site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बोनम्यारो प्रत्यारोपणको नीति नहुँदा अकालमै ज्यान गुमाउँछन् बालबालिका

काठमाडौं । रुपन्देहीका (बिनोद भट्टराई) परिवर्तित नामका तीन महिने छोरालाई तीन वर्षअघि जन्डिस देखियो । शरीरमा रगत कमी हुँदै जाने, उच्च ज्वरो आउनेजस्ता समस्याको कारण खोज्न भट्टराई दम्पती बुटवलदेखि काठमाडौंसम्मका धेरैवटा अस्पताल धाए ।

अन्ततः काठमाडौंकै एक निजी अस्पतालमा रोग पहिचान भयो, थालासेमिया, जुन भट्टराई परिवारकै लागि नौलो थियो । यतिबेलासम्म झन्डै ६ महिना समय गुज्रिइसकेको थियो ।

भट्टराई परिवारको इच्छा थियो, काठमाडौंमै बसेर छोराको उपचार गराउने । चिकित्सकले सल्लाह दिए छोराको रोगमा दीर्घकालीन उपचार बोनम्यारो प्रत्यारोपण हो, जुन नेपालमा हुँदैन ।

Dabur Nepal
NIC Asia

अन्योलमा केही महिना बिते, दीर्घकालीन उपचार खोज्न भारत जाने निर्णय गरे । कोरोनाको दोस्रो लहर फैलिँदो थियो, भट्टराई दम्पती छोराछोरीसहित भेलोर पुगे । भाषा र बसाइँका हिसाबले त्यहाँ राखेर उपचार गर्न सम्भव देखिएन । १८ महिने छोरालाई लिएर भारतका चारवटा अस्पताल धाए ।

अन्ततः दिल्लीकै अपोलो अस्पतालमा उपचार गर्ने निर्णय भयो । झन्डै पाँच महिनाको खर्चिलो बसाइँमा बोनम्यारो प्रत्यारोपण गरियो ।

“खर्चको यकिन हिसाब त त्यतिबेला गर्नै भ्याइएन माग्नमिल्ने ठाउँ कतै बाँकी रहेनन्, झन्डै ५५/६० लाख खर्च भयो होला”, विनोदले भने ।

“अहिले बाबुको स्वास्थ्य अवस्था ठिक छ, तर नेपालमै उपचार गर्न पाएको भए झन्झट र खर्च पनि कम हुन्थ्यो की भन्नेचाहीँ लागिरहन्छ,” उनी थप्छन् ।

अकालमै ज्यान गुमाउँछन् बालबालिका
कान्ति बाल अस्पतालमा वार्षिक २०० देखि २५० जना क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । तीमध्ये ४० देखि ५० प्रतिशतलाई रक्तसम्बन्धी क्यान्सर हुने गरेको छ ।

रक्तक्यान्सर भएका १५ देखि २० प्रतिशतलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने अस्पतालका बाल क्यान्सररोग विशेषज्ञ डा. सुधिर सापकोटा बताउँछन् । तर बोनम्यारो प्रत्यारोपणको कानुनी नीति र कार्यविधि नहुँदा कतिपय बचाउन सकिने बालबालिकाको पनि अकालमै ज्यान जाने गरेको उनको अनुभव छ ।

हाल नेपालमा क्यान्सर क्योर (निको हुने दर) ६० प्रतिशत मात्रै छ, विकसित देशहरूमा यो दर ८० देखि ९० प्रतिशत बढी छ । यो ‘ग्याप’को एउटा मुख्य कारण बोनम्यारो प्रत्यारोपणको अभ्यास नहुनु पनि हो, उनी भन्छन् ।

कान्ति बाल अस्पतालकै तथ्यांक हेर्ने हो भने क्यान्सर बल्झिएका वार्षिक करिब ५० बिरामीलाई केमोथेरापीकै भरमा उपचार गराइन्छ । उनीहरूको जीवन निकै छोटो हुने गरेको डा. सापकोटाको अनुभव छ ।

कतिपयले नेपालमा बोनम्यारो प्रत्यारोपण सम्भव छैन भनेपछि उपचार सुरु नै गराउन चाहँदैनन् भने कतिपय खर्च जुटाउँदै भारततिर लाग्छन् । कतिपय अवस्थामा थालासेमियाका बिरामीलाई रगतमा आइरन घटाउने औषधि नपाएर थप समस्या भइरहेको देखिन्छ ।

प्रत्यारोपण आवश्यक हुने बिरामीलाई केमोथेरापीमात्रै गराउनु जीवनलाई धकेल्ने विधि मात्रै भएको डा. सापकोटा बताउँछन् ।

के हो बोनम्यारो प्रत्यारोपण ?
स्टेमसेल हड्डीको भित्री भाग (मासी)मा बन्ने एक प्रकारको सेल हो । स्टेमसेल हरेक अंगमा परिवर्तन हुनसक्ने रगतको कोसिका हो, यस हिसाबले रगतमा पनि केही मात्रामा स्टेमसेल पाइन्छ ।

यसबाहेक नवजात शिशुको नाभीबाट पनि स्टेमसेल निकाल्न सकिन्छ । मेसिनको सहायताले रगतबाट समेत स्टेमसेल छुट्याउन सकिन्छ । बोनम्यारोमा नै स्टेमसेल धेरै बन्ने भएकाले यसलाई बोनम्यारो प्रत्यारोपणको रूपमा चिनिएको थियो ।

बोनम्यारो प्रत्यारोपण भनेकै पुराना खराब सेलहरूलाई बिरामीको शरीरबाट हटाएर नयाँ स्टेमसेल प्रत्यारोपण गर्नु हो । जुन अवस्था हेरेर व्यक्तिको आफ्नै रगतबाट, परिवारका सदस्यबाट वा दाताबाट लिन सकिन्छ ।

डा. सापकोटाका अनुसार यसरी बोनम्यारो प्रत्यारोपण अघि एचएलए टाइपिङ गरिन्छ, यसमा दाता र ग्रहणकर्ताको रगतका १० वटा पारामिटर मिल्नु पर्दछ । १० मा १० नै नमिलेको खण्डमा कम्तीमा आठवटासम्म मिलेको अवस्थामा प्रत्यारोपण गर्न सकिन्छ ।

परिवारका सदस्यमा यो पारामिटर मिल्ने सम्भावना २५ प्रतिशत मात्रै हुन्छ । बाँकी दाताबाट पनि लिन सकिन्छ ।

प्रत्यारोपणअघि बोनम्यारो खाली गरी खराब कोसिका मार्ने औषधि चलाइन्छ । डा. सापकोटाका अनुसार यो रक्तदानजस्तै प्रक्रिया हो ।

“नयाँ कोसिकाले शरीरमा काम गर्न १४ देखि २८ दिन लाग्छ । यो अवधिमा शरीरमा रगत नहुँदा संक्रमण हुने सम्भावना धेरै हुन्छ । यो प्रक्रियामा बिरामीलाई औषधि चलाउनुपर्ने हुन्छ । तर अन्य अंग प्रत्यारोपणजस्तो यसमा जीवनभर औषधि खाइरहनु पर्दैन, बोनम्यारो  प्रत्यारोपणपछि ६ महिनादेखि एक वर्षसम्मको औषधिले दीर्घकालीन उपचार सकिन्छ,” उनले भने ।

तर, यो प्रक्रियामा संक्रमणको जोखिम भने धेरै हुन्छ, कतिपय अवस्थामा व्यक्तिको शरीरले नयाँ कोसिकाहरूलाई रिजेक्ट गर्ने पनि यस्तो अवस्थामा पनि औषधि धेरै चलाउनुपर्ने हुन्छ ।

कस्ता कस्ता बिरामीलाई गर्ने ?
रगतसम्बन्धी क्यान्सर र ननक्यान्सर दुवैखाले रोगका लागि बोनम्यारो प्रत्यारोपण दीर्घकालीन उपचार विधि हो ।

डा. सापकोटाका अनुसार रक्त क्यान्सर, लिम्फोमा, न्युरोब्लाष्टोमा लगायतका क्यान्सरको उपचारमा यो विधि प्रयोग हुन्छ । केमो दिएर बल्झिएको अवस्थामा, किमोले काम नगरेको अवस्थामा  पनि बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

त्यस्तै हड्डीको मासीमा समस्या भएको, अप्लाष्टिक एनिमिया (रगतका कोसिकाहरू बन्न नसकेको अवस्था) खराब रगत बनेको अवस्था, थालासेमिया, सिकलसेल र केही वंशाणुगत रोगहरूमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

नेपालमा स्रोत साधन र जनशक्ति हुँदाहुँदै पनि बोनम्यारो प्रत्यारोपणका लागि हालसम्म कानुन र कार्यविधि नबन्दा बालबालिकाले अकालमै ज्यान गुमाउने अवस्था आइरहेको डा. सापकोटाको अनुभव छ ।

सरकारले यसलाई प्राथमिकतामा राखेर छुट्टै कार्यविधि तयार गर्नुपर्ने उनको जोड छ । त्यस्तै, दाताको एचएलए टाइपिङ गरेर रेकर्ड राख्नुपर्ने र आवश्यक परेमा रक्तदानजस्तै गरी दान गर्ने प्रावधान ल्याउनुपर्ने उनको सुझाव छ । नेपालमा अहिले हामीले सरकारी नीति नहुँदा धेरै बालबालिका उपचारबाट वञ्चित भएको उनी बताउँछन् ।

“त्यतिमात्रै होइन भारत र अन्य मुलुक पुगेर महंगोमा उपचार गराउनुपर्ने बाध्यता छ । यदि नेपालमै बोनम्यारो प्रत्यारोपणको प्रावधान हुने हो भने भारतको तुलनामा एक तिहाइ कम खर्चमा उपचार सम्भव हुन्छ,” डा. सापकोटा भन्छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro