site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा लगानी गर्न विदेशी बढी इच्छुक : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा उनले यस्तो बताएका हुन् ।

विगतमा विदेशी लगानीकर्ता नेपाल आफैँ सम्पर्कमा जाँदा समेत उदासीन हुने गरेको उनले उल्लेख गरे । अहिले लगानी गर्न उनीहरू आफैँ खोज्दै आइरहेको अर्थमन्त्रीको भनाइ छ ।

उनले विदेशी लगानीकर्ता इच्छुक भएको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए । आउँदो वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई ‘ग्रान्ड सक्सेस’ बनाउन उनले आग्रह गरे ।

अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताए । सो सम्मेलन नेपालमा हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने उनले सुनाए ।

“...अहिलेसम्म नेपालमा भएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन त्यो हुँदै छ । ९२ भन्दा बढी देशको प्रतिनिधित्व हुन्छ,” उनले भने, “वर्ल्ड बैंकका प्रेसिडेन्टलगायतको उपस्थिति हुन्छ र अन्य महत्त्वपूर्ण संस्थाको उपस्थिति हुन्छ । त्योभन्दा अघि हामी लगानी सम्मेलन पनि वैशाख १६ र १७ गते गर्दै छौँ ।”

उनले सो सम्मेलनमा ९२ देशका प्रतिनिधि, विश्व बैंकका प्रमुखको उपस्थिति रहने जानकारी दिए । लगानी सम्मेलनले नेपाली लगानीकर्तालाई पनि उत्साहित बनाउन जरुरी रहेको उनले बताए ।

“...यो उपलब्धिमूलक बनाउँदा नेपालमा बृहत् मल्टिल्याटर, बाइल्याटर मात्रै होइन, निजी लगानीको दायरा पनि व्यापक रूपमा बढ्ने सम्भावना छ,” उनले भने, “यसमा हामीले अलिकति छाती फाराकिलो गर्नुपर्ने आवश्यकता छ । लगानी आयो भने त्यसबाट लिने हो । आउँदै आएन भने के लिने ?”

कार्यक्रममा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले लगानी सम्मेलनलाई सहज बनाउन केही नेपाल ऐन संशोधन भनेर अघि बढाई संसद्बाट पारित गर्नुपर्ने बताए । 

“...लगानी सम्मेलनका लागि केही नेपाल ऐन संशोधन भनेर भन्नुपर्छ । लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक भनेर केही लैजान सकियो भने राम्रो हुन्छ,” उनले भने, “लगानीसँग सम्बन्धित बेसिकल्ली उद्योग मन्त्रालय हुन्छ । उद्योग मन्त्रालयले यो विषय इनिसेटिभ गरेर लैजान सकियो भने एकैपटक पास गर्न सकिन्छ ।”

बैठकमा निर्देशक समिति बैठकको निर्णय कार्यान्वयन प्रगति सम्बन्धमा भएका काम–कारबाहीबारे जानकारी गराइएको थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro