site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१९ महिला च्याम्पियनसिप : पहिलो खेलमा बंगलादेशसँग नेपालको हार

काठमाडौं । साफ यू–१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली युवा महिला टिम घरेलु टोली बंगलादेशसँग ३–१ ले पराजित भएको छ ।

शुक्रबार ढाकास्थित मुस्ताफा कमल रंगशालामा बंगलादेशले नेपालविरुद्ध पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको ४०औँ मिनेटमा एमएसटी सागोरिकाले सहज गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । पहिलो गोल गरेको तीन मिनेटमै बंगलादेशले दोस्रो गोल गर्‍यो । नेपाली अनियन्त्रित रक्षापंक्तिको फाइदा उठाउँदै बंगलादेशकी मुन्की अख्तरले घरेलु टिमको अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफको ५४औँ मिनेटमा सुप्रिया मियाले नेपालका लागि गोल फर्काइन् । 

तर, त्यसको तीन मिनेटमै बंगलादेशले अर्को गोल गर्‍यो । बंगलादेशकी एमएसटी सागोरिकाले दोस्रो गोल गर्दै घरेलु टिमलाई ३–१ को अग्रतामा राखिन् ।

नेपालले अब आफ्नो दोस्रो खेलमा आइतबार भुटानसँग खेल्ने छ ।

भुटानले शुक्रबारै भएको खेलमा भारतविरुद्ध १०–० को लज्जास्पद पराजय बेहोरेको छ ।

प्रतियोगितामा यसपटक बंगलादेश, नेपाल, भारत र भुटानले सहभागिता जनाउँदा पाकिस्तान, श्रीलंका र माल्दिभ्स अनुपस्थित छन् ।

सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  २२:१९
प्रतिक्रिया दिनुहोस्