
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद सर्वेन्द्रनाथ शुक्लले भातरसँगको विद्युत् व्यापार सम्झौताले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीको ढोका खोलिदिएको बताएका छन् । संसद्को विशेष सयममा दलीय आधारमा बोलेका शुक्लले विद्युत् उत्पादन भएर पनि बजार अनिश्चित भएको विगतको अवस्थालाई सम्झौताले सुनिश्चितता प्रदान गरेको बताए ।
“भारतसँगको विद्युत् व्यापार सम्झौताले राष्ट्रिय/अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्छ । अर्थतन्त्रको बहुआयामिक विकासको ढोका पनि यसले खोलेको छ,” शुक्लले भने, “अब साँचो प्रयास, सकारात्मक सोच र देशप्रतिको इमान्दारिता जरुरी छ ।”
उनले देश विकासमा छलाङ लगाउने समय आएको भन्दै त्यसका लागि भारतीय विदेशमन्त्रीको भ्रमणमा भएको सम्झौता महत्त्वपूर्ण हुने बताए ।
“अब देश विकासमा छलाङ लगाउनुपर्ने आवश्यकता छ । हामीले छिमेकी र अन्य देशसँग सहयोग मागिरहेको अवस्था थियो,” उनले भने, “मित्र राष्ट्र भारतबाट सहयोग आइरहेको थियो । हाम्रो आवश्यकता पनि बढ्यो, योजनाको संख्या बढेको छ । विदेशमन्त्रीको भ्रमणमा विगतको पाँच करोडको सीमा २० करोडमा पुगेको छ । हामी सबै त्यसको कार्यान्वयनमा लागौँ ।” उनले नेपालको छनौटमा भारतले लगानी गर्ने भन्दै यसलाई अन्यथा व्याख्या गर्नु जरुरी नभएको बताए ।
“यसमा संघीय मामिला र अर्थ मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय गएको छ । हाम्रो छनौटमा भारतले गर्ने लगानी स्वागतयोग्य छ,” उनले भने, “आवश्यकता, स्थान र परियोजना छनौट नेपालको भएकाले अरु कुरा घुस्ने सम्भावना म देख्दिनँ ।”