मौलिकता, रैथाने, मूलआदि शब्दहरू आजभोलि नेपाली संकथनमा निकै प्रचलनमा आउन थालेका छन् । माओवादीले विद्रोह गर्दा उपर्युक्त शब्दहरू नेपालको इतिहास निर्माण गर्ने संस्कृति सभ्यतासँग जोडेर हेर्ने र बुझ्ने गरिन्थ्यो । माओवादीले ‘सांस्कृतिक क्रान्ति’ गरेर मौलिकताको नामोनिसान मेटाउने प्रतिज्ञा गरेका थिए । हुन त, चीनमा माओत्से तुङ, रूसमा लेनिन आदिको नेतृत्वमा पनि इतिहास मेट्ने निकै प्रयत्न भएको थियो । तर यी दुवै देशले ‘कोर्स’ परिवर्तन गरेर पुनः इतिहासतिर नै फर्केका छन् ।
मार्क्सवादी सिद्धान्तविरुद्ध आज विश्वभर नै ‘पहिचान’का आवरणमा सम्बन्धित समुदायले आफ्नो रैथाने मौलिक परिचय खोज्दैछ । नेपालमा ‘वर्ग’मा विश्वास गर्ने र वैश्विकतहमा समाजवादको एकल राष्ट्र निर्माणको सपना देख्ने कम्युनिस्टहरू विभिन्न मनोवादी सिद्धान्तहरूको परिकल्पना गरेर “परिचयवाद“लाई मलजल गर्दैछन् । नेपालको परिचयवाद माओवादीले घोषणा गरेको सांस्कृतिक क्रान्तिको अवशेष हो भन्न सकिन्छ । आफ्नो क्रान्तिताका माओवादीले सांस्कृतिक क्रान्तिको विगुल केवल हिन्दू संस्कृतिविरुद्ध फुकेको थियो इसाई, मुस्लिम आदिविरुद्ध होइन ।
जेहोस्, कोसी प्रदेशमा माओवादी पहिचानको पक्षमा उभिएर चिनियाँ मोडेलको सांस्कृतिक क्रान्तितिर फर्कन चाहेको जस्तो देखिन्छ । एउटा समुदायले आफ्नो मौलिक पहिचानको माग राख्नु स्वाभाविक हो, तर परिचयको माग आफ्नै घर जोडिएको छिमेकीलाई घृणा गरेर हुन्छ भन्ने भाष्यचाहिँ कसले दिमागमा प्रविष्ट गराएर मलजल गर्यो ? अनुसन्धानको विषय हो । राजनीतिक दलहरूलाई असजिलो परेको बेला अमेरिकी वा भारतीय आदिलाई दोष दिएर उम्कने स्वभावबाट नेपाली जनताले भेउ नै पाउन सकेका छैनन् । यो अवस्था कहिलेसम्म रहने हो ? भन्न सकिन्न ।
पुनः रैथाने वा मौलिकताको प्रसंगमा फर्कौँ । रैथाने वा मौलिक शब्दप्रति मोह हुनु र जीवनमा मौलिकता स्वीकार गरेर जीवन यापनको साध्य बनाउनु ज्यादै फरक तथ्य हुन् । उदाहरणका लागि जतिसुकै मौलिकताको कुरा गरे पनि यतिखेर ३० वर्षअघिको काठमाडौं असम्भव विषय हो भने पृथ्वीनारायणकालीन मौलिकताको त परिकल्पना पनि गर्न सकिन्न ।
कुनै पनि व्यक्तिले टेलिभिजन, मोबाइल वा विज्ञानले उपलब्ध गराएका साधनहरू परित्याग गरेर वि.स. २००० तिरको जीवनशैली अपनाउन सक्दैन । आजका लागि मौलिकता एउटा शास्त्रीय विषयवस्तु बनेको छ । मौलिकताको अर्थ यतिमात्र हो कि समुदायले आफ्नो भाषा, संस्कृति, भूगोलसहित सकेसम्म सम्मानजनक इतिहास जान्न चाहन्छ ।
सही र व्यावहारिक अर्थमा मौलिकता र रैथाने अवस्था फर्किनै नसकिने माग हुन्, मान्यता हुन् । मौलिकताको पक्षमा उभिँदा गौरवको अनुभूति भए पनि सम्बन्धित समुदाय वा व्यक्तिले मौलिकताका धेरै विषयवस्तुहरू, व्यवहारहरू स्वीकार गर्न सक्दैनन् । आजको सामाजिक, सांस्कृतिक, धार्मिक तथा राजनीतिक परिवेशमा ती मौलिकताहरू अस्वीकार्य नै हुन्छन् ।
उदाहरणका लागि बालविवाह एउटा यस्तो मौलिक सामाजिक क्रियाकलाप थियो जुन ४० वर्ष अगाडिसम्मको नेपालमा सबै नेपालीहरूमा स्वीकार्य थियो । आज मानसिकरूपले कुनै पनि नेपाली त्यसमा फर्कन चाहन्न न राज्यको कानुनले त्यसो गर्न अनुमति नै दिन्छ । यस्ता असंख्य उदाहरणहरू छन् । आजको परिवेशमा असम्भव छन् ।
नेपालीको मौलो शब्दबाट मौलिक बनेको हो । पोखरीहरूको प्रयोग हुँदा पोखरीको माँझमा सालको अग्राखबाट बनेको एउटा थाम गाडिन्थ्यो । तेसको शास्त्रीय मान्यतातिर नजाऔं तर यो मौलोले पृथ्वीको मध्यभागको प्रतिनिधित्व गरिरहेको हुन्थ्यो । सम्पूर्ण संसार नै त्यसैको आश्रम हुन्छ भने अर्थ लाग्थ्यो । यसरी मौलिकताको अर्थ केन्द्र हो । बुद्धिजीवी तथा ज्ञानीहरूका लागि मौलिकताको अर्थ हो आफ्नो देश, संस्कृति तथा चिन्तनलाई प्राथमिकता दिएर अन्य सबैको सम्मान गर्नु । नेपाली संस्कृतिले हजारौं वर्षदेखि उपर्युक्त प्रतिमानलाई शब्दशः पालन गर्दै आएको छ । यो प्रतिमानलाई जीवन दर्शन बनाएर हरेक नेपालीले आफ्नो अस्तित्व जोगाएको हो ।
आजको जस्तो घृणावादमा आधारित समावेशीकरणको अभ्यास हुन्थ्यो भने नेपालमा १३१ जातजाति र १३३ भाषाको अस्तित्व इरान, इराक, साउदी, क्यानडा, युएसएझैँ इतिहासका गर्तमा हराई सक्थे वा अफगानिस्तानमा झैँ कहिले नसुल्झिने ‘कौमी जिर्गा’ परिणत हुन्थ्यो ।
दुर्भाग्यवश, आजको नेपाली पहिचानवाद घृणावादको विदेशी घोडा चढेर अफगानिस्तानतिर बढ्दैछ कि भन्ने डर लागेको छ । असलमा, मौलिकताको अर्थ हो– आफ्नो धर्म, संस्कृति, सभ्यता तथा चिन्तनलाई माँझमा राखेर विश्वभरिका श्लील प्रतिमानहरूको स्वागत गर्नु । नेपाली संस्कृतिको निर्माण नै अरूलाई स्वीकार गर्ने प्रतिमानबाट भएको हुँदा अन्यलाई स्वीकार्न कुनै गाह्रो हुँदैन । समस्या नेपालीहरूसँग होइन ती विदेशी धार्मिक तथा राजनीतिक अनुयायीहरूसँग छ जसको सिद्धान्तमा बहुलतावाद सधैँ अस्वीकार्य रहेको छ । तर नेपाली राजनीतिक शक्तिहरूले नेपालको मौलिक सांस्कृतिक समूहसरह तिनलाई मान्यता दिने प्रतिबद्धता जनाउँछन् ।
हरेक राष्ट्रको पहिचान त्यस राष्ट्रका जनताले परापूर्वकालदेखि मान्दै, गर्दै आएका मानवीय गतिविधि नै हुन् । कुनै राष्ट्र वा समाज वा व्यक्तिले आफ्नो मौलिकता अस्वीकार वा तिरस्कार गर्छ भने उसले आफ्नो राष्ट्रियतालाई अस्वीकार गरिरहेको छ । नेपालका हकमा हिन्दू, जैन, बौद्ध बोन्पो, किरातहरू मौलिक तथा रैथाने धर्म हुन् भने ती समूहले परापूर्वकालदेखि निर्माण गरेका ग्रन्थहरू, व्यवहारहरू, शैलीहरू, भाषाहरू पहिचान हुन् । कसैले आफूलाई नेपाली भन्छ, तर नेपाली प्रतिमानहरूलाई स्वीकार गर्दैन भने ऊ नागरिकताको खोस्टोले अधिकारप्राप्त गरेको विदेशी आक्रमणकारी नै हो । देशमा यस्ता थुप्रै आक्रमणकारी छन् । ती आक्रमणकारीहरूको पहिचान नै घृणावादमा आधारित ‘अन्ग्रेजियत’ हो ।
दोहोर्याएर भन्नैपर्छ, आजको समाजमा पूर्ण रैथानेपन सम्भव छैन र भयो भने पनि त्यो ज्यादै अमिल्दो हुन्छ । तर, आफ्नो मौलिक संस्कृति र प्रतिमानलाई केन्द्रविन्दु (जरोकिलो)का रूपमा स्वीकार गरेर नवीनतम संस्कृतिको पनि स्वाद लिन सकिन्छ । स्वदेशी मस्तिष्कभित्र अन्यलाई सजिलै स्वागत गर्न सकिन्छ ।
आफ्ना कुरा भन्न र देखाउन सकिन्छ भने अर्काका कुरा पनि सुन्न र बुझ्न सकिन्छ । स्वत्वको परित्याग गरेर विदेशी प्रतिमानको पछाडि कुद्नु सांस्कृतिक आत्महत्या हुनेछ । यसै विषयलाई श्रीकृष्णले स्वधर्ममा मृत्यु धेरै ठीक हुन्छ भन्दै अर्जुनलाई आफ्नो गुणधर्मअनुसार युद्ध वा सन्यासमध्ये एउटा रोज्न स्वतन्त्रता प्रदान गरेका थिए । आज हामी नेपालीहरूका अगाडी सम्पूर्ण विश्व उभिएको छ । हाम्रो बेडरूममा समेत विदेशी प्रतिमानहरूले प्रवेश बनाएका छन् । त्यसको प्रतिकार गर्नुको सट्टा आफ्ना मौलिक प्रतिमानहरूको बेडरुमसम्म प्रवेश सुनिश्चित गर्नु हाम्रो कर्तव्य हुन्छ ।