site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

सरकारको पूर्वस्वीकृति लिएर वैदेशिक सहयोगबाट कार्यक्रम सञ्चालन गरेबापत गैरसरकारी सामाजिक संस्थाहरूलाई‘विदेशी एजेन्ट’ भन्ने राजनीतिक दलहरूले बाढीपीडितका नाममा विदेशको राजनीतिक दलबाट सहयोग लिएका छन् । यसरी नेपालका राजनीतिक दलहरूले लुकिछिपी विदेशी पैसा लिएको सन्देह पहिलेदेखि नै गरिएको भए पनि यसरी हाकाहाकी रकम लिएको भने सार्वजनिक भएको भने सम्भवतः यो पहिलो घटना हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले बाढीपीडितको निम्ति सहयोग भन्दै नेपालका केही राजनीतिक दलका नेताहरूलाई उपलब्ध गराएको समाचार सार्वजनिक भएको छ । करिब २ करोड रुपियाँ बराबरको सहायता भनिए पनि त्यसमा नगद वा जिन्सी कति हो र वितरण कसरी गरिने हो भन्ने सार्वजनिक गरिएको छैन । सत्तारूढ नेपाली कांग्रेस, नेकपा (एमाले)  तथा प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका प्रतिनिधिले सहायता सामग्री बुझेको एउटा समाचारमा उल्लेख गरिएको छ ।

बाढीपीडितको सहयोगार्थ चिनियाँ रेडक्रसले पनि केही दिन पहिले सहायता उपलब्ध गराएको छ । त्यस सहयोगलाई चिनियाँ रेडक्रसको नेपाली जनताप्रतिको सद्भावका रूपमा लिइएको थियो । तर, नेपालका राजनीतिक दलहरूले विदेशी राजनीतिक दलबाट यसरी सोझै सहायता लिनेदिने गर्नु भने सद्भावपूर्ण सदाशयभन्दा राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्छ । किनभने यसरी विदेशी राजनीतिक दलबाट सोझै सहायता लिनेदिने गर्दा नेपालका दलहरूभित्र वैदेशिक हस्तक्षेप र प्रभावको जोखिम  बढ्नेछ ।

चिनियाँ कम्युनिस्ट पार्टीले जस्तै भारत, अमेरिका, युरोपियन युनियनलगायतका देशका दलहरूले नेपालका राजनीतिक दलहरूलाई विभिन्न नाममा सहायता दिन थालेभने त्यसको परिणाम के होला ? यस्तै सत्तारुढ राजनीतिक दलहरूले पूर्वस्वीकृतिको कानुनी प्रावधानहरू पूरा नगरी वैदेशिक सहयोग लिने हो भने अरू दल वा संघसंस्थाले कानुन पालन किन गर्ने ? कि राजनीतिक नेताहरूले अपराधमा उन्मुक्ति पाएजस्तै दलहरू पनि देशका विशेष संस्था भएकाले ‘छोटा नेता’हरूले पनि कानुन मिच्न डराउन नपर्ने सन्देश दिन खोजिएको हो ?

चीनले अपनाएको शासन प्रणालीमा राज्य, पार्टी र सरकारका बीचमा धेरै भिन्नता हुँदैन । यसैले चिनियाँ मित्रहरूलाई नेपालका राजनीतिक दलका नेतालाई सहायता हस्तान्तरण गर्न खासै अप्ठेरो नलाग्नु अनौठो होइन । यद्यपि, चिनियाँ कूटनयिकहरूले पनि नेपालको कानुन तथा लोकतान्त्रिक शासनको मर्यादा राख्नु उचित हुन्थ्यो । यस्तै हो भने त चुनावका बेला झन् बढी चलखेल हुँदैन भनेर कसरी ढुक्क हुन सकिन्छ र ?   

जे नहुनुपर्ने थियो भयो । अब चिनियाँ राजदूतावास र सहायता बुझ्न हुर्तुराएका नेपालका राजनीतिक दलका नेताहरूको नियतमा एकपटक शङ्काको सुविधा दिऊँ । तर, उनीहरूले बुझेका सहायता सम्बन्धित निकायलाई तत्काल हस्तान्तरण गरून् । सरकारले पनि यस प्रकारको अराजकता काबुबाहिर नहुँदै नियन्त्रण गरोस् ! नागरिक र सामाजिक संघसंस्थालाई लाग्ने कानुनबाट राजनीतिक दलका नेता कार्यकर्ताले पनि उन्मुक्ति पाउँदैनन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro