
काठमाडौं । नेकपा (माओवाद केन्द्र)को विधान सम्मेलनमा समूहगत छलफलको निष्कर्ष आजबाटै सुनाइने भएको छ । आज दिउँसो २ बजेबाट समूहगत छलफलको निष्कर्ष सुनाइने पार्टीका कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
विधान मस्यौदामाथि छलफलका लागि प्रतिनिधिहरूलाई मंगलबार २० समूहमा विभाजन गरिएको थियो । उनीहरूलाई छलफलका लागि आज दिउँसो १ बजेसम्मको समय तोकिएको थियो । दिउँसो २ बजेबाट सुरु हुने बैठकमा टोली नेताले निष्कर्ष तथा सुझाव सुनाउनेछन् ।
“दिउँसो २ बजेबाट समूहगत छलफलको निष्कर्ष सुनाउने तय भएको छ,” उनले बाह्रखरीसँग भने, “भ्याए सबै समूहले आजै सुझाव तथा निष्कर्ष सुनाउँछन् । नभए, बाँकी रहे भोलि सुनाउँछौँ । र, सम्मेलन भोलि समापन हुनेछ ।” विधान सम्मेलन कमलादीस्थित प्रज्ञा भवनमा भएको हो ।