अनुपम प्रकृतिका विशाल फाँट । आँखाले नभ्याउने प्रकृतिको फराकिलो क्षितिज । अपार अनुभूतिले अघाउँजी मन । सर्वप्रथम सर्वोच्च शिखर सगरमाथालाई आँखाको सामुन्ने देख्न र भेट्न पाएको क्षण । कति हर्षका भकारी । कति खुसीका चुली ।
सेताम्मे हिउँका उरुङखातले सुशोभित प्रकृति–परी । नवयौवनका मादक रूप–रङहरूले रंगिएका दृश्यका ताँती । शिरमा श्रीपेचझैँ बहुमूल्य रत्न, मणिमाणिक्यले सजिएको हिमाली लस्कर ।
अनमोल पल, अनुपम दृश्य, असीमित खुसी । जिन्दगीका रहरहरू पूरा भएपछि । परिकल्पनाले यथार्थलाई भेटेपछि । भ्रमणमा भव्य सफलता मिलेपछि । हर्षमा पनि आँसु स्वतः नै झर्दो रहेछ । खुसीमा बोली पनि बन्द हुँदो रहेछ । शब्दहरू चुपचाप निःशब्द भई मन स्वतः हिमाली सौन्दर्यमा मदहोस हुन पुग्दो रहेछ ।
‘निलो आकाश, सेतो हिमाल ।’ सामान्यतः झट्ट देख्दा यति नै हो दिन खुलेको अर्थ । अर्थात्, सफा मौसम हुनुको पल । जहाँ रातभरि झरीले प्रकृतिलाई निस्लोट भिजाओस् र हावाहुरीले धुलोमैलो सारा उडाओस् ।
अनि, बाँकी रहोस् बचेको कञ्चन प्राकृतिक पाटो । नयनाभिराम हेरिरहन सकियोस् अघाउजी प्रकृति परीलाई ! थला परेको मधौरो पनि ओछ्यानबाट उठोस् । आँगनसम्म निस्केर आकाश हेर्ने आँट गर्न गरोस् । सुन्दर साँच्चै सुन्दर प्रकृति देखेर आफू अब बिसेक भएको महसुस गर्न सकोस् ।
यस्तोमा देखिने आकाशको सुन्दर लालित्य नीलिमा रङ हो । निलो रङमा परिभाषित शान्तिको रङ मात्रै प्रस्ट हुँदैन । यसले गहिरो अर्थ–अभिप्रायको भाव सम्प्रेषण गर्छ । र, हिउँले भरिभराउ श्वेत, शुभ्र, स्निग्ध, कञ्चन काया रूपको हिमालय पर्वतमालामा अनुभूतिको यात्रा प्रारम्भ हुन्छ ।
आँखाकै डिलमा रङहरूका सौन्दर्यले झुत्ती खेल्न आउने । मन छुने मिलन–महोत्सवको भेला हुने । आँखाकै आँगनमा सुन्दर रङहरूको बिस्कुन फिँजिने । तिनै बिस्कुनमा रङहरूका दृश्यपानले मात लागेर पृथक् उल्लासमा अलमस्त ज्यान–प्राण । सुमधुर सम्झनाहरूमा मन चोबलिँदै आहा, उन्मादको अर्को पल ! सारा तनाव बिर्सिंदै खुसीले यात्रामा अनवरत अगाडि बढेको यही सार्थक उपलब्धि ।
आँखामा दृष्टिगोचर हुने दृश्य–विम्बको परिदृश्यमा अभिव्यक्त भावार्थ निकै अर्थपूर्ण लाग्छ । यिनमा जीवन र प्रकृतिको दर्शन मिल्छ । मन रमाउन पाएपछि । खुसीले स्वतः चुम्न आएपछि । अनुपम प्रकृतिमा जिउज्यानले पाइला टेकेपछि अब अरू केही चाहिँदैन ।
आँखामा देख्नुको तृष्णा अनगन्ती सँगाल्दै । मनमा अनुभूतिको खजाना बटुल्दै । तिनै खजाना अनुभूति–अभिलेखनका बेजोड खान्की । तिनकै आधारमा सुन्दर सिर्जनाका बीजारोपण गर्ने योजना बुन्दै । तिनैलाई शब्द, भाव, विचार र विवेकमा वृक्षरोपण गर्दै ।
जीवन–ज्ञानका मिहिनेत, मलबाट उत्पादन गर्न नयाँ सृष्टि–सिर्जनाका आधार तयार पार्दै । अजरअमर रचनाका बान्की बनाउँदै । सौन्दर्यका नवीनतम् विम्बहरूको आकर्षणले तृप्त भएर निस्किँदै । क्रमशः जीवनघाममा उल्लासको मौसम निम्त्याउँदै ।
अन्ततः शब्दमा कोमल सौन्दर्य अभिव्यञ्जनाको उपस्थिति । भावमा माधुर्य मनोहर छटाछविको लेपन । गहिरो र गम्भीर भाव–चेतनाको शब्द–प्रक्षेपण । जहाँ पीडालाई पनि नदुखाई, घाउलाई समेत नकोट्याई बरु आरामदायी दृश्य–रमणको यात्रा तय होस् । जहाँ बिछट्टका रङहरूको सुन्दर संयोजन होस् । जहाँ शब्दाकृतिको शब्दावलीमा सिर्जनाको अर्को नयाँ सर्वोच्च उचाइ स्थापित होस् ।
त्यहाँ हिमाली सुगन्धले लिपपोत गरिएको नयाँ जीवन–संसारको सुरुआत भइदिओस् । त्यहाँ अनुभवी, परिष्कृत र परिपक्व भावनाहरूले एकापसमा हाँसो र खुसी साटफेर गरोस् । प्रेममय प्रकृतिमा मानव मन प्रेममय बनेर साथसाथै एकाकार भइरहोस् ।
कैयौँ दिनदेखि हिँडेर आएका प्रकृतिप्रेमी पाहुनाहरूलाई भनेजति सुन्दरताको स्वाद चखाओस् । आउनुको उपलब्धि उच्च पारिदिँदै हिमाली स्वागत र सत्कारमा मन दिइरहोस् । हिउँदको पारिलो घाममा ढाड सेकाउँदै । हिउँले खाएका अनुहारलाई आराम गराउँदै । जीवन्त अनुभूतिहरूका मिठा–मसिना कोसेलीपात सँगाल्दै !
सजाउँदै सुन्दरताका साक्षात् रूपहरू । रमाउँदै मनमन्दिरमा गहिरो भाव–सम्प्रेषणले ओेतप्रोत अनेकौँ पहेलीहरू । दृश्यमय तलाउ–तरंगका मायालु रूपसी उर्वसीहरूका साथ । अनौठा आकर्षक रङ–सौजन्यका कालिगडी शिल्पकौशलले सिर्जित शीतल, शान्त, सुन्दर अमर कलाकृतिजस्तो । मन त्यस्तोमा, हृदय त्यही परिवेशमा आल्हादित बनिरहोस् ।
हिमाली दृश्यका यस्तै निकट अपनत्वबाट स्वत् प्रेम प्रकट हुने रहेछ । फलतः आफ्नोपन, प्रेम र मायाले नै मानव जिन्दगीलाई दिव्य बनाइदिने रहेछ । प्रेमले नै जीवनमा शान्तिको प्राप्तिसँगै गहिरो ज्ञान–गंगामा पुर्याउने रहेछ । अन्ततः सुखद अनुभूति र खुसियालीको आभास यहीँ मिल्दो रहेछ ।
अतः प्राकृतिक सुन्दरता हाम्रा लागि जीवन–दीपको एक अनिवार्य अंश हो । प्रेरणा र उत्साहको प्राप्ति स्थान, जहाँ आत्मीय अपनत्वका साथ पवित्र प्रेम जागृत हुन्छ ।
हिमाल छ, हिउँ पर्छ । हिमाल चुलिन्छ । रुखो पर्वत सेतो रङमा बद्लिन्छ । हिउँले भरिएको त्यही हिमाल सबैलाई मन पर्छ । श्वेत–शान्त हिमाल सेताम्मे कलेवर मात्रै सुन्दरताको पहिचान होइन । समयका परिवर्तनसँगै सूर्यका सुनौला किरणहरूले रङका विम्ब–विधानमा रहस्यमय सौन्दर्यको जवानी भरिदिन्छ ।
मनै छुने, हृदय स्पर्श गर्ने, आँखा लोभिने अनौठो दृश्यपानले तृप्तिको मिठो पल कहाँ बिर्सिन सकिन्छ र ! जीवन्त प्रकृतिसँगको साक्षात्कार स्वर्णिम कालखण्डको यौटा अध्याय हो ।
जहाँ मिल्छ, मिलिरहन्छ अज्ञात खुसी, अनुपम प्रकृति । यही हो हिमाली पदयात्राको मनोरम प्राप्ति । पहाडी तरेलीहरूको उचाइ अग्लिँदै गएको । सेताम्मे हिउँका थुप्रोले हिमाल बनेको । पग्लिएर हिमनदी बगेको । जमेर कडा ग्लेसिएर भएको । अनेक देशका अनेकौँ प्रकृतिप्रेमी पर्यटकको मन यतै रमिरहेको ।
मायालु बादलु घुम्टोले हिमाललाई सायद धेरै चिसिन्छ भनेर घ्वाप्लाक्क ओढाएको । प्राकृतिक सुन्दरताको मौलिक अर्को अनुपम रूप यही परिवेश । सर्वाेच्च चुलीहरूको जम्काभेट र सर्वाधिक सन्तुष्टि र खुसीको मिलन मिलिरहेको ।
हरेक बिहान, हरेक साँझ सूर्यले हिमाली चुलीलाई सुनरङले पोतिदिने । जहाँ अर्को अचम्मको सुनौलो रङमा रूपान्तरित चमचम चम्किरहेका हिमाल । हिमाली लस्कर शोभायमान बनेर प्रकृतिप्रेमीलाई स्वर्गीय अनुभूति प्रदान गरिदिने ।
यहीँ रहेछ मनको शान्ति । यहीँ पाइन्छ आँखाहरू रमाउने दृश्यहरूको मिठो खान्की । त्यसैले अज्ञात खुसी, अनुपम प्रकृति । अपार अनुभूतिका बग्रेल्ती अभिलेखहरू ।
हिमाल देखेपछि, हिमाललाई भेटेपछि सारा पीडा भुलिँदो रहेछ । अनुपम प्रकृतिले मायालु स्पर्श गर्न आएपछि गन्तव्य त्यहीँ टुंगिँदो रहेछ । आँखाहरूले बेतोड वेग मार्दै प्रसिद्ध पर्वतका मायालु मिठास महसुस गरिरहँदो रहेछ ।
यस्तो अनमोल पल, अनुपम दृश्य, असीमित खुसी । जिन्दगीका रहरहरू पूरा भएपछि । परिकल्पनाले यथार्थलाई भेटेपछि । भ्रमणमा भव्य सफलता मिलेपछि । हर्षमा पनि आँसु स्वतः नै झर्दो रहेछ । खुसीमा बोली पनि बन्द हुँदो रहेछ । शब्दहरू चुपचाप निःशब्द मन हिमाली सौन्दर्यमा मदहोस हुन पुग्दो रहेछ ।
ओहो, त्यहाँबाट प्राकृतिक सुन्दरताका नवयौवनहरू मुस्कुराउँदै दृश्यमान हुँदा कति हर्ष ! कति गर्व । आकर्षक मुहार–मुस्कानहरूले गम्लङ्ङ अँगाल्न आउने रहेछ । चुपचाप चिनारी गाँस्न तम्सिने रहेछ ।
प्रेमको पराग र मायाको मिठासले भरिभराउ हिमालसँग साक्षात्कार हुन पाएपछि खुसीले सीमा नाघ्ने रहेछ । अनुपम प्राकृतिक फाँटमा अपार अनुभूति मिल्ने रहेछ । जहाँ स्वार्थ, शोक, दुःख र तनावको कुनै गुन्जायस छैन ।
एकैपल, एकछिन सुखद अनुभूति प्राप्ति, आनन्दले भरिपूर्ण जिन्दगी । जहाँ जे, जसरी होस् यसरी अलिकति क्षणिक खुसी, सुख र शान्तिका निम्ति अन्ततः मानिसले जीवनभरिकै लगानी गरेर कहिल्यै नबिर्सिने उपलब्धि हासिल गर्ने रहेछ ।
धन्य प्रकृति, धन्य जिन्दगी !