site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा अध्यक्षमा गठबन्धनको रणनीति नियाल्दै एमाले

काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले) राष्ट्रियसभा अध्यक्षका विषयमा ‘पर्ख र हेर’ को नीतिमा देखिएको छ । 

सत्ता गठबन्धनका दलबाट उमेदवार प्रस्तुत भएपछि मात्रै निर्णय गर्ने पक्षमा एमाले छ ।  राष्ट्रियसभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद फागुन २० गतेबाट बिदाइ हुँदैछन् । 

उनीहरुको रिक्त हुने स्थानमा माघ ११ गते निर्वाचन भइसकेको छ ।  निर्वाचित सांसदहरूको सपथ फागुन २१ गते हुने संसद् सचिवालयले जनाएको छ ।  एमालेबाट निर्वाचित राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका हुन् । 

उनीपछिको राष्ट्रियसभाका अध्यक्षका विषयमा दलहरू आन्तरिक छलफलमा छन् ।  राष्ट्रियसभाको सम्भावित कार्यतालिकाअनुसार फागुन २७ गते राष्ट्रियसभाको निर्वाचनको मिति र समय निर्धारण हुनेछ । 

फागुन २९ गते निर्वाचन गर्ने सम्भावित कार्यतालिका छ ।  राष्ट्रियसभाको पहिलो निर्वाचनपछि लगातार ठूलो दल रहेकोे एमालेको हैसियत अहिले फेरिएको छ ।  फागुन २१ गतेबाट ५९ सदीयस्यीय राष्ट्रियसभामा एमाले १० सिटमा सीमित रहनेछ । 

अंकगणितका हिसाबले राष्ट्रियसभामा इतिहासकै कमजोर बनेको दल एमालेले यहि स्थितिमा अध्यक्ष पद फेरि पाउने सम्भावना कमजोर देखिन्छ ।  त्यसैले पनि सत्तारुढ गठबन्धनलाई भत्काउने पक्षमा रहेको एमालेले राष्ट्रियसभा चुनावमा पनि रणनीति बनाउन सक्ने आशंका राजनीतिक वृत्तमा छ । 

तर, एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम अहिले कुनै पहल नभएको दाबी गर्छन् ।  “राष्ट्रियसभाका अध्यक्षका सन्दर्भमा हामीले अहिले कुनै पहल, प्रयास गरेका छैनौं ,” उनले बाह्रखरीसँग भने । 

राष्ट्रियसभाका अध्यक्षका उमेदवारबारे गठबन्धनका दलबाट निर्क्योल गरेपछि मात्रै पार्टीले निर्णय लिने उनले बताए । गठबन्धनबाट साझा उमेदवार बने आफूहरूको मतले परिस्थिति फरक बन्न नसक्ने स्वीकार गरे ।

“राष्ट्रियसभामा अध्यक्षको उमेदवार को हो भन्ने कुरामा पहिले सत्ता गठबन्धनबाट एउटा दृष्टिकोण आउनुपर्यो । उहाँहरु एक भएर आए एमालेको मतले फरक पार्ने परिस्थिति छैन,” उनले भने, “पहिले गठबन्धनले आफ्नो उमेदवार निश्चित गरेपछि मात्रै हामी के गर्ने भन्ने हो । राष्ट्रियसभाको अध्यक्ष जो हुने हो, उहाँको पहल के रहन्छ भन्ने कुरा हेर्नुपर्ने हुन्छ ।” 

त्यस्तै एमाले राष्ट्रियसभाका संसदीय दलका नेता देवेन्द्र दाहालले पनि गठबन्धनको निर्णय हेरेरै अघि बढिने बताए । राष्ट्रियसभा अध्यक्षमा पार्टी दाबी रहने उनको भनाइ छ । 

“गणितीय रुपमा हामी त १० सिट मात्रै हौं । हेरौं गठबन्धनले के गर्छ,” उनले भने, “हाम्रो पार्टीको फरक उमेदवार रहन पनि सक्छ ।” 

दाहालले भने अहिलेको सत्ता गठबन्धन नफेरे मुलुक नै अघि बढ्न नसक्ने जिकिर गरे ।  “गठबन्धन त नफेरी भएकै छैन । गठबन्धन नफेर्दा यो मुलुक अघि बढ्नै सक्दैन । यसका लागि पहल त रहन्छ नै,” उनले भने । 

एमाले नेताहरु सत्तारुढ गठबन्धनमा नै एकमत नरहेकाले पनि अहिले धारणा बनाउने पक्षमा नरहेको बताउँछन् ।  गठबन्धनका दलहरूको रणनीति हेरेर अघि बढ्ने उनीहरूको भनाइ छ ।   राष्ट्रियसभा अध्यक्ष संवैधानिक परिषद्को सदस्य रहने भएकाले गठबन्धनका दलहरूले आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् । 

गठबन्धनले औपचारिक रुपमा यसबारे छलफल गरिसकेको छैन ।  माघ ११ गतेको निर्वाचनको परिणामअनुसार राष्ट्रियसभाको पहिलो दल माओवादीले अध्यक्ष पार्टीले पाउनुपर्ने दाबी गरेको छ । 

माघ २३ गते बसेको पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षमा दाबी रहने बताएका थिए ।  त्यस्तै राष्ट्रियसभाको दोस्रो दल नेपाली कांग्रेसका नेताहरू पार्टीले अध्यक्ष पाउने बताउँदै आएका छन् । 

गठबन्धनमा एकखालको सहमति भएर नै नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा ल्याइएको अभिव्यक्ति शीर्ष नेताहरुले दिँदै आएका छन् ।  त्यस्तै, राष्ट्रियसभाको चौथो दल एकीकृत समाजवादीले पनि अध्यक्षमा दाबी गर्दै आएको छ । माघ ११ गतेको निर्वाचनमा मागिएको जति सिट नछुट्याइएको भन्दै अध्यक्ष पाउनुपर्ने उसको दाबी छ । 

कुन दलसँग कति मत छ ? 

राष्ट्रियसभामा फागुन २१ गतेबाट कायम गणितीय हिसाब फेरिने छ ।  जसअनुसार माओवादी मनोनीत र राष्ट्रियसभा उपाध्यक्षसहित १८ सदस्यीय हुनेछ ।  कांग्रेससँग १६ मतदाता हुनेछन् । प्रतिपक्षी एमालेसँग १० मत हुनेछ ।  

सत्ता साझेदार एकीकृत समाजवादीसँग ८,जसपा ३, लोसपा १, राष्ट्रिय जनमोर्चा १ सदस्य रहनेछन् । 

राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम रहेका छन् ।  एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन् । जुन बाँकी छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro