
काठमाडौं । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । समग्रमा २१ अन्डर २६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई दुई स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन् । राहुलले बिहीबार ५–अन्डर ६७ को स्कोर गरे ।
राहुलले यो सिजनको दोस्रो उपाधि जिते । यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए ।
समग्रमा १९–अन्डर २६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए । उनले बिहीबार ८–अन्डर ६४ को स्कोर गरे । प्रोतर्फ पहिलो भएका उनले नगद तीन लाख प्राप्त गरे । एमेच्योर सद्भाव आचार्य समग्रमा १८–अन्डर २७० को स्कोरमा तेस्रो भए । उनले आज ५–अन्डर ६७ को स्कोर बनाए । उनी एमेच्योरतर्फ दोस्रो भए ।
साविक विजेता सुवास तामाङ समग्रमा १५–अन्डर २७३ सहित चौथो भए । उनले इभन–पार ७२ स्कोर गरे । प्रोतर्फ उनी दोस्रो हुँदा नगद एक लाख ८५ हजार प्राप्त गरे । भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४–अन्डर २७४ सहित पाँचौँ स्थानमा रहे । उनले ६–अन्डर ६६ को उत्कृष्ट स्कोर गरे । एमेच्योरतर्फ उनी तेस्रो भए ।
धरानका प्रो नीरज तामाङले १–ओभर ७३ स्कोर गरे । समग्रमा १०–अन्डर २७८ सहित छैटौँ भए । प्रोतर्फ तेस्रो भएका उनले एक लाख २५ हजार नगद हात पारे । उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन् । उनले यो सिजन तीन उपाधिसहित सर्वाधिक आठ लाख ६७ हजार ५०० नगद पुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए ।
दिनेश प्रजापति समग्रमा ९–अन्डर २७९ को स्कोरमा सातौँ भए । उनले २–अन्डर ७० स्कोर गरे । दिनेशले प्रोतर्फ चौथो हुँदै नगद एक लाख पाँच हजार प्राप्त गरे । शुक्रबहादुर राई समग्रमा ८–अन्डर २८० सहित आठौँ भए । आज ५–अन्डर ६७ स्कोर गरे । प्रोतर्फ पाँचौँ भएका उनले नगद ९२ हजार हात पारे ।
समग्रमा ३–अन्डर २८५ को स्कोरमा प्रो सञ्जय लामा र एमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्त रूपमा नवौँ स्थान बाँडे । सञ्जयले इभन–पार ७२ र वाङ्चेनले २–अन्डर ७० मा आजको खेल सकाए । प्रोतर्फ छैटौँ भएका सञ्जयले ८४ हजार प्राप्त गरे । यस्तै, रवि खड्का, धनबहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट १० मा रहे ।
तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाइनमा बोगीरहित ५–अन्डर ३१ स्कोर गरे । उनले पहिलो, तेस्रो, छैटौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । ११औँ र १२औँ होलमा पनि एक–एक सट बचाउँदा २३–अन्डरमा स्कोर पुर्याइसकेका थिए । तर, ४–पारको १४औँ होलमा डबल बोगी खेप्दा ब्याकनाइन इभन–पार ३६ मा सकाए ।
भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे । चौथोँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए । यसपछि ११औँ, १२औँ, १५औँ र १७औँ होलमा एक–एक सट बचाए । १४औँ होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे ।
सद्भावले फ्रन्ट नाइनमा इभन–पार ३६ खेले । तेस्रो होलमाडबल बोगी खेपे । छैटौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दा आठौँ होलमा एक सट खेर फाले । यसपछि १२औँ होलमा इगलको सफलता प्राप्त गर्दा ११औँ, १४औँ र १५औँ होलको बर्डीले ब्याकनाइन ५–अन्डर ३१ मा सकाए ।
विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए)का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।
एनपीजीएद्वारा आयोजित चारदिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी थियो । जहाँ ३७ प्रोर १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागिता जनाएका थिए ।
अब, शनिबार प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ ३० प्रोफेसनलर १२० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।