site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कर्मचारीको झगडाले विमानस्थलको छवि बिग्रने खतरा 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणको हुने गर्छ । विमानस्थलमा हाल राज्यका तीन निकाय पर्यटन, गृह मन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारी छन् । 

उनीहरूको काम, कर्तव्य र भूमिका फरक–फरक छ । पर्यटन मन्त्रालयअन्तर्गतको प्राधिकरणका कर्मचारीले विमानस्थलको व्यवस्थापन र सञ्चालन गर्छन् ।

गृह मातहत प्रहरी र अध्यागमन रहन्छन्, जसले सुरक्षा र भिसा हेर्छन् । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार कर्मचारीले भन्सार चेकजाँच गर्छन् ।

पछिल्लो समय तीन मन्त्रालयका कर्मचारीबीच उत्पन्न मनमुटावले विमानस्थलमा समस्या पैदा हुने देखिएको छ । कहिले प्रहरी र अध्यागमन कर्मचारी त कहिले भन्सार र अध्यागमन कर्मचारीबीच मनमुटाव देखिएको छ ।

केही समयअघि भन्सारबाट फुत्किएको ‘ब्रेक सु’भित्रको सुन प्रहरीले बरामद गरेपछि उनीहरूबीच ‘शीतयुद्ध’ चलेको थियो । उक्त मनमुटावले ठूलो रूप लिँदा गएको शुक्रबार अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट नै भयो ।

शुक्रबार दिउँसो विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच हात हालाहाल भएको थियो । प्रहरीका अनुसार, अध्यागमनका कर्मचारी र प्रहरीबीचको टकराबको नाभी भने भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा)सँग जोडिएको छ ।

भिजिट भिसामा खाडी मुलुक जाने तर अवैध तरिकाले उतै लुक्ने घटना बढेपछि नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सक्रियता बढाएको छ । भिजिट भिसामा जाने यात्रुमाथि चेकजाँचमा कडाइ मात्र गरिएन, त्यसको ‘सेटिङ’मा संलग्न अध्यागमनका कर्मचारीलाई पक्राउ गरियो ।

नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान कार्यालयको टोलीले मंसिर २६ गते अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो । नक्कली कागजातका आधारमा भिजिट भिसा बनाउँदै पठाउने गिरोहमाथि काठमाडौं प्रहरीले किर्ते तथा संगठित अपराधमा अनुसन्धान गरेको थियो । संगठित अपराधमा मुद्दा चलाउन काठमाडौं प्रहरीले आइतबार अनुुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

पक्राउ परेका अध्यागमन अधिकृत खड्का, अध्यागमनबाट हाल सरुवा भई गृह मन्त्रालय पुगेका अधिकृत ताराबहादुर कुँवरसहित अरू सात कर्मचारीलाई प्रतिवादी बनाइएको छ । त्यही कारण विमानस्थल अध्यागमनका कर्मचारी प्रहरीसँग असन्तुष्ट छन् ।

पक्राउ परेका अध्यागमनका अधिकृत खड्काले भिजिट भिसामा जानेहरूसँग सेटिङ मिलाएर रकम उठाउन छुट्टै ‘टिम’ बनाएको र त्यो सबै कर्मचारीले बाँडेर लिने गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रहरीले मंसिरमा मात्र भिजिट भिसामा सेटिङ गरेर पठाउने अध्यागमनका कर्मचारी, ट्राभल, कन्सल्ट्यान्सी र म्यानपावरका सञ्चालकसहित ३२ जनाभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाएको थियो ।

नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूबाट अध्यागमन विभागका कर्मचारीले घुमाउरो बाटोबाट एक दिनमै करोड रुपैयाँसम्म उठाउने गरेको प्रहरीको दाबी छ । यही मनमुटावका कारण शुक्रबार अध्यागमन कर्मचारी र प्रहरीबीच हात हालाहालको माहोल बन्यो ।

गएको पुस १८ गते पनि विमानस्थल अध्यागमनका कर्मचारीले हड्ताल गरेका थिए । भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै कर्मचारी हड्तालमा उत्रिएका थिए ।

उनीहरू पुस १८ गते बिहान ११ देखि मध्याह्न १२ः३० बजेसम्म कार्यकक्षमा उपस्थित भएनन् । त्यसै दिन साँझ ५ बजेपछि पनि अध्यागमनको भन्सार चेकजाँचमा रहेका कर्मचारी कार्यकक्षमा उपस्थित भएनन् । त्यसको प्रत्यक्ष मारमा यात्रु परे ।

भन्सार बन्द हुँदा विमानस्थलमा यात्रुले सास्ती भोग्नुपर्‍यो । भन्सार चेकजाँच गर्ने ठाउँमा कर्मचारी नहुँदा यात्रु विमानस्थल बाहिरै उभिए । भित्रका यात्रु पनि बाहिर आउन पाएनन् ।

विमानस्थलको छवि बिग्रँदै
यस्ता घटनाले अन्तर्राष्ट्रियस्तरमै नराम्रो सन्देश गएको विमानस्थलका एक उच्च अधिकारीले बाह्रखरीसँग बताए । व्यक्तिगत विवादले ठूलो रूप लिँदा ‘एयरपोर्ट अपरेसन फ्यासिलिटी’मा असर पर्न सक्ने ती उच्च अधिकारीको भनाइ छ ।

बारम्बार यस्ता विवादले एयरपोर्ट सेवा सुरक्षामा असर पर्ने उनले बताए । यसले विमानस्थलको छवि बिग्रने उनले सुनाए ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro