site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
माटो मेरो चन्दन

सुरेन्द्र शाही 


परेवालाई तड्पाएर मार्दा
तिम्रा पाखुरा काँप्दैनन् कहिल्यै
बरु, होली खेल्छौ
त्यसैका केही थोपा रगतमाथि
थाहा छैन
बुद्धका निर्मल नयनको परिभाषा
जसले दया र करुणाको भाव व्यक्त गर्छन्
बुद्धका सन्तति भएर
यो सुन्दर भूमिमा जन्म लिएर
कुनै जसको काम गरेका छैनौ
बरु,
नेपाल आमालाई रुवाइरहेका छौ
दुईचार पैसाको लोभमा परेर
विक्षिप्त आमाको अंगप्रत्यंगहरू बेच्दै छौ

Argakhachi Cement Island Ad

कति कठोर छौ
कति निर्मम छौ
त्यो त तिम्रो व्यवहारले प्रस्टै पार्‍यो
शान्तिका हजारौँ प्रतीकहरूका घाँटी निमोठ्ने तिमी
नेपाल आमालाई टुक्रा पारेर बेच्ने तिमी
चन्दनरूपी माटोलाई घृणा गर्ने तिमी

स्वयम् भन, म कसरी विश्वास गरूँ ?
देशको लागि सच्चा सपुत
यस धर्तीको माटोलाई चन्दन बनाई
हरदिन टीका लगाउने मान्छे म
म त परेवाको पूजा गर्ने मान्छे
शान्तिलाई पुकार्ने मान्छे
तिम्रो जस्तो कठोर छैन
नौनीजस्तो मेरो मन
भयो,
तिमीजस्तो 
साथी मान्दिनँ म ।

(बाजुरा)
 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्