
काठमाडौं । प्रतिपक्ष दलले ‘पहिलो चरण’को बैठकबाट तीनबुँदे निर्णय गरेका छन् । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने आफ्नो अडान उनीहरूले कायम राखेका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा मंगलबार (जेठ २०) विपक्षी दलका नेताको बैठक बसेको थियो । बैठकबाट तीनबुँदे ‘निष्कर्ष’ निकालिएको हो । उनीहरूले यसलाई पहिलो चरणको बैठक भनेका छन् ।
भिजिट भिसा प्रकरणको छानबिनका निम्ति उच्चस्तरीय आयोग बनाउनुपर्नेमा विपक्षीले जोड दिएका छन् । उक्त विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमा प्रतिबद्धता व्यक्त गर्नुपर्ने पनि उनीहरूको माग/निष्कर्ष छ ।
उक्त निष्कर्षसहित प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी बैठकमा सहभागी हुन गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
विपक्षीको निष्कर्ष पढ्नोस्–
१. उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन, २०६४ आएपश्चात्को समयदेखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैँको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने ।
२. आवश्यक छानबिन गर्नको लागि मार्गप्रशस्त गर्न वर्तमान गृहमन्त्रीज्यूले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ ।
३. यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीज्यूले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने ।