सवारीसाधन जुध्ने, पल्टने, सडकबाट खस्ने, मान्छेलाई किच्नेजस्ता कारणबाट औसतमा दिनहुँ करिब एक दर्जन मानिसको मृत्यु भएका समाचार हाम्रा निम्ति नियमित आकस्मिकता भएका छन् ।
गएको शुक्रबार दाङको भालुवाङमा राप्ती नदीको पुलबाट बस खसेर १२ जनाको मृत्यु भयो, चार सिकिस्त छन् । शनिबार चन्द्रागिरिमा एउटा भ्यान सडकबाट खस्दा पाँचजनाको मृत्यु भयो । शनिबार नै बागलुङको बुर्तिबाङबाट ढोरपाटनतर्फ गइरहेको जीप दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाए भने नौजना घाइते भएका छन् ।
यी र यस्ता घटनाले हामीलाई केही कुरा सिकाएको जस्तो लाग्दैन, किनभने सवारीसाधनको वृद्धिसँगै प्रत्येक वर्ष प्रतिएक लाख नेपालीमा १४ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । विकसित देशमा प्रतिएक लाखमा पाँचदेखि १० सम्म मृत्यु हुँदा नेपालमा सवारीसाधन दुर्घटनामा यति धेरै मृत्यु हुनुले हाम्रो तयारी, सरकारको बुझाइ, नियम–कानुन तथा सवारीचालकको मनस्थितिले भूमिका खेलेको कुरामा दुईमत छैन ।
हाम्रा सवारीचालकहरूले दिने ट्राफिक सिग्नलमा समेत एकरूपता छैन । दायाँ जान्छु भन्न मात्र बाल्नुपर्ने दायाँ ‘सिग्नल लाइट' ओभरटेक गर भनेर संकेत गर्न पनि बाल्ने, अर्कोतिरबाट आएको सवारीसाधनलाई साइडको संकेत गर्न पनि त्यही दायाँ साइड लाइट बाल्ने कार्यले धेरै दुर्घटना निम्त्याउँछ । साथै, सवारीसाधन चलाउँदा मादकपदार्थ सेवनमा शून्य सहनशीलता अपनाइए पनि गाँजा सेवन गर्ने चालकहरूलाई जाँच गर्ने गरिएको छैन, यो ठूला बस दुर्घटनाको प्रमुख कारण हुनसक्छन् ।
यस्तै, साना सवारीसाधनहरू धेरै गतिमा जाँदा सानो दुर्घटना हुँदा पनि ज्यान जाने जोखिम हुन्छ भन्ने साधारण ज्ञान समेत चालकहरूमा देखिँदैन । अरू सवारीसाधनलाई ‘जाऊ’ भन्न प्रयोग गरिने ‘हेड लाइट ब्लिंक’ हाम्रो देशमा ‘म जान्छु, बाटो देऊ’ भन्न प्रयोग गरिन्छ । अप्ठेरो अवस्थामा दुवैले ‘हेडलाइट ब्लिंक’ गरेर अघि बढ्न खोज्छन्, जसले दुर्घटना निम्त्याउँछ । संसारमा कहीँ पनि ब्लिंक गर्नुको अर्थ ‘मलाई जान देऊ’ भन्ने हुँदैन, बरु ‘तिमी जाऊ मैले छोडेँ’ भन्ने अर्थ लाग्छ ।
सहरी क्षेत्रमा लेन छुट्ट्याउने सिधा लाइन वा डटेड लाइनको प्रयोगमा कसैले अनुशासन पालना गरेको देखिँदैन । सडकमा सिधा गइरहेको, मूल बाटोमा रहेको साधनलाई पहिले जान दिनुपर्छ भन्ने ज्ञान छैन, जसले अघि बढाउन सक्यो उसैले जान पाउनुपर्छ भन्ने जबरजस्तीले पनि धेरै दुर्घटना निम्त्याउँछ ।
सहरी क्षेत्रमा मात्र होइन, राजमार्गमा पनि सडक खराब हुँदा धेरै दुर्घटना भएका छन् । सहरी क्षेत्रमा बाटो खराब भएका कारणले धेरै सवारीसाधन आपसमा ठोक्किने, मानिसलाई धक्का दिनेजस्ता घटना निरन्तर भई नै रहेका छन् । राजमार्गमा बाटो बिग्रेको संकेत नराख्दा द्रुत गतिमा कुदेको सवारीसाधन एउटा सानो खाल्डोमा परे पनि ठूलो दुर्घटना हुनसक्छ । यसमा चालक र सडकमा नियम लागु गर्ने सरकारी निकायले यथोचित ध्यान नदिएको बुझिन्छ ।
सडक ज्ञानको कमीले गर्दा दुर्घटना बढिरहेका छन्, कतिपयले ज्यान गुमाएका छन् भने धेरै मानिस अंगभंग भएका छन् । त्यसैले सहजै भन्न सकिन्छ कि राज्यले सडक दुर्घटनामा कमी ल्याउन चालेका कदम प्रभावकारी भएनन् । यिनलाई प्रभावकारी बनाउने भनेको सवारीचालकलाई ट्राफिक नियमको जानकारी दिने, संयमित ढंगले सवारी चलाउने ज्ञान दिने र सडकको अवस्था ठिक राख्ने नै हो ।
सडक दुर्घटनामा मृत्यु हुनेमा ६८ प्रतिशत दुईपांग्रे सवारीसाधनमा चढ्नेहरू नै हुने देखिएको छ भने कुल दुर्घटनामा सहभागी सवारीसाधनमध्ये ८० प्रतिशत दुईपांग्रे नै देखिएका छन् ।
यसैबीच, करिब एक लाख सवारीचालक अनुमतिपत्र नक्कली बनाएर वितरण गरेको समाचारले दुर्घटना अझ बढेर जाने संकेत गर्छ । समयमै यस्ता विषयमा ध्यान दिएर निर्दोष नागरिकको ज्यान जोगाऔँ ।