site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘तरंग सिर्जना’ गर्न नसकेको माओवादीको चार महिने अभियान
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले पार्टीको विशेष रूपान्तरण अभियान सोमबारदेखि सकिएको छ । माओवादीले वडास्तरमा जनपरिचालन गर्न चार महिने अभियान चलाएको थियो ।

चार महिनाअघि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को घोषणा गर्दै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रत्येक घर–घर पुग्न निर्देशन दिएका थिए । कुनै पनि दलका कार्यकर्ताको घर नछाड्न उनको निर्देशन थियो ।

तर, माओवादीका नेता शतप्रतिशत कार्यकर्तामाझ पनि पुगेनन् । माओवादीको प्रारम्भिक विश्लेषण छ– ‘‘७० प्रतिशत नेता कार्यकर्ताकहाँ पुगे । ३० प्रतिशत नेता निस्क्रिय रहे ।’’

Prabhu Bank
Agni Group
NIC Asia

सम्पर्क विशेष कमिटीको इन्चार्जसमेत रहेका पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेल समग्रमा जनाधार भएको क्षेत्रमा मात्रै पुगिएको स्वीकार गर्छन् ।

“घरदैलोमा पुग्ने भनेका थियौँ । मुख्यतः नेताहरू कार्यकर्ताकहाँ पुग्ने काम भएको छ,” उनी भन्छन्, “जहाँ पार्टीले जितेको छ त्यो वडा, पालिका, जनआधार भएका ठाउँमा पुगिएको देखिन्छ ।”

Global Ime bank

औपचारिकरूपमा अभियानको समीक्षा भने माओवादीले गरिसकेको छैन । पार्टीले यसअघि पनि अभियान चलाउँदै आएको थियो । तुलनात्मकरूपमा यो अभियान प्रभावकारी भएको निष्कर्ष माओवादीको छ । पदाधिकारी बैठकले पनि अभियान सफल र प्रभावकारी रहेको निचोड निकालिसकेको छ ।

निष्क्रिय रहेका पार्टीका संरचनालाई गतिशील बनाएको, माओवादी छन् भन्ने जनतामा सूचना पुगेको नेताहरू बताउँछन् । कार्यकर्तासँग भेटघाट र उनीहरूले गरेको आलोचना सुन्ने काम भने भएको छ । 

माओवादी नेता पेशल खतिवडा भन्छन्, “पार्टी कमिटीलाई गति दिएको छ । निष्क्रिय कार्यकर्ता गतिमा आएका छौँ ।”

तर, अभियानले जुन रूपमा प्रभाव पानुपर्ने हो, त्यो गर्न नसकेकोमा नेताहरू एकमत जस्तै देखिन्छन् । सत्तारूढ पार्टीले गरेको अभियान छेड्न नकिएको, सरकारले गरेका राम्रा कामाको पनि प्रचार गर्न नसिएको कुरा स्वयं नेताहरूको स्वीकारोक्ति छ ।

पार्टीका सचिव सुरेन्द्र कार्की जनतामा उत्साह गर्न बाँकी रहेको बताउँछन् ।

“कार्यकर्तामा त केही उत्साह ल्याए पनि जनताका लागि पर्याप्त भएन,” उनको बुझाइ छ, “समर्थक जनतालाई उत्साह भर्न अझै केही गर्नैपर्छ ।”

उपमहासचिव पोखरेलको पनि निचोड उस्तै छ । “जुन तरंग सिर्जना गर्नुपर्थ्यो, त्यो गर्न सकने । अब नियमित काममा फर्किएर अभियानले लक्षित गरेका कामलाई नयाँ ढंगले निरन्तरता दिन्छौँ,” पोखरेलले भने । 

सरकारसँगै सुस्तायो पार्टीको अभियान !

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारले सुशासनका क्षेत्रमा छलाङ मारेको जिकिर गर्दै आएका छन् । उनले एक वर्ष पुगेको अवसरमा गरेको भाषणमा पनि उनले सुशासानको क्षेत्रमा गरिएको सुधार गरिएको सुनाए ।

माओवादीको अभियान सुरुआतताका भुटानी शरणार्थी, बालुवाटार, सुन प्रकरणमा  सरकारले गरेको कामले केही चर्चा पाएको थियो । त्यही अनुसार माओवादीको सुरुवाती अभियानले केही गति लिएको थियो । सरकार सुस्ताएसँगै अभियान पनि सुस्तायो । 

“सरकारका तर्फबाट भ्रष्टाचारविरोधी अभियान चर्कंदा पार्टीको अभियानले गति लियो । भ्रष्टाचारविरोधी अभियान जुन ढंगले शसक्त ढंगले जान सकेन । त्यसपछि अभियान पनि शिथिल बन्दै गयो,” एक पदाधिकारीले भने । 

त्यसो त, माओवादीको अभियनालाई चाडपर्वले पनि प्रभाव पार्‍यो । दसैँ, तिहार, छठजस्ता चाडपर्वका कारण अभियान सुस्ताएपछि अभियानको समयावधि एक महिना बढाएर चार महिना बनाइयो । त्यस्तै, जाजरकोटमा गएको भूकम्पको प्रभाव पनि अभियानमा परेको नेताहरूको भनाइ छ ।

रूपान्तरणका लागि के गर्ने ? 

विशेषगरी, अभियानसँग जोडेर माओवादीले पाँच कुरा गरेको थियो । माओवादीका नेताहरूसँगको कुराकानीमा त्यसको केही निचोड पनि समेटेका छौँ ।

पहिलो, संगठन निर्माण, परिचालन गर्ने । माओवादीले संगठनलाई व्यवस्थित गर्ने भनेको थियो । पार्टी मात्रै नभएर जनवर्गीय संगठन परिचालन गर्ने उद्देश्य लिएको थियो । तर, त्यो अझै परिचालन गर्न नसकिएको नेताहरू बताउँछन् । त्यस्तै, ८औँ महाधिवेशनपछि सदस्यता नवीवकरण गर्ने भनेका थियो । केही अघिसम्म ६० प्रतिशतमाथि नवीकरण भएको रिपोर्ट आएको थियो । समग्रमा कति सदस्यता निर्माण भयो भन्ने रिपोर्ट आउन बाँकी छ । 

दोस्रो, जनसम्बन्ध । जनसेवा, सम्मान, सरसफाई, वृक्षरोपण, रक्तदान, बाटो, बिजुली लगायतका विषयलाई यसमा राखिएको थियो । 

तर, जनताले विकासको अधिकार पाउन नसकेकोमा उनीहरूको स्वीकारोक्ति छ । “विकास अधिकार हो । त्यो अनुरूप जनताले प्राप्त गरेका छैनन्,” उपमहासचिव पोखरेल भन्छन् ।

तेस्रो, उत्पादनमा आत्मनिर्भरता । पार्टीभित्र पनि योजनाबद्ध ढंगले आर्थिक निर्माणको काम गर्नुपर्ने ठम्याइ माओवादीको छ । जनतस्तरमा पनि रोजगारी दिन सक्ने आर्थिक रूपान्तरणका काम गर्ने तयारी छ । 

चौथो, प्रविधिमैत्री बन्ने । पार्टीका कार्यकर्ताकालाई प्रविधिमा दक्ष बनाउने योजना माओवादीले अघि सारेको छ । 

पाँचौँ, जीवनशैली बदल्ने । राजनीतिक वैचारिक कुराले मात्रै पुग्दैन, साँस्कृतिक रूपान्तरण शैलीबारे सोच्नुपर्छ भन्ने निष्कर्षमा माओवादी छ । 

तर, अभियानका चार महिनाभित्र कोसिस मात्रै भएको नेताहरू बताउँछन् । परिणाम भने उत्साहजनक छैन । 

रूपान्तरणका लागि गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायतका विषय लागु गर्नुुपर्ने देख्छन्, माओवादीका सचिव कार्की । 

“रूपान्तरणका लागि त कार्यक्रम लिएर गएपछि त्यस अनुसारको आचरण अपनाउनुपर्छ,” उनी भन्छन्, “गणतन्त्र, संघीयता, समावेशी, धर्म निरपेक्षता त्यसलाई लागु गर्ने हिसाबले कार्यक्रम बनाएर जानुपर्छ ।”

माओवादीको अभियानमा नेतृत्व नै सच्चिनुपर्ने आवाज चर्को रूपमा उठेको छ । नेता पेशल खतिवडा नेताहरूको व्यवहार, कार्यशैली सच्याउन सुझाव आएको बताउँछन् ।

“मूल नेतृत्वबाटै सबै सच्चिनुपर्छ भन्ने छ । मूलरूपमा माथि सप्रिएपछि तल सप्रन्छ,” उनी भन्छन् ।

भेटघाटका क्रममा ०६४ ताको माओवादीको रूपमा जनताले ग्रहण गरेका छैनन् ।

“भेटमा जनताका गुनासा सुनियो । हामीले माओवादी छाडेको हैन, ०६४ को माओवादी भयौ भने हामी साथमा छौँ । तिमीहरू माओवादी रहेनौ, माओवादीको नारा मात्रै लिएर हिड्यौ भन्ने कुरा सिधै आए,” उनले जनताका गुनासा सुनाए । 

हुन पनि जनताले ०६४ मा माओवादीलाई पहिलो पार्टी बनाएका थिए । त्यसपछि माओवादीको ग्राफ घटिरहेको छ । माओवादी नेताहरूको कार्यशैलीको चर्को आलोचना हुँदै छ ।

ती कुरामा नेताहरू फेरिने कुराले रूपान्तरण निर्धारण गर्ने उनी बताउँछन् । नेताहरू पार्टीका नेता पारदर्शी, जवाफदेही उत्तरादायी बनाउनुपर्ने बताउँछन् ।

अभियानमा आएका कुरामा ‘फलो’ गरे मात्रै रूपान्तरण हुने बुझाइ उपमहासचिव पोखरेलको छ । अभियानले समाजवादमा लैजान कस्तो काम गर्नुपर्छ भन्ने सन्देश दिएको उनी बताउँछन् ।  

“नेतृत्वको जीवनशैली बदलिएन भने अरूलाई बदल भन्ने ठाउँ रहँदैन,” उनले बाह्रखरीसँग भने, “समाजवादको यात्रामा लैजान आफूबाट कस्तो काम गर्नुपर्छ भन्ने सन्देश अभियानले दिएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !