काठमाडौं । अबदेखि धनगढीमा पनि सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ ।
धनगढी उपमहानगरपालिकाले आज एक सूचनामार्फत आगामी माघ १ गतेदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाइएको जनाएको हो ।
"चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ विक्री वितरण नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ," सूचनामा भनिएको छ ।
बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताएका छन् ।
यसअघि काठमाडौं महानगरले महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गरेको थियो ।