site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आफ्नो सार्वभौमिकता भुलेको कांग्रेस महासमिति

काठमडौं । नेपाली कांगेसको गोदावरी महासमिति बैठक बिनानिष्कर्ष सकिएको छ । उपसभापति र महामन्त्रीहरूका ‘परस्पर बाझिएका’ प्रस्ताव सर्वसम्मतिले पारित गरेको महासमितिले निष्कर्ष निकाल्ने र कार्यान्वयन गर्ने जिम्मा केन्द्रीय समितिलाई छोडिदिएको छ । अब केन्द्रीय समितिमा देउवालाई बहुमतमार्फत निर्णय गर्न सहज हुने निश्चित छ ।

कांग्रेसको विधानअनुसार महाधिवेशनपछिको सबैभन्दा ठूलो र शक्तिशाली संस्था हो, महासमिति । महासमितिसँग नेतृत्व फेर्नेबाहेक सबै अधिकार छ । तर, चार दिन चलेको छलफलको निष्कर्ष ननिकालेरै महासमिति बैठक सकिएको छ । महासमितिले अन्तिम निष्कर्ष निकाल्ने जिम्मा केन्द्रीय समितिलाई दिएको छ ।

उसो त कांग्रेसले महासमितिको बैठकमा नेताहरूले प्रस्तुत गरेका प्रस्तावले पार्टीको नीति, सांगठनिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको दाबी गरेको छ ।

Dabur Nepal
NIC Asia

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

"बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यबाट आएका महत्त्वपूर्ण सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जनसहित अन्तिम रूप दिने गरी तीनवटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ,” निष्कर्षमा भनिएको छ ।

चुनावी गठबन्धन गर्ने र नगर्नेदेखि धेरै विषयमा बाझिएका प्रस्तावहरू सर्वसम्मतिबाट पारित हुनुले कांग्रेसलाई फेरि तदर्थवादमा लैजाने देखिएको छ । अर्कोतिर केन्द्रीय समितिको बहुमतबाट सभापतिलाई आफूअनुकूल निर्णय गर्ने प्रवृत्तिको निरन्तरतालाई पनि महासमितिले खुला राखिदिएको छ ।

पार्टीको नीति र रणनीतिको अन्तरद्वन्द्वमा फसेका प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दा समझदारीको साझा दस्तावेज निर्माणमा पनि कांग्रेस चुकेको छ ।

राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल महासमिति सदस्यहरूले नेताका अगाडि आफ्नो सार्वभौम अधिकार दाबी नै नगरेको बताउँछन् । अहिलेसम्म पनि नेपालमा नेतामुखी राजनीति चलिरहेको र महासमितिको बैठक औपचारिकतामा सीमित भएको उनको बुझाइ छ ।

“महाधिवेशनले महासमितिलाई छोड्ने, महासमितिले केन्द्रीय समितिलाई छोड्ने, केन्द्रीय समितिले पदाधिकारीलाई छोड्ने र पदाधिकारीले सभापतिलाई छोड्ने पुरानै प्रवृत्ति हो,” खनाल भन्छन्, “नेपालको राजनीति नेतामुखी भएर चलिरहेको छ । कांग्रेसको महासमितिले नै पूर्णता पाएको छैन ।”

उनले भागबन्डा नमिलेर अपूर्ण भएको महासमितिबाट पूर्ण निर्णयको अपेक्षा नै गर्न नसकिने बताए ।

“नेपालका राजनीतिक दलले पुरानो संरचनाबाट बाहिर निस्कन नसकेको भन्दै जनताले जनमतबाटै नयाँ म्यान्डेट खोजी गरेको छ । मेरो बुझाइको संगठन संरचनामा कांग्रेस होइन, कुनै पनि राजनीतिक दल छैनन्,” खनालले भने, “नेपालका राजनीतिक दल ठूला नेताको जबर्जस्त पकडमा छन् । राजनीति आदेशमुखी छ, कार्यकर्तामा दास प्रवृत्ति छ । नेतालाई खुसी पारेर भाग लिने प्रवृत्ति छ ।”

यस्ता प्रवृत्तिबाट कांग्रेस बाहिर निस्कन नसकेको प्रमाणित भएको उनको बुझाइ छ ।

कसले के भने ?

बैठकको समापन समारोहमा सभापति देउवाले महासमितिमा आएका सुझावहरू महत्त्वपूर्ण रहेको बताए । उनले प्राप्त सुझावहरू केन्द्रीय समितिको बैठकबाट परिमार्जनसहित पारित गरेर निष्कर्ष निकाल्ने अश्वासन दिएका छन् ।

“महासमिति सदस्यहरूले महत्त्वपूर्ण सुझावहरू दिनुभएको छ । यहाँ आएका सुझावहरू समावेश गरेर केन्द्रीय समिति बैठकले परिमार्जन गर्ने गरी प्रस्तावहरू पारित भएका छन्,” देउवाले भने, “आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्ने छ ।”

महामन्त्री थापाले कांग्रेस सत्तामा जान र मत ल्याउने मुद्दा बोक्न स्थापना नै नभएको बताए । उनले कांग्रेसको धर्म नै देश र जनताको हित भएको बताए । महासमिति बैठकमा हिन्दु धर्मका पक्षमा चलेको अभियानलाई लक्षित गर्दै उनले कांग्रेसको जिम्मेवारी उत्तेजना फैलाउने नभएर चेतनाको सञ्चार गर्ने भएको बताए ।

“यो पार्टी किन बन्यो ? कांग्रेस बन्दै गर्दा सरकारमा जाने ठाउँ थियो ? चुनाव हुने अवस्था थियो ?,” थापाले भने, “यो पार्टी नेपाली जनताको हित गर्ने उद्देश्यले निर्माण भएको हो । नेपाली जनताको हित यो पार्टीको धर्म हो । हाम्रो काम उत्तेजना बढाउने होइन, चेतना फैलाउने हो ।”

थापाले मुद्दाकेन्द्रित भएर राजनीति गर्दा हारको मानसिकता र त्रास त्याग्नुपर्ने बताए । मुद्दा केन्द्रित राजनीति गर्न सके कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने उनको दाबी छ ।

अर्का महामन्त्री शर्माले कांग्रेसबाट अब कसैले पनि दुईपटक भन्दा बढी प्रधानमन्त्री र चारपटकभन्दा बढी सांसदको शपथ लिन नपाउने बताए । उनले महासमितिमा ‘चुनावी गठबन्धन गर्ने वा नगर्ने’ विषयमा मात्र छलफल नभएको बताए ।

शर्माले भने, “अब राष्ट्रपतिको शपथ ग्रहण एकपटक भन्दा बढी कसैले गर्ने छैन । प्रधानमन्त्रीको शपथ ग्रहण दुईपटक भन्दा बढी कसैले गर्ने छैन । मन्त्रीको शपथ तीनपटकभन्दा बढी कसैले गर्ने छैन । सांसदको शपथ ग्रहण चारपटक भन्दा बढी कसैले गर्नेछैन ।”

उनले यति भनेर ‘बलियो कांग्रेस, बदिलिएको कांग्रेस’ बनाउने संकल्प गरेको दाबी गरे ।

कांग्रेसका उपसभापति धनराज गुरुङले चुनाव एजेन्डाले जित्ने भन्दै अहिले गठबन्धन गर्ने र नगर्ने विवादमा फस्न जरुरी नभएको बताए । गुरुङले ०४६ सालयता सार्वजनिक जिम्मेवारीमा बसेका सबैलाई छानबिन गरी कानुनी दायरमा ल्याउने काममात्र गरे जनताले चुनावमा जिताउने दाबी गरे ।

उपसभापति पूर्णबहादुर खड्को कांग्रेसले जनताको शिर झुकाउने काम नगरेको र अब पनि झुक्न नदिने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro