site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पश्चिमी वायुको प्रभाव : काठमाडौंसहित धेरै स्थानमा पानी पर्ने 

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा हुने भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । यो वर्ष अहिले पुनः पश्चिमी वायुको प्रणाली भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले बादल लाग्न सुरु भइसकेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । यो प्रणालीले आइतबार (भोलि) वर्षाको सम्भावना बढाएको उनले बताए ।

“पश्चिमी वायुको प्रभाव छ, सुदूरपश्चिमतिर अहिले (शनिबार साँझ)देखि नै बादल लाग्न सुरु भइसकेको छ,” उनले बाह्रखरीसित भने, “यसले वर्षा गराउने सम्भावना छ ।”

Dabur Nepal
NIC Asia

सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णालीका केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने अनुमान गरिएको उनले बताए ।

मधेसबाहेक अरू प्रदेशमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । मधेस प्रदेशमा वर्षाको सम्भावना खासै नरहेको उनको भनाइ छ ।

मधेस प्रदेशमा बदली भने हुने उनले बताए । “मधेसमा बदली हुन्छ, तर वर्षाको सम्भावना देखिएको छैन,” उनले भने, “वर्षा भइहाले पनि कतैकतै छिटपुट मात्र हुन सक्ला ।”

काठमाडौंमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । काठमाडौंमा शनिबार रातिदेखि आंशिक बदली र आइतबार वर्षा हुने उनले बताए ।

“काठमाडौंमा पनि वर्षाको सम्भावना छ । विशेष गरेर भोलि (आइतबार) दिउँसो हल्का वर्षाको सम्भावना देखिन्छ,” मौसमविद् लामिछानेले भने ।

उनका अनुसार, अहिले पश्चिमी वायुको प्रभाव खासगरी आइतबार दिउँसो बढी पर्नेछ । आइतबार रातिसम्म यसको प्रभाव रहने र सोमबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने उनले उल्लेख गरे ।

“यसको प्रभाव आज रातिदेखि भोलि, विशेष गरेर भोलि दिउँसो र रातिसम्म रहनेछ,” उनले भने, “त्यसपछि क्रमिक रूपमा सुधार हुँदै जानेछ ।”

यसबाहेक वर्षा गराउने तत्काल अर्को प्रणाली नदेखिएको उनले बताए । “हामीले तीन दिनसम्मको हेर्ने गर्छौँ,” मौसमविद् लामिछानेले भने, “अहिले हेर्दा वर्षा गराउने तत्काल अर्को सिस्टम देखिएको छैन ।”

पानी पर्ने भएकाले आइतबार देशभर चिसो बढ्ने उनले बताए । वर्षा रोकिएसँगै विस्तारै तापक्रममा सुधार हुँदै जाने उनको भनाइ छ ।

महाशाखाले शनिबार साँझ जारी गरेको बुलेटिनको ‘चेतावनी तथा परामर्श’मा उल्लेख छ, “कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै वाग्मती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro