site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चितुवा देखिन थालेपछि...
प्रतीकात्मक तस्बिर

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताललगायत क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए । 

उनले भने, “दिनहुँजसो चितुवा देखापर्दा सबैजना समस्यामा छन् । साँझका समयमा बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह गरेका छौँ ।” अध्यक्ष प्रधानले घर आसपास झाडी सरसफाइ गर्न सबैलाई भनिसकेको जानकारी दिए । 

स्थानीय अमिर गुरुङले टुँडिखेलमा चितुवा देखापरेकाले साँझ र बिहानको झिसमिसे उज्ज्यालोमा सतर्कता अपनाउन आग्रह गरे ।  उनले भने, “बालबालिका बढी मात्रामा चितुवाको आक्रमणमा पर्ने गरेकाले साँझ र बिहानको समयमा बढी चनाखो हुनुपर्छ ।”

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चितुवाको आक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए । पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ । मृग, वनकुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकार अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्ज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने सहायक वन अधिकृत काशीराज पण्डितले बताए ।  

जंगल फडानी गरेर बस्ती बसाल्ने, जंगली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । उनले भने, “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समयलगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छौँ । चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।” रासस

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro