site stats
बाह्रखरी :: Baahrakhari
देश
डा. विशद दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजले आवासीय चिकित्सक डा. विशद दाहालमाथि गरेको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन दिएका छन् । मन्त्री राईले काठमाडौं विश्वविद्यालयको सहकुलपतिको हैसियतमा डा. दाहालमाथिको निलम्बन फिर्ता गर्न विश्वविद्यालयलाई निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले मंगलबार मन्त्री राईले काठमाडौं विश्वविद्यालय ऐन २०४८ को दफा १३(क) उपदफा(३) बमोजिम निर्देशन विश्वविद्यालयलाई निर्देशन दिएको जानकारी दिए ।

Argakhachi Cement Island Ad

मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिटसम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीलाई स्वास्थ्य शिविरमा पठाउन पनि निर्देशन दिएको उनले बताए ।

सचिव अधिकारीले मन्त्री राईले दिएको निर्देशनको बेहोरा जानकारी दिदैँ भने, "चिकित्सा शिक्षा आयोगबाट उल्लेखित नीति र सुधारका मापदण्ड र काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिटसम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र स्वास्थ्य शिविरमा विद्यार्थी पठाउने कार्य गर्न, गराउनु हुन । निलम्बित विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गर्न गराउन काठमाडौं विश्वविद्यालय ऐन २०४८ को दफा १३(क) उपदफा(३) बमोजिम निर्देशन दिएको छु ।"

मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हुने निर्देशनलाई पालना गरी मन्त्रालयलाई जानकारी गराउन भन्दै काठमाडौं मेडिकल कलेजलाई बोधार्थ समेत दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २३:०९
प्रतिक्रिया दिनुहोस्