site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
राजधानीमै सरकार देखिएन, दुर्गम के होला ?

असोज दोस्रो सातामा आएको भीषण बाढीपहिरोपछि सहायता, उद्धार तथा पुनःस्थापनाका काममा सरकार जुन रूपमा सक्रिय हुनुपर्थ्यो त्यसरी प्रस्तुत नभएकामा सरकारी संयन्त्रमाथि चारैतिर प्रश्न उठेका छन् । अति सुस्त शैलीका सरकार दुई चारवटा निर्णय गरेर ठूलै काम गरे झैँ दंग छ ।

नेपाल बाढी पहिरो, भूकम्प, आँधीबेरी, अति वर्षा र सुख्खाले  सताइरहने देश हो । बर्सेनि बाढी पहिरो, भूक्षय, भूकम्प, आँधीबेहरीबाट देश र जनता पीडित हुनुपरेको छ ।

जाजरकोट र पश्चिम रुकुममा गत वर्ष गएको भूकम्पको राहत र पुननिर्माणका काम पूरा नहुँदै देशले यो वर्ष असोजको दुई दिने झरीले निम्त्याएको बाढीपहिरोको मार खेप्दैछ । हजारौं मानिस घरबारविहीन हुन पुगेका र दुईसय चालीस भन्दा बढीले ज्यान गुमाएको अनुमान छ ।

Dabur Nepal
NIC Asia

बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति पूर्णरुपमा रोक्न त सकिँदैन तर सरकारी संयन्त्रले योजना बनाउँदै गरेको भए क्षति  कम हुन सक्थ्यो । 

बाढीपहिरोबाट भएका क्षतिमा पुनर्निर्माण तथा मानिसलाई कसरी बसोबास मिलाउने भन्नेमा बजेट र कार्यक्रम सरकारले ल्याउन सकेको छैन । प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा हुने सहायताले मात्रै राहत, उद्धार, पुनःस्थापना तथा पूर्वाधार निर्माण तथा मर्मतका काम गर्न सकिँदैन । यतिबेला सरकारले साधारण खर्च भारी मात्रामा घटाउने योजना ल्याउनुपर्ने थियो । त्यस्तो सक्रियता नदेखिँदा सरकारले भयावह अवस्थालाई सामान्यरूपमा लिएको देखियो । 

हालको संकटको समयमा सरकारको परिणाममुखी र मितव्ययीरूपमा काम गर्नुपर्ने देखिन्छ । साथै सरकारले दक्षता,  मितव्ययिता, नियमितता, स्वच्छता, प्रभावकारिता, पारदर्शिता र  जवाफदेही देखाउन आवश्यक छ । जनताले प्रत्यक्ष देख्ने परिणाममुखी काम गर्न नसके सरकारले विश्वसनीयता गुमाउनुपर्ने स्थिति आउन सक्छ ।  

बाढीपहिरोले आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, पूर्वाधार विकास, उद्योग कालकारखाना, कृषि, पर्यटनमा असर र प्रभाव पारेको देखिन्छ । यसबाट  लगभग तीस अर्बभन्दा बढीको क्षति भएको प्रारम्भिक  अनुमान छ । यसको असरको गहिराइ कति छ भन्ने सम्बन्धमा सरकारले नीति र योजना बनाएको पनि देखिँदैन ।

तीन दिनको बाढीपहिरोले बढी क्षति वाग्मती र कोसी प्रदेशमा पारेको अनुमान छ । यसले राजधानी आउनेजाने मार्ग बन्द हुन गएका छन् । यही मौका पारेर खाद्यान्न, तरकारीको मूल्य अस्वाभाविक तवरले बढेको छ । सरकार अस्वाभाविक मूल्यवृद्धि रोक्न पनि असफल भएको देखिन्छ ।

विश्वमा प्राकृतिक विपत्तिबाट मुक्त भएको देश पाउन गाह्रो छ । हरेक देशका सरकार, राजनीतिक दलका नेता तथा नीति निर्माताहरूले देशमा के/कस्ता प्राकृतिक विपत्ति आउँछ  र त्यसलाई कसरी सम्बोध गर्ने भन्ने नीति र योजना बनाउने गरे झैँ नेपाल सरकारले पनि त्यस्तो नीति र कार्यक्रम बनाउन सकेको देखिँदैन । हाम्रा शासक र राजनीतिक दलहरूको कमजोरी यही हो ।   

बाढी पहिरो जस्ता अधिकांश प्राकृतिक विपत्ति मनिसको गलत, सोचविचार र कार्यका कारण हुने गर्छन् भन्ने सरकार र सरकारीतन्त्रले कहिल्यै बुझेनन् । यसपालिको विपत्तिमा प्राकृतिक स्रोत तथा चुरेको अत्यधिक दोहनले पहाड र तराईमा धेरै क्षति पुगेको कारण पनि यही हो ।

खाली जमीन देख्नैबित्तिकै पार्टीका कार्यकर्ता र समर्थकहरूलाई सुकुम्वासी बनाउँदै राख्ने प्रवृत्तिले खोला किनारामा बस्ती धेरै क्षतिग्रस्त हुन गएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नदी किनाराका बस्ती हटाउने कार्यक्रम ल्याउँदा सरकार र राजनीतिक दलका नेताहरूले असहयोग गर्दा बाढीले काठमाडौं उपत्यका बढी प्रभावित हुन गयो ।

नदी र आसपासका ढुंगा गिट्टी र बालुवा जथाभावीरूपमा उत्खनन् गर्दा र वनजंगल जथाभावी नाश गर्दा प्रकृतिमाथि अतिक्रमण हुन गएको छ । यसले बाढी पहिरो, भूक्षय, सुखा पहिरोजस्ता प्राकृतिक विपत्ति निम्त्याउने काम गरेको छ । यो यथार्थ हामीले कहिल्यै बुझ्ने र समाधान गर्ने कोसिस नगर्दा नेपाल र नेपाली प्राकृतिक विपत्तिबाट पीडित हुनुपरेको हो ।

प्राकृतिक विपत्तिका मुख्यकारणमा वनजंगलको विनाश, भूक्षय, वायुको तापक्रम बढ्नु, वातावरण प्रदूषण, खानी सञ्चालनका तौरतरिका, जलवायु परिवर्तन, खोला किनारामा सुकुम्वासी बस्ती बसाल्ने र नदीखोलाबाट जथाभावी ढुंगा, गिटी, बालुवा झिक्नु आदि हुन् । प्रकृतिमाथि दोहन र थिचोमिचो न्यूनीकरण नगर्ने हो भने निरन्तर अनेक विपत्ति भोग्दै जानुपर्ने स्थिति छ । 

प्राकृतिक विपत्तिका घटना पूर्णरुपेण रोक्न सकिँदैन तर विपत्तिबाट कमभन्दा कम क्षति हुनेबारे सोच्नु र काम गर्नु सरकारको मुख्य जिम्मेवारी हो । असोजमा बाढी पहिरो ठूलो आउँदैछ भनी मौसमविद्हरूले तीन चार दिनअगावै पूर्वसूचना दिएका हुन् । तर सरकारले पूर्व तयारी गरेन । तीनै तहका सरकारको यो ठूलो कमजोरी हो ।

झ्याप्ले खोलामा बस पुरियो । पैतीसभन्दा बढी यात्रुले अकालमा ज्यान गुमाए । यसमा चल्ने सार्वजनिक यातायात दुई दिनका लागि रोक्न सकिन्थ्यो । बाटोमा यात्रुहरूले कैयौं दिनसम्म भोकभोकै ज्यानको बाजी लगाउँदै हिँड्नुपर्‍यो ।
 
राजधानी र राजधानीसँगै जोडिएका काभ्रे, धादिङजस्ता ठाउँमा त सरकारले आफ्नो उपस्थिति देखाउन सकेन भने दुर्गम पहाडी जिल्लाहरूमा सरकारको उपस्थिति भएन भनेर के भन्ने ?  

सरकार जवाफदेही भयो कि भएन समीक्षा तथा मूल्यांकन हुनुपर्छ । बाढीपहिरो गइसकेपछि भएका क्षतिका कारण, असर, प्रभाव र समाधानका उपायबारे  गम्भीररूपले समीक्षा गरी यथार्थ विवरण अझै सर्वजनिक गर्नसकेको छैन । 

दैवी प्रकोपका घटनापछि उद्धार तथा राहत र पुनर्निर्माण कार्यमा विगतमा सरकारले काम गर्दा ढिलासुस्ती, अनियमितता र बदमासी भएको समाचार आउने गर्थे । यसपालि जनताले त्यस किसिमको समाचार सुन्न नपरोस् ।

सरकार, राजनीतिक दलका नेता तथा प्रशासनप्रति जनताको विश्वास जाग्न सकेको छैन । सरकारमा बस्नेहरू, राजनीतिक दलका नेताहरू,  प्रशासन र सुरक्षाका अधिकारीहरू यस सन्दर्भमा निष्पक्ष, स्वतन्त्र, नैतिक, इमानदार तथा जवाफदेही बन्न अत्यावश्यक देखिन्छ ।

यस्तो विपत्तिका बेला संघीय संसद् र प्रदेशसभाको आपतकालीन अधिवेशन बोलाउँदै विपत्तिबारेमा छलफल गर्नुपर्ने थियो । संसदीय समितिहरूले पनि सरकारका कामकारबाही, अनुगमन र मूल्यांकन गरी राहत, उद्धार तथा पुर्ननिर्माण र पुनःस्नाथापनाका कामहरूलाई प्रभावकारी बनाउन आवश्यक थियो ।

संघीय संसद् र प्रदेशसभाको अधिवेशन र बैठक नराख्नुले तिनीहरूको औचित्य र महत्त्व, घट्न गएको छ । जनप्रतिनिधिहरूले संसद बैठकको माग गर्नुपर्ने थियो । त्यसो गर्न सकेको देखिँदैन । यस कार्यमा प्रभावकारिता र सक्रियता ल्याउन सरोकारवालाको ध्यान जाओस् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro