site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दुई शतक बनेको खेलमा मधेसले सुदूरपश्चिमलाई हरायो 

काठमाडौं । दुई शतक बनेको खेलमा मधेस प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध ८० रनको फराकिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा मयन यादवले शतक बनाएपछि टस जितेर ब्याटिङमा आएको मधेसले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१९ रनको योगफल खडा गरेको थियो । ३२० रनको लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिमबाट नरेन भट्टले शतक बनाए पनि टिमको हार टार्न भने सकेनन् । सुदूरपश्चिमले ४४.५ ओभरमा सबै विकेट गुमाएर २३९ रनमात्र जोडेपछि मधेसले ८० रनको जित दर्ता गरेको हो । 

सुदूरपश्चिमका नरेनले १२२ बलमा १३ चौका र एक छक्कासहित १२१ रन बनाए । नरेनबाहेक अन्यले भने उल्लेख्य योगदान पुर्‍याउन सकेनन् । नारायण जोशीले २६, किरण ठगुन्नाले २०, खड्क बोहराले १४ र गजेन्द्र बोहराले १२ रन थपे ।

मधेसका राजेश यादव र प्रदीप पासवानले समान तीन विकेट लिए । रञ्जित कुमारले दुई विकेट लिँदा हरिशंकर साह र पवन सर्राफले समान एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङमा आएको मधेसको खातामा मयनले ११५ रन जोडे । उनले १२८ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । पवन सर्राफले ६३ बलमा समान चार चौका र छक्कासहित ७० रन थपे । अनिल साहले ६९, रुपेश सिंहले २१, अभिषेक तिवारीले १६ र कप्तान हरिशंकर साहले १४ रन जोडे ।

सुदूरपश्चिमका शेर मल्लले चार विकेट लिए । विकाश आग्रीले दुई विकेट लिँदा नारायण जोशी र गजेन्द्र बोहराले समान एक विकेट हात पारे ।

जितसँगै ६ खेलबाट आठ अंक जोडेको मधेस तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चार खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम तालिकाको चौथो स्थानमा छ । प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो जित हो ।

सोमबार नै भएको अर्को खेलमा ललितनारायण राजवंशी चम्किँदा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपीएफ क्लबविरुद्ध ५८ रनको जित निकालेको छ । 

सिद्धार्थनगरमा सम्पन्न खेलमा ललितले पाँच विकेट लिएपछि पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याएको एपीएफ ३४ ओभरमा ८७ रनमै समेटिएको थियो । 

जितसँगै तालिकाको शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट आठ अंक जोडेको छ । समान खेलबाट चार अंक जोडेको एपीएफ तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro