site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
रातो बरफ रातै धर्ती   
Argakhachi Cement Island Ad

यो सगरमाथाको कपासजस्तो हिउँ होइन 
यो रगत बोकेर झरिरहेको रातो हिउँ हो 
रगतले बनेको रातो बरफ  
यता राताम्मे हुँदा 
उता घर सेताम्मे हुने 
यता मुहार रंगिँदा 
उता सिउँदो फुस्रने 
रङको लीला हो यो     
रातो बरफको खेला हो यो 
जीवनको एकतर्फी यात्रा हो यो 

यहाँबाट न लास फर्किन्छ न सास 
फर्किन्छ त केवल मरेको आस 
घरका लागि सधैँलाई आस 
नझर्ने तारा बलेको बत्ती 
किनकि, घर भ्रमभित्र सपना देख्छ 
भन्छ– छोरो इलममा लाग्यो 
दूधभात दिन्छ 
श्रीमान् कमाउने भए 
दुःखका दिन गए 
काखे बालक सेता दात देखाउँदै मुस्कुराउँछ
भ्रमको मुस्कान 
देश नाच्छ, भ्रमको नाच 
उसलाई के थाहा रातो धर्तीको कथा 
मलाई नै नौलो लाग्ने कथा
कोही त बताऊ 
म कहाँ छु ?
म कताको, कसको सिपाही ? 
नौलो बुट, पराया हेल्मेट 
खुकुरीबिनाको पोसाक 
म कुन माटोको सिपाही ?
कस्तो युद्धको सिपाही ?
छद्मभित्र आतंक रंगिएको सिमानाविहीन 
कस्तो युद्धभूमि ?
ठिमाहा बिल्कुल ठिमाहा 

म चिसो पीडामा म्यागजिन जड्छु 
हात कमाउँदै ट्रिगर तान्छु
बर्साउँछु राता बरफका असिना 
अनि, शत्रुतर्फ दूरबिनको एउटा कुनामा देख्छु  
डाँडाघरे भाइ
रातो बरफ बनेको 
धिक्कार छ मलाई 
वीरको छोरो भाइमारा 
शब्द जम्यो–मुटु जम्यो
जमेको आँखा के रसाउँथ्यो र ?
रातीगेडी भएर झर्यो दुई दाना आँसु 
नलेखिने इतिहाससँगै  
यो दृश्य कुनै क्यामेरामा छैन 
क्यानभासमा छैन 
तर, कहिल्यै आँखा नचिम्लने स्वयम्भू
आज चिम्लिरहेको छ 
इतिहासमा नरोएको पञ्चशील आज रोएको छ 
किनकि, यहाँ सबै राताम्य छन् 
रातो बरफ रातै धर्ती 
रातै घाम रातै जून
अनि, म पनि रातो सिनो 
अलबिदा आमा 
मेरो खबर आउँदैन ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्