site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समिति बैठकमा अनि हाँसो गुन्जियो

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको आजको बैठक स्थगित गरिएको छ । मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी निर्धारित बैठक स्थगित गरिएको हो ।

बैठकका निम्ति सुरक्षण मुद्रण विधेयकमाथि छलफल र विविध गरी दुई कार्यसूची तय थियो । तर, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अनुपस्थितिका कारण बैठक स्थगित गरिएको समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

त्यसअघि, सभापति जोशीले बैठक सुरु गर्नै लाग्दा नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रतिनिधिसभा नियमावली ‘हेर्न’ आग्रह गरेका थिए । विधेयकमाथिको छलफलका क्रममा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने नियमावलीमा व्यवस्था छ ।

नियमावलीमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको उल्लेख भएको व्यवस्थाबारे समितिका सचिवले पढेर सुनाए । त्यसपछि बैठक हलमा एकछिन हाँसो गुन्जियो ।

स्वास्थ्य समस्याका कारण सञ्चारमन्त्री शर्मा बैठकमा उपस्थित हुन नसकेको सभापति जोशीले जानकारी गराए ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्