site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२६ वर्षीय साहको अपराध यात्रा : दुई वर्षमा एक अर्ब ४९ करोडको कारोबार, १५ बैंकको खाता प्रयोग

काठमाडौं । विभिन्न व्यक्तिबाट ठगी गरिएको रकम जम्मा गरेर व्यवस्थापन गर्न सप्तरीको राजविराजमा कार्यालय नै स्थापना भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्यालय नै खोलेर रकम जम्मा गर्ने र सो रकम व्यवस्थापन गर्ने समूहका मुख्य नाइके पक्राउ गरेसँगै उक्त तथ्य खुलेको हो ।

प्रहरीले आर्थिक अपराधमा संलग्न सप्तरीको राजविराज नगरपालिका–१० का २६ वर्षीय डम्बर साहलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले सोमबार पाँचथरबाट पक्राउ गरेर ल्याइएको कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

साहलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ । एसएसपी राठौरका अनुसार साहको नाममा रहेको बैंक खातामा ठगीमा परेका पीडितहरूले रकम जम्मा गरेको उजुरी दिएपछि उनीबारे प्रहरीले अनुसन्धान गरेको हो ।

प्रहरीको अनुसन्धानबाट साहले राजविराजमा उद्गम भेन्चर क्यापिटल र प्रोफिस्ट ग्रुप एण्ड डम्बर साह कार्यालय खोलेर ठगीबाट आएको रकम व्यवस्थापन गर्ने गरेको खुलेको हो । त्यसका लागि उनले उद्गम भेन्चर क्यापिटल नामबाट चारवटा बैंक खाता खोलेको खुलेको छ ।

विभिन्न बैंकको चारवटा खाताका ६ जुलाई २०२२ देखि २९ जुन २०२३ सम्म ९१ करोड ६२ लाख ३८ हजार ६०९ रुपैयाँको कारोबार भएको देखिएको छ ।

त्योबाहेक साहले आफ्नो नामबाट समेत विभिन्न ११ वटा बैंकमा खाता खोलेर ५८ करोड ३५ हजार ६३४ रुपैयाँको कारोबार गरेको खुलेको छ ।

प्रहरीको अनुसन्धानबाट साहले २९ जुन २०२१ देखि २२ जुन २०२३ सम्म उक्त रकम ट्रान्जिट भएको देखिएको हो ।

प्रहरीको अनुसन्धानमा साहले आफ्नो नामको खाता र उद्गम भेन्चर क्यापिटलको नामबाट कुल  एक अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४९ रुपैयाँको कारोबार गरेको खुलेको छ ।

अवैध रकम कारोबार गर्न उनले क्यापिटल र प्रोफिस्ट ग्रुप एण्ड डम्बर साह नामबाट प्यानकार्ड समेत लिएको देखिएको छ । तर, दुई वर्षको अवधिमा उद्गम भेन्चरमा २८ हजार ७५० रुपैयाँ कर तिरेको र प्रोफिस्ट ग्रुपको प्यान नम्बरमा ५७५ रुपैयाँ कर तिरेको देखिएको छ । पक्राउ परेका साहको साथबाट प्रहरीले ल्यापटप र विभिन्न ब्रान्डका मोबाइल बरामद गरेको छ । 

कसरी जम्मा हुन्थ्यो साहको खातामा रकम ?
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले साहमाथि अनुसन्धान गरेको हो ।

कार्यालयमा रकम ठगी भएको भनेर आउने अधिकांश पीडितले साहको नाममा खाता खोलिएको बैंकमा रकम जम्मा गरेको उजुरी दिएका थिए । सोही उजुरीपछि अनुसन्धान गर्दै जाँदा साहको खातामा अर्बौं रकमको ट्रान्जिट भएको खुलेको हो ।

अनुसन्धानमा खटिएका निरीक्षक थापाका अनुसार ह्वाट्सएप, फेसबुक, भाइबर जस्ता विभिन्न सामाजिक सञ्जालमार्फत पार्सल पठाइदिन्छु भनी ठगी गर्ने समूहले साहको बैंक खाता नम्बर दिने गरेका थिए ।

त्यसको लागि उनले आफ्नो बैंक खाता नम्बर फेसबुकमार्फत सार्वजनिक गर्ने गरेका थिए । ठगी गर्ने गिरोहले त्यसरी खाता पाएपछि उनकै अकान्टमार्फत कारोबार गर्ने गरेको खुलेको हो ।

त्यो कारोबार गरेबापत साहले कमिसन लिएर ठगी गर्ने गिरोहलाई रकम हस्तान्तरण गर्ने गरेका थिए । प्रहरीका अनुसार ठगी भएर आएको रकम साहले नगद दिने तथा अवैध आर्थिक कारोबार क्रिप्टो खरिदमा समेत प्रयोग गर्न लगाउने खुलेको छ ।

प्रहरीका अनुसार साहले हरेक ट्रान्जिटबापत ३०० रुपैयाँ माथिका दरले लिने गरेको बयान प्रहरीलाई दिएका छन् । साहको अवैध कारोबारसँग मिथलेशकुमार मण्डलको समेत संलग्नता देखिएको छ ।

उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । मण्डलसहित अन्य सातजना क्रिप्टो कारोबारमा जोडिएको आरोपमा पक्राउ परेका आरोपी हुन् । उनीहरूमाथि प्रहरीले अवैध आर्थिक कारोबार तथा ठगी मुद्दामा अनुसन्धान जारी राखेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro