site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई सुवालको सुझाव– विकास गर्न नसके राजीनामा दिनुस्
फाइल तस्बिर ।

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देश विकास नसके राजीनामा दिन सुझाव दिएका छन् । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीमा उनले यस्तो बताएका हुन् ।

केही दिनअघि राजनीतिक दलका नेताहरूको बैठक राखेर प्रधानमन्त्री बनेको एक वर्ष मात्र भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताएको उनले सुनाए । सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न उनले सुझाव दिए । अघिल्लो सरकारले गरेको भए पनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो ।

राणाशासन र पञ्चायतविरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने उनले बताए । उनले जनतालाई धोका दिएर सिंहदरबार ‘कब्जा’ गरेर नबस्न ‘चेतावनी’ दिए । नेपालका प्रधानमन्त्रीसँग देश विकासको खाका नरहेको उनले जिकिर गरे । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरूले देशलाई ‘नर्क’ बनाएको उनको आरोप छ ।

“हाम्रा प्रधानमन्त्रीहरूसँग देश विकासको खाकै छैन । अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो– अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो – प्रधानमन्त्रीको भनाइ,” उनले भने, “अघिल्लो सरकारहरूले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि, होइन भने राजीनामा दिएर घर बसे भइहाल्यो नि !”

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए । अहिलेसम्म मेलम्चीमा पानीका निम्ति ६० अर्ब खर्च भएको र अब ६० अर्ब रुपैयाँ खर्च गरे पनि काठमाडौंमा बाह्रैमास पानी नआउने उनको टिप्पणी छ ।

हेलम्बुको भूगर्भ अध्ययन गर्दा पहिरो कम गर्न नसकिने अवस्था रहेको उनले उल्लेख गरे । उनले मेलम्चीको पानी निरन्तर काठमाडौं आउने अवस्था तयार गर्न नेपालको खर्चले धान्न नसक्ने बताए । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकाले पनि पुनर्भरण नगर्दा झनै विपद्का घटना बढ्ने चेतावनी उनले दिए ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro