काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सबै प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताएका छन् ।
‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत नेपाली कांग्रेस जिल्ला कार्यसमिति, रूपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यक्रममा निधिले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताए ।
उनले संविधानमा लेखिएका अधिकार प्रदेशलाई दिएर अधिकारसम्पन्न बनाउनुपर्ने बताए ।
निधिले संघीय प्रणाली अन्तर्गतका बाँकी र तत्काल गर्नुपर्ने कामहरू सम्पन्न गर्न प्रधानमन्त्रीलाई भेटेर सुझाव दिएको पनि बताए ।
रूपान्तरण केन्द्रबाट प्रदेश र प्रदेशबाट स्थानीय तह, वडा र जनतामा हुनुपर्ने उनको भनाइ छ ।
उनले स्थानीय तहले पाउनुपर्ने सम्पूर्ण अधिकार दिनुपर्ने र कतिपय कामका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा जोड दिए ।