नवलपुर । केही दिन भयो म गाउँ आएको । आज (आइतबार) बिहान म कोल्हुवातिर जाँदै थिएँ । हुमबहादुरको फोन आयो । पछि कलब्याक गर्छु भन्ने सोचेको थिएँ । उनले फेरि मेसेज पठाए । 'दाइ यहाँ डल्फिन आएको छ तुरुन्तै आउनुस् नारायणीमा ।' मैले गाडी घुमाएँ । एउटा क्यामेरा सँधै गाडीमै रहन्छ । आधा घन्टामा म हुमबहादुरले बोलाएको ठाउँमा पुगेँ । गाडीबाट नउत्रिँदै डल्फिन निस्किएको देखेँ ।
नवलपुरको मध्यविन्दु नगरपालिका अन्तर्गत सेहरी गाउँसँगै नारायणी नदीमा हिजोदेखि नै यो डल्फिन देखा परेको रहेछ । "एक महिना अगाडि अमलटारीमा दुई वटा र यहाँ एउटा देखा परेको थियो । हिजो देखि फेरि यहीं सेहरीमा एउटा खेलिरहेको छ । यो त पोहर सालदेखि नै पटक पटक देखा पर्दै आएको छ," चोरी शिकारी नियन्त्रण इकाइका हुमबहादुर थनेत भाइले भने ।
गतवर्ष म चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्तीको अनुगमन टोलीसँग नदी किनार दुई रात बिताएको थिएँ भेलौंजी भन्ने ठाउँमा । वरपर वस्ती नभएको हुनाले त्यो ठाउँमा मानिसहरू जाँदैनन् साथै त्यो भेग निषेधित क्षेत्र पनि रहेछ ।
बाघ भालु गैंडा हात्ती जरायो गोहीको पाइलाहरू प्रशस्तै भेटिए । राति टेन्ट वरपर आगो बालेर बस्नुपर्ने ।राति आगो तापिरहँदा त सर्पो विष्णुदाइको जिउमा छिरेछ । बिहान 'ट्वाइलेट' गर्न भने निकै तनाव भयो । किनभने नदी किनारमा जाउँ भने गोही नै गोही छन्, जंगलको झाडीतिर जाउँ भने डरलाग्दा जनावर छन् ।
हामीलाई डुँगा सँगसँगै डल्फिन आउँछ भनेर सुनाएका थिए अघिल्लो दिन ।
तर ७/८ घन्टाको जलयात्रामा चखेवा, फाप्रे, जलकौवा, जलेवा, सारस, मृग, घडियाल र मगर गोही आदिबाहे डल्फिन कतै देखा परेन । सानो छँदा म यो भेग निकै डुलेको छु साथीभाइसँग । यतिखेर मसँग काठमाडौंबाट आएका साथी विकास पनि थिए । विकासलाई 'एड्भेन्चरस' घुमफिरमा अति रुची छ ।
विकासलाई डल्फिन देखाउन नपाएर मलाई पछुतो लागिरहेको थियो । सायद र्याफ्ट बोट भएर डल्फिन नआएको होला । काठको लामो डुँगा भए आउँथ्यो कि ? राति सोचेँ । भोलिपल्ट बिहानै मैले विकासलाई काठको डुँगामा घुम्न जाउँ भने । र, हामी नारायणी नदीको किनारै किनार माथितिर गयौं । विकासलाई सुनाएको त थिइन तर मनमा लागिरहेको थियो कतै देखापर्छ कि भनेर ।
सानो काठको डुँगा मैले चलाइरहेको थिएँ । विकास डुँगाको बीचमा अगाडि फर्केर बसेको थियो । सुस्तरी चलाउँदै थिएँ । करिब एक घन्टा अगाडि पुगेपछि मेरो दायाँपट्टी पानीमा छप्ल्याङ्ग गरेको सुनेँ ।
सायद पारी पट्टि जंगली हात्तीले हामीलाई देखेर स्याउला पानीमा फालेर चेतावनी देएको होला भन्ने लाग्यो । मैलै डुँगा नचलाइ विकासलाई पनि शान्त बस्न भनेँ र पारीपट्टिको जंगलतिर आँखा दौडाएँ हात्ती वा अन्य जनावर होला भनेर ।
पर परसम्म केही देखिन । एकछिन पछि त डल्फिन पो निस्कियो । अघि छप्ल्याङ्ग गर्ने पनि डल्फिन पो रहेछ । अनि विकासलाई विस्तारै भनेँ 'डल्फिन डल्फिन' । विकास पनि उत्साहित भयो "खै खै?"
मैले डुँगालाई करिब एक किलोमिटर फराकिलो नारायणी नदीको बीचमा लगेर पानीकै धारमा बग्न दिएँ । अनि त्यो डल्फिन त हाम्रो वरिपरी निस्कन थाल्यो । हामीसँगसँगै तलको हाम्रो क्याम्पसम्म पुग्यो । क्याम्पमा रहेका अन्य सदस्यले पनि निकै बेर डल्फिनको आनन्द लिए ।
आज भने गाउँमै आएको रहेछ ठुलो डल्फिन । "त्रिवेणी बाँधदेखि सिसवारसम्म नारायणी नदीमा डल्फिन देखिने गरेको छ । नारायणीमा तीन वटा डल्फिन देखिने गरेको छ विगत केही वर्षयता," बिष्णु अधिकारी दाइले सुनाए ।
उनी वन्यजन्तु संरक्षणका अभियन्ता हुन् । चोरी शिकारी नियन्त्रणका संस्थापक अध्यक्ष उनीसँग वन्यजन्तुबारे दशकौंको अनुभव छ । कुनै दिन उनीसँगको कुराकानी लेख्छु म । म भनेँ नारायणीको किनार बालुवामा क्यामेरा तेर्साएर बसेँ डल्फिन खिँच्न ।
डल्फिनलाई क्यामेरामा कैद गर्न सजिलो छैन । किनभने एकै ठाउँबाट निस्कँदैन । तीनदेखि पाँच मिनेटको अन्तरालमा कतैबाट पनि निस्कन्छ एक सेकेण्डको लागि । गतवर्ष त विकासले मात्र टाढाबाट कैद गरेको थियो ।
आज भने मेरो भाग्य बलियो रहेछ । दुई घन्टाको अन्तरालमा पटक पटक कैद भयो मानौं डल्फिनले मेरै लागि 'पोज' दिइरहेको छ ।