संसार रहस्यमय छ । यसको खोजी गर्न हामी उद्बुद्ध र प्रबुद्ध बन्नुपर्छ । सत्सङ्ग, शास्त्राध्ययन, सकारात्मक चिन्तन र सदाचारबाट नै यहाँका रहस्यहरूलाई उद्घाटन गर्न सकिन्छ । ईशावास्योपनिषद्को पहिलो मन्त्र ‘ईशावास्यमिदं सर्वम्’ ले संसारको परमशक्ति ईश्वरलाई मानेको छ ।
हुन पनि यस संसारको हरेक कुनाको हरेक अणु र परमाणुमा ईश्वर उपस्थित छ । संसारका हरेक निर्जीव र सजीव पदार्थहरू उनकै अधीनमा रहेका छन् । त्यसले त कवि शिरोमणी लेखनाथ पौडेलले भन्नुभएको छ, ‘सुरमुनिदेखि भुसुनासम्म, प्रभु नै सबको घटमा टम्म ।’
मानिसले सोच्छ कि, आफू जुन कर्म गरिरहेको छ; त्यो उसको आफ्नै हो । त्यसको फल पनि उसको नै हो । मानिसको यो सोच गलत छ । यस्तो अनुभूति उसको आफ्नै अहंकारको कारणले हुन्छ; किनकि श्रीमद्भगवद्गीतामा पनि भनिएको छ, ‘अहङ्कारविमूढात्मा कर्ताहमिति मन्यते ।’
वास्तवमा मानिस एक्लैले केही गर्न सक्दैन । उसलाई हरेक काममा संसारका अन्य अवयवहरूको सहयोग चाहिन्छ । यस सम्बन्धमा आचार्यहरूद्वारा प्रतिपादित एउटा उदाहरण यहाँ व्यक्त गर्नु उपयुक्त लाग्यो– ‘दार्शनिक दृष्टिकोणले हेर्ने हो भने एक्लै मेरो, तिम्रो वा अरु कसैको मुखमा गहुँको एक दाना पनि पुग्न सक्दैन । यदि सम्पूर्ण कुनामा रहेका पदार्थहरूले एकअर्कालाई सहयोग गर्दैनन् भने यो काम कहिल्यै पूरा हुँदैन ।’
अझ विस्तृत रूपमा भन्नुपर्दा किसानहरू खेती गर्छन् र लोहारहरूले खेतीका उपकरणहरू बनाउँछन् । जमिन तयार गर्न हलो तथा कुलो खन्न धेरै उपकरणहरू प्रयोगमा आउँछन् । राँगा, गोरुहरू जोतिइरहेका देखिन्छन् ।
बिउ छर्ने, पानी हाल्ने, गेडमेल गर्ने, झारपात उखेल्ने र सरसफाइ गर्नमा पनि धेरैले सहयोग गर्छन् । बाली बिगार्ने विषालु कीटपतङ्ग र काँचो तथा पाकेको बाली खाने चराचुरुङ्गीबाट बालीलाई बचाउनुपर्छ ।
यतिमात्र पर्याप्त छैन; समयमै पानी पर्यो कि ? भनेर मानिसहरू आकाशतिर आँखा तान्ने गर्छन् । कहिलेकहीँ कुलो अनि नहर धाउने गर्छन् । पाकेको बालीमा असिना पर्न हुँदैन र हावाहुरीले बाली बिगार्न हुँदैन । जब घाम बढी लाग्छ, अनि जब पानी बढी पर्छः त्यसले पनि बाली बिग्रिन सक्छ । जब यो भौतिक संसारको सबै प्रक्रियाहरू सहज रूपमा चल्छन्, तब खेती पाक्छ । त्यो पाक्छ र सही गन्तव्यमा पुग्छ र गहुँको दाना हाम्रो मुखमा पुग्छ ।
हरतरहका सबै कार्यमा मानिसको वास्तविक अवस्था यस्तो हुन्छ तैपनि मानिसमा अहंकार किन हुन्छ ? जबसम्म मानिसले ‘मेरो सबै व्यवसाय र त्यसको परिणामको मालिक म नै हुँ’ भन्ने सोच्छ; तबसम्म उसमा अहंकार रहिरहन्छ र त्यो उसको मूर्खता हो । जब मानिसले आफूलाई सहयोगी ठान्छ । आफ्ना कार्यमा संलग्न अन्य सबै व्यक्तिहरू मेरा साझेदार हुन् भन्ने ठान्छ; तब यस्तो अवस्थामा अहंकार समाप्त हुन्छ ।
जब मानिस ऐश्वर्यको नसामा मग्न हुन्छ; तब उसले संसारमा आफ्नो बराबरको कोही देख्दैन । आचार्य भर्तृहरिले भनेजस्तै– ‘जब म आफूलाई धेरै विद्वान् ठान्थे; तब त्यतिबेला म नसाको अन्धकारमा थिएँ, तर विद्वानको सत्संगबाट केही सिक्न थालेपछि मेरो सबै नसाको अन्धकार नाश भयो र मलाई केही थाहा नभएको थाहा भयो ।’
त्यसैगरी जब मानिसलाई आफ्नो वास्तविक अवस्था थाहा हुन्छ; तब उसको सबै नसा हट्छ र उसले आफूलाई समाजको हिस्सा मान्न थाल्छ । परमात्मामा विश्वास राख्छ । परमात्माको सर्वव्यापी शक्ति सर्वत्र अवस्थित छ । परमात्मासँग जोडिएको चिन्तनले ठुलो तालबाट निस्केको नहरजस्तै टाढा टाढा पुगेर सिँचाइ दिन्छ र सुक्खा खेतलाई हरियाली बनाउँछ ।
त्यसैगरी जीवनको स्रोतबाट जीवनका अनगिन्ती लहरहरू निस्किरहेका छन् र यसबाट यो सम्पूर्ण जीवित संसार सजीव भइरहेको छ । तसर्थ, मानिसले सधैँ यो मनमा राख्नु पर्छ कि, ‘उसले जे पाइरहेको छः त्यो सबै होइन । उसले धेरै ठूलो भण्डारबाट केही प्राप्त गर्दैछ ।’
यस सम्बन्धमा पनि दार्शनिकहरूले एउटा उदाहरण दिएका छन्, ‘उदाहरणका लागि यदि घरको अगाडि सानो बल्बको लहरा तथा माला छ अनि यसलाई सजाइएको छ भने बटम जब थिचियो; तब ती सबै वत्ती बल्ने छन् । त्यसपछि त पुरै घर चम्किनेछ ।’
हामी प्रत्येकको आफ्नै जीवन छ । हाम्रो जीवनले एक–अर्काको सौन्दर्य र क्षमता बढाउनुपर्छ । सबैभन्दा सानो बल्ब, दश वाट भए पनि एकै ठाउँमा सवै बल्बलाई जम्मा गर्ने हो भने कति उज्यालो होला ।
हामी एक्लै केही होइनौ सँगै हामी विश्वशक्ति हौ । सानो बल्बले आफ्नो सानो घेराभित्र जे कर्म गर्छ; तपाई पनि त्यस्तै कर्म र कर्तव्यपूर्वक उद्देश्य पूरा गर्नुहोस् । यसो गर्दा मानवताको भावना पैदा हुन्छ । मानिसले सधैँ आफ्नो मिहिनेतले कमाउनुपर्छ र त्यसबाट अरूलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास हुन्छ ।
मानिस यति स्वार्थी हुनु हुँदैन कि, ‘उसले सबै कुरा एक्लै खाओस् । उसले आफ्नो वरपरका खाँचोमा परेका मानिसहरूको पनि उचित हेरचाह गर्नुपर्छ ।’
उदाहरणका रूपमा निर्जीव देवता सूर्य भगवानलाई हेर्नुहोस् । उहाँको आफ्नो कुनै स्वार्थ छैन तर पनि विनाभेदभाव सबैलाई समान प्रकाश प्रदान गर्नुहुन्छ । तैपनि सूर्यदेवमा कुनै स्वार्थ वा अभिमान छैन ।
जबदेखि यो ब्रह्माण्डको सृष्टि भयो; तबबाट नै कति मान्छेहरू यस धर्तीमा आएर खेल खेलेर गए । यहाँ कोही पनि सदाको लागि बसेको छैन; न त यहाँ सदा रहनेछन् । तिनीहरूले गरेका राम्रा–नराम्रा कर्महरूको मात्र लेखा–जोखा यस संसारमा रहन्छ ।
यस्तो अवस्थामा मानिसले आफ्नो कर्म कर्तव्यपूर्वक गर्दै विवेकशील भएर जीवन बिताउनुपर्छ । यस समाजका मानिसहरूलाई पनि विवेकपूर्वक बाँच्न दिनुपर्छ । मानिसहरूले सधैं बाँच्ने सिद्धान्तलाई आफ्नो अगाडि राख्नुपर्छ । त्यसका लागि सदाचार तथा नैतिकतालाई सर्वश्रेष्ठ कर्म भनिन्छ ।
आचारण मानिसको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा पालना गर्नुपर्ने नियम हुन् । मानिसले गर्न हुने र गर्न नहुने कार्यको निर्धारण आचार खण्डमा हुन्छ ।
सदाचारका नियमको पालना गर्नु कर्म हो । धर्मको पालना गर्नु कर्तव्य एवं नैतिकता हो । स्मृतिमा प्रतिपादन गरिएको पहिलो शिक्षा आचार हो । आचार भनेको सदाचार पनि हो ।
वैदिक ऋषिहरूद्वारा प्रतिपादित नैतिकताका सिद्धान्त वा सदाचारका नियम नै तत्कालिक समाजका आधिकारिक सारवान् कानुन थिए । स्मृतिमा प्रतिपादन गरिएको दोस्रो महत्त्वपूर्ण विषय व्यवहार हो । स्मृतिमा प्रतिपादन गरिएको तेस्रो महत्त्वपूर्ण विषय प्रायश्चित्त हो ।
सदाचारको पालना गर्नु सबैको कर्तव्य मानिन्थ्यो । सदाचारका नियमको पालनाबाट सामाजिक सुव्यवस्था कायम गर्ने विषयमा जोड दिइएको छ ।
वैदिक सनातन सामाजिक व्यवस्थामा तोकिएका नियमको पालना नगर्नु एवं नियम उल्लङ्घन गर्नु पाप हो । पाप नै अपराध हो । पापबाट मुक्त हुने उपाय प्रायश्चित्त हो । यो आत्मशुद्धिको उपाय पनि हो । पश्चाताप गर्नु, तप अनुष्ठान गर्नु र राज्यबाट दण्डित हुनु प्रायश्चित्तका उपाय मानिएका छन् ।
पाप गरेर प्रायश्चित्त नगरी यदि कुनै व्यक्तिको मृत्यु भयो भने उसले मृत्युपछिको जीवनमा समेत त्यसको दण्ड भोग्नुपर्छ भन्ने मान्यता छ । लोक र परलोकमा समेत शुभ कर्मको फल सुन्दर हुन्छ भन्ने विश्वासले गर्दा मानिसलाई शुभ कर्म गर्ने उत्प्रेरणा प्राप्त हुन्छ ।
व्यक्तिले सामाजिक मर्यादा उल्लङ्घन नगरोस्; अरूका अधिकार हनन् नगरोस् र अरूलाई दुःख कष्ट दिन नसकोस् भन्ने उद्देश्यले दण्डको व्यवस्था गरिएको छ ।
ज्ञान नभएर गरेको पापबाट मुक्ति प्रायश्चित्तबाट हुन्छ । जानी बुझी गरेको पापकर्मबाट मुक्ति अलग–अलग प्रायश्चित्तद्वारा हुन्छ । यद्यपि प्रायश्चित्तका लागि निर्धारित दण्ड व्यवस्था सबैका लागि समान छैनन् ।
यसरी यस संसारमा स्वस्थ वातावरण निर्माण गर्न सकिन्छ । यही चिन्तन हरेक मानवमा हुनु आजको आवश्यकता हो । यही रहस्य बुझ्न हामीले अग्रसर हुनुपर्छ । तब पो मानव चोलाको सार्थकता देखिन्छ र संसारको वास्तविकता बुझिन्छ ।
लेखक नेपाल संस्कृत विश्वविद्यालयका पि एच डि का शोधार्थी हुन् ।