थियो । चाडबाडमा युवादेखि केटाकेटीसम्म सबै जम्मा हुन्थे । उत्पादन पनि राम्रै थियो, अहिले मानिस सुविधायुक्त स्थानमा जान थाले गाउँका बस्ती बाँझो जमिनमा परिणत भयो ।” 

बस्ती सबै रित्तो भएको उनी बताउँछन् । “रित्तो बस्तीमा अहिले वनमाराले राज गरेको छ”, यहाँका सबै टोलमा यस्तै समस्या छ,” उनले भने । 

यस्तै गुनासो छ रावत टोलका ७० वर्षीया दानबहादुर रावतको पनि । ७० वर्षमा सहजै हिँडडुल गरी काम गर्न सक्ने उनलाई छिमेकीका घरको आँगन पनि अहिले परदेशजस्तो लाग्न थालेको छ । “निकै अप्ठ्यारो महसुस भएको छ, दिनभरि घरमा एक्लै बस्छु, दिन काट्न मुस्किल छ, दुःखसुखका कुरा गर्ने न दौँतरी छन् न छिमेकी नै ।”

दानबहादुरको दुःखभन्दा कम छैन महाबु गाउँपालिका–५ काशीकाँधका ६९ वर्षीय दानेश्वर खत्रीको पनि । 

“सुविधा खोज्दै युवा सहर गए, गाउँमा रोजगारी भएन, युवा सहर पसेपछि परिवार पनि उतै लगे, अनि गाउँमा को आएर बस्छ ? दसैँको मुखमा घरमा पालेका खसीबाख्रासमेत चितुवा आएर मारिदियो,” उनले भने, “मकै लगायो बाँदर र बँदेलले सखाप पार्छ । वनमाराको झाडी भयो वनबाट खानेकुरा खोज्दै अलिअलि दुःख गरेर गाउँमै बसेका किसानलाई समेत छाड्नुपर्ने बाध्यता छ । उब्जनी हुने बाली भित्र्याउन नपाएपछि गाउँमा के खाएर बाँच्ने ?” 

sunsan-gaun-1729219122.jpg
सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको महावु गाउँपालिका–५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए । बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको बताए । 

कृषिमा आधुनिकीकरण आवश्यक भएकाले स्थानीय सरकार किसानसँगको सहलगानीमा काम गर्न तयार भए पनि निकै कममात्र व्यावसायिक खेतीमा लागेका छन् । 

परम्परागत उत्पादनलाई जंगली जनावरले नष्ट गर्न थाले पनि कृषि उत्पादनलाई बढावा दिन गाउँपालिकाले मकै, अलैँची र आलु पकेट क्षेत्र र पशुपालन पकेट क्षेत्र छनोट गरेको र सोहीअनुसार काम सुरु गरेको उनले बताए । 

जंगली जनावरको आतंक 
ग्रामीण बस्ती खाली हुनुको एक कारण जंगली जनावरको आतंक पनि हो । केही वर्षअघिसम्म आफ्नै खेतबारीमा लगाएको खेतीले वर्षभरि खान पुग्ने ग्रामीण बस्तीका बासिन्दाले पछिल्ला वर्षमा खेती लगाउन छाडेका छन् । 

लगाएको खेती नपाक्दै बाँदर र बँदेललगायत जंगली जनावरले नास गर्न थालेपछि पाखाबारी बाँझो छाडेर नागरिक परिवारको गर्जो टार्न कामको खोजीमा भारतलगायत सुविधासम्पन्न सहर पस्न थालेका छन् । 

“केही वर्ष अघिसम्म परिवारलाई वर्षभरि खान पुग्ने कोदो, मकै, गहुँलगायत बाली फल्ने गाउँका जमिन अहिले जंगली जनावरका कारण बाँझो पर्न थालेका छन्,” महावु गाउँपालिका–५ का तुलबहादुर रिजालले भने, “केही वर्ष अघिसम्म परिवारलाई खान पुग्ने अन्न बारीमा फल्थ्यो । अहिले जंगली जनावरले बाली नपाक्दै नष्ट गरिहाल्छन् । गाउँका नागरिक काम गर्दै बालबच्चा पढाउँदै सहर पस्न थाले ।” 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro