site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले धादिङमा किचलो : अध्यक्ष ओली निर्देशनको पर्खाइ 

काठमाडौं । नेकपा (एमाले) धादिङको विवाद छताछुल्ल भएको छ । यही माघ १९ गतेदेखि सुरु जिल्ला अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलको विषयको विवादले अधिवेशन अन्योलपूर्ण बनेको हो ।

अधिवेशनमा कुटाकुटकै अवस्था सिर्जना भएको छ । प्रदेश अध्यक्ष कैलाश ढुंगेल आइतबार बिहान अधिवेशन स्थगित भएको विज्ञप्ति निकालेर काठमाडौं फर्किएका छन् ।

‘काउन्टर’मा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले अधिवेशन स्थगित नभएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

धादिङमा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूबीच नै प्रतिस्पर्धा छ । अध्यक्षमा त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन् । त्रिपाठीले प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै अधिकारीलाई साथ दिएका नेताहरू असन्तुष्ट देखिएका हुन् ।

अधिकारीलाई प्रदेश अध्यक्ष ढुंगेल, खेम लोहनीलगायत नेताको साथ छ । लोहनीले प्रतिनिधिको अन्तिम नामावलीबारे अन्योल रहेको बताए ।

“प्रतिनिधि उपस्थित गराउने सवालमा विवाद पहिलेदेखि नै भएको थियो । भूगोलबाट आएका प्रतिनिधिहरूमा कुनै विवाद थिएन,” उनले बाह्रखरीसित भने, “जनसंगठन, विभाग र कमिटीबाट मनोनयन गर्ने विषयमा विवाद थियो । अध्यक्षले त्यसमा एकलौटी गर्नुभयो । प्रतिनिधिको अन्तिम नामावलीको रजिस्ट्रर गर्ने विषयमा विवाद थियो । अहिलेसम्म पनि को–को भन्ने धेरै बाहिर आएको छैन ।”

अध्यक्षमण्डलमा पनि विवाद भएकाले अधिवेशन स्थगित गरिएको उनले सुनाए । जिल्ला अध्यक्षले निकालेको विज्ञप्तिबारे माथिल्लो कमिटीको अध्यक्षको निर्देशन मान्नुपर्ने उनको भनाइ छ ।

“जिल्ला अध्यक्षले अरूको कुरा नसुनेको होला । पार्टीका प्रदेश इन्चार्जले स्थगित गर्नुभएको छ,” उनले भने, “हाम्रो पार्टी जनवादी केन्द्रीयतामा चल्छ । माथिल्ला कमिटीको निर्देशन तल्ला कमिटीले मान्नुपर्छ ।”

अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले मनोनीत प्रतिनिधि र अध्यक्षमण्डल सर्वसम्मतिले टुंग्याइएको जिकिर गरे । अधिवेशनअन्तर्गत आइतबार बिहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी हुँदा प्रदेश अध्यक्षले विज्ञप्ति सार्वजनिक गरेको उनले बताए । आफूहरू छलफलमा नै रहेको उनले जानकारी दिए ।

पार्टी अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसँग छलफल गरेर अधिवेशन सञ्चालन गरिने उनले बताए । “प्रदेश अध्यक्षले कहाँबाट विज्ञप्ति जारी गर्नुभयो रे भन्ने सुनेँ । हामी छलफलमा नै छौँ,” उनले भने, “पार्टी अध्यक्ष र महासचिवसँग छलफल गरेर अधिवेशन चलाउँछौँ ।”

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro