site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बौद्धिक उडानको खुराक ‘अडिएका पाइला’ 

सधैँझैँ कीर्तिपुर पुगेँ । घडीघरनजिकै पार्किङ गरेँ । सिधै विभाग गएर हाजिर गर्न मन लागेन । मलाई अस्तित्व अंग्रेजी विभागअगाडि विद्यार्थीसँग थेसिसका बारेमा छलफल गरिरहेका छन् कि भन्ने लाग्यो । आफ्नो विभागतर्फ नलागी म देब्रेतर्फको अर्थशास्त्र केन्द्रीय विभागतिर लम्किएँ ।

देब्रे हाततिर रहेको अंग्रेजी विभाग सुनसान थियो । दायाँतर्फ घडीघरअगाडिको बगैँचामा केही विद्यार्थी लोकसेवाको तयारी गरिरहेका थिए । केही विद्यार्थी आफ्नै सुरमा गफिइरहेका थिए । म अगाडि बढ्दै गएँ । कतै वन्दना, मोहन र प्रकृति केही गम्भीर दार्शनिक छलफलमा छन् कि भन्ने सोचेँ । अर्थशास्त्र विभागअगाडि पुगेपछि मेरा पाइला रोकिए ।

आचार्य सर र अस्तित्व मोटरसाइकलमा चोभार जाने कि विज्ञान विभागको अगाडि चिया पसल भन्ने छलफल गरिरहेका छन् कि भन्ने लाग्यो । तर, कतै केही थिएन । मन खिन्न भयो ।

Dabur Nepal
NIC Asia

केही बेर उभिएँ । चारैतिर हेरेँ । न त मणि सर कतै थिए न त झा सर । न त विजय सर नै कतै देखिए । विश्वविद्यालय शान्त थियो । आफ्नै सुरमा केही विद्यार्थी यताउता गरिरहेका थिए । किन कोही भेटिँदैनन् त आज ! म छक्क परिरहेँ । मनमा बेचैनी बढिरह्यो ।

झल्याँस्स भए । आफ्नो सोच देखेर आफैँलाई हाँसो उठ्यो । फिस्स हाँसे । अनि, फटाफट समाजशास्त्र विभागतर्फ पाइला अगाडि बढाएँ । अब म निश्चिन्त भइसकेको थिएँ, यहाँ अस्तित्व, वन्दना वा अरू कोही भेटिँदैनन् ।

प्रह्लाद सर पुस्तक समीक्षा गराउन कसैलाई भनिरहेका छैनन् । न त मैनाली म्याडम कतै छिन् । वास्तवमा त्यो एउटा काल्पनिकी नै थियो । तर, एउटा पुस्तकका काल्पनिक पात्रले यस्तरी मथिंगल हल्लाइरहन्छ भन्ने मैले नजिकबाट अनुभूत गरेँ ।

विष्णु सापकोटाको ‘अडिएका पाइला’ पढिसक्दा मेरो दिमाग पनि अडिएरै बसिरहेका रहेछन् भन्ने मलाई फर्किंदै गर्दा अनुभव भयो । सरासर विभाग पुगेँ । मेसिनमा औँला राखेर हाजिर गरेँ ।

अफिसकोठा सुनसान थियो । अस्तित्व, वन्दना, मोहन कोही नभेटिने नै भएपछि मलाई पनि विश्वविद्यालयमा बस्न मन लागेन । फर्किएँ । विश्वविद्यालयको गेटसम्म पुग्दा पनि कोही न कोही त भेटिन्छन् कि भन्नेचाहिँ लागिरह्यो ।

०००

विष्णु सापकोटा गैरआख्यान लेखनीमा अत्यन्तै चिरपरिचित पब्लिक इन्टिलेक्च्युअल । म उनका लेख तथा अन्तर्वार्ताहरू सकेसम्म नछुटाई पढ्ने र सुन्ने गर्छु । उनको आख्यान प्रकाशित हँुदै छ भन्ने थाहा पाएपछि उक्त पुस्तक मेरो अध्ययन गर्ने लिस्टमा चढिसकेको थियो । त्यसैले पुस्तक सार्वजनिक समारोहमै पुगेको थिएँ ।

पुस्तक हस्ताक्षर गराउने लाइन निकै लामो थियो । समयले मलाई लामो लाइन छिचोल्दै हस्ताक्षर गराउन अनुमति दिएन । र, हस्ताक्षर नै नगराई घर फर्किएँ ।

आख्यानमा रुचि भए पनि पछिल्लो समय मेरो प्राथमिकता गैरआख्यानमै छ । विद्यावारिधिका कारण आख्यान नपढेको धेरै भइसकेको थियो । समय व्यवस्थापन मेरो सबैभन्दा ठूलो कमजोरी हो । त्यही समयाभावले आख्यान धेरै समयदेखि पढ्न पाएको थिइनँ । तर, केही दिनअगाडि ‘अडिएका पाइला’मा पुगेर मेरा नजर अडिए ।

यसै पनि कीर्तिपुर अनि विश्वविद्यालयको पेरीफेरीमा लेखिएको पुस्तक थियो । त्यसैले धेरै असाइन्मेन्ट र डेडलाइनलाई अलि पर धकेलेर मैले अडिएका पाइला पढ्न चाहेको थिएँ । तर, सकिनँ ।

केही दिनअगाडि जनकपुरमा प्रादेशिक सांसद तथा नागरिक समाज संस्थाका प्रतिनिधिहरूबीचमा लोकतन्त्र र नागरिक अधिकारका सम्बन्धमा प्रस्तुतीकरणका लागि बोलाइएको थिएँ । बिहान घरबाट निस्किने समयमा मैले ‘अडिएका पाइला’ च्यापेको थिएँ ।

र, बेलुका घर फर्किंदासम्म १५६ पेज सकाएको थिएँ । पुस्तकका पात्र, घटनाक्रम, दृष्टिकोण तथा लेखनले यसरी तान्यो कि राति ढिलासम्म बसेर पूरै पुस्तक सकाएँ । केही वर्षपछि एकै दिनमा ३३४ पेज अद्योपान्त पढिसिध्याएँ ।

‘अडिएका पाइला’ एउटा आख्यान हो । यद्यपि, यो पुस्तक तीनवटा कारणले मलाई उत्कृष्ट आख्यान लाग्यो । पहिलो, त्रिभुवन विश्वविद्यालय र यसभित्रका विविध आयाम बुझ्न र बुझाउन यो उपयोगी छ । विश्वविद्यालयका विद्यार्थीको मनोविज्ञान, अवस्था, बुझाइ, दृष्टिकोण हँुदै प्राध्यापकको अवस्था तथा दृष्टिकोणसम्मलाई पुस्तकले बडा मिहिन किसिमले उधिनेको छ ।

विश्वविद्यालयभित्रका दलीय राजनीति, विद्यार्थी–विद्यार्थी, प्राध्यापक–प्राध्यापक र विद्यार्थी–प्राध्यापकबीचको सम्बन्ध, यिनीहरूबीच हुने छलफल, एकाापसमा गरिने प्रेम अनि त्यहाँको सामाजिक अवयव सबै कुरालाई बडो कलात्मक दृष्टिकोणले मिहिन तर रोचक ढंगले प्रस्तुत गरिएको छ ।

नेपाली समाजमा वर्षौँदेखिको असमानता जुन आर्थिक मात्र होइन, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रीय, लैंगिक विभिन्न स्वरूपमा रहेका छन्, त्यसका बारेमा फरकफरक पात्रको फरकफरक बुझाइ र दृष्टिकोण उधिनिएको छ ।

अनि, यस्ता असमानताको अन्त्य गर्दै समाजवाद (एक तहको समानताको एक अवस्था)मा पुर्याउँछु भन्दै भाषण गर्ने राजनीतिक दलहरूले विश्वविद्यालयमा गरिरहेको दलीयकरण अनि त्यही दलीयकरणको घोडा बनेर हिनहिनाइरहेकाहरूको वास्तविक र असली चरित्रलाई पाठकले सहजै बुझ्न र अनुभूति गर्न सक्छन् ।

वास्तवमा पुस्तकले विभिन्न पात्रको चरित्रमार्फत विश्वविद्यालयको हालतलाई बडो सूक्ष्म तर प्रस्ट रूपमा पुस्तकले उधिनेको छ । विश्वविद्यालयका विभाग कसरी राजनीतिक भर्तीकेन्द्र बनेका छन्, अनि यहाँका पाठ्यक्रम कसरी निर्माण गरिन्छन् भन्ने प्रस्ट पारिदिएको छ ।

विश्वविद्यालयका अनुसन्धान केन्द्रको हालत केही अनुच्छेदमा प्रस्ट पारिएका छन् । पुस्तकमा सटीक ढंगमा भनिएको छ, “अनुसन्धान केन्द्र पार्टीले राजदूत वा अन्य आकर्षक पदमा कोटामा पार्न नसकेका आफ्ना मान्छे, आफ्ना प्राध्यापकलाई सान्त्वना पुरस्कारस्वरूप लग्ने ठाउँ बनिरहेका छन् । समग्रमा विश्वविद्यालय पर्खने ठाउँ अनि पर्खाउने ठाउँ बनेको छ ।” यति नै शब्द काफी छन्, अवस्था प्रस्ट्याउन ।

विश्वविद्यालयका विद्यार्थीहरूको सोच्ने सवाल, पढ्ने सामग्री, बोल्ने विषय, विश्लेषण गर्ने तरिका अनि शिक्षकसँग राख्ने सम्बन्धका आयामहरू कसरी बदलिरहेका छन् भन्ने कुरा पनि प्रस्ट छ ।

विद्यार्थीको तुलनामा प्राध्यापकहरू कति पछाडि छन् भन्ने कुरा शब्दमा नलेखिए पनि आशयमा प्रस्ट रूपमा बुझाइदिएको छ । विश्वविद्यालयका बहुसंख्यक प्राध्यापकहरूको अनुहार मैनाली म्याडम, प्रह्लाद सर अनि विजय सरमा देख्न सकिन्छ, आज पनि ।

दोस्रो, बौद्धिक पाठकलक्षित आख्यान । ‘अडिएका पाइला’ आख्यानका आमपाठकका लागि होइन भन्ने मलाई लाग्छ । आमपाठकले यस पुस्तकबाट अधिकतम मिठास लिन सक्दैनन् । कथाले पनि खासै तान्दैन । संवाद पनि नीरस लाग्न सक्छन् । कथा एकै ठाउँमा घुमिरहेको जस्तो लाग्न सक्छ ।

तर, बौद्धिक आख्यानमा रुचि हुने मूलतः विश्वविद्यालयका विद्यार्थीहरूका लागि यो पुस्तक एक गहकिलो खुराक हो, रहिरहनेछ । आख्यानमार्फत एक बौद्धिक उडान भर्न चाहने पाठकका लागि यो पुस्तकले व्यापक आधार प्रदान गर्दछ ।

गैरसाहित्यका विद्यार्थीले साहित्यको विद्यार्थी नहुनुको पीडा पुस्तक पढिरहँदा ठाउँठाउँमा अनुभव गरिरहन्छन् । यद्यपि, अन्य विधाका विद्यार्थीले बुझ्नै नसक्ने तहमा भने होइन । बरु, यसले गैरआख्यानमा मात्र सीमित पाठकलाई आख्यानमा पनि रुचि बढाइदिन्छ ।

पुस्तकको महत्त्वपूर्ण पक्ष भनेको पाठकले पढिरहँदा पनि सेक्सपियरको ह्याम्लेटको मानसिक अन्तद्र्वन्द्वलाई अनुभूति गर्न सक्छन् । दर्शनशास्त्र, समालोचनाका सिद्धान्तहरूलाई एकतहको बुझाइ बनाउन सक्छन् । आधुनिकतावाद, अस्तित्ववाद हुँदै उत्तरआधुनिकतावादसम्मको इन्टेलेक्च्युअल हिस्ट्रीलाई कुनै अप्ठ्यारो र जटिलताविना बुझ्न सक्छन् ।

ग्याब्रिएल गार्सिया मार्खेजको वन हन्ड्रेड इअर्स अफ सोलिट्युट, भर्जिनिया उल्पका फेमिनिजमका सिद्धान्तहरू, सल्मान रुस्दीको ल्यांग्वेजेज अफ ट्रुथलगायत पुस्तक र त्यसमा उल्लिखित दार्शनिक सवाललाई सहज र सरल भाषामा बुझ्न सहज छ ।

लेखकले विभिन्न पात्रको संवाद र मनोवादबाट इतिहास, वर्तमान र भविष्यका सवाललाई बडो सचेततापूर्वक पस्केका छन् । पुस्तकमा बौद्धिक दार्शनिक कुरा बढी पनि छैनन्, कम पनि छैनन् । उनका पात्रले बडो सचेततापूर्वक यस्ता सवाललाई ओकलेका छन् । जस्तो, अनसूयाको मनोभावबाट लेखकले वर्तमानलाई हेर्ने ऐतिहासिक चेतलाई पुस्तकमा बडो सटीक ढंगले बुझाइदिएका छन् ।

उनी लेख्छन्, “वर्तमान भनेको नै आफैँले बाँच्दै आउने इतिहासको परिणाम मात्र होला । र, भविष्य भनेको पनि त्यही इतिहास र यो वर्तमानको अर्को परिणाम होला । एउटा परिणमको अर्को परिणाम, अनि अर्को परिणामको अर्को ।” (पेज – १५५)

एउटा विश्वविद्यालयको सचेत विद्यार्थी जो आफ्नो बौद्धिक उडान भर्न पखेटा चलाउन खोज्दै छ, उसका लागि निःसन्देह बौद्धिक खुराक हो, ‘अडिएका पाइला’ । त्यस्तो पाठकले आफ्ना सपनाका उडान भर्न र टाढाटाढाको क्षितिज हेर्न यो पुस्तकले पक्कै पनि मद्दत गर्नेछ ।

पुस्तकको तेस्रो र महत्त्वपूर्ण पक्ष भनेको सम्बन्ध, यसका आयाम र यसप्रतिको व्यक्तिको दृष्टिकोण हो । सम्बन्धका बारेमा बोल्नु नै जोखिमपूर्ण हुन्छ । अझ यसलाई परिभाषित गर्ने काम त्यत्ति सजिलो पक्कै पनि छैन ।

पुस्तकमा सम्बन्धलाई परिभाषित नगरे पनि लेखकले मिहिन रूपमा रोचक ढंगले व्याख्या भने गरिदिएका छन् । सम्बन्ध के हो ? सम्बन्ध कसरी सुरु हुन्छ ? कसरी अगाडि बढ्छ ? अघि बढिसकेको सम्बन्ध कसरी अडिन पुग्छ ? अप्रत्याशित होस् या प्रत्याशित सँगसँगै अगाडि बढाउन खोजेको सम्बन्ध कसरी अलगअलग बाटोतर्फ लाग्न पुग्छ ?

अनि, सम्बन्ध केमा टिकेको हुन्छ ? केले असर पार्छ सम्बन्धलाई ? दुवै दुवैप्रति वा एकार्कोप्रति उत्तिकै आकर्षण रहँदारहँदै पनि सम्बन्धहरू किन एकै नदीका दुई किनार बन्न पुग्छन् ?

पुस्तक पढ्दै जाँदा यस्ता धेरै प्रश्न पाठकको दिमागमा मथिंगल हल्लाउने गरी आइपुग्छन् । यसको बडो दार्शनिक जवाफ मणि सरको मनोवादबाट लेखकले दिन्छन् ।

उनी लेख्छन्, “सम्बन्ध भनेको हामीलाई लाग्ने (अनुभूति गर्ने) कुरा न हो, कसलाई को सबैभन्दा नजिक लाग्छ भन्ने त लाग्ने सम्बन्धित मानिसलाई मात्र थाहा हुन्छ । अनि, यो स्थिर रूपमा रहने कुरा पनि होइन ।” (पेज –२५४) ।

सम्बन्धलाई बुझाउने वन्दनामार्फत व्यक्त भनाइ अझ गजब छ । उनी भन्छिन्, “कुनै पनि सम्बन्ध असल होस् या खराब त्यो सम्पूर्ण जीवनभर रहिरहेको हुन्छ । व्यक्तिले त्यस्ता सम्बन्धलाई आफैँले लेख्दै, पुनर्लेखन गर्दै जान्छन् । सम्बन्धलाई हेरेर कहिले रिस उठ्ला, कहिले हाँसो । कहिले पश्चात्ताप होला त कहिले खुसी ।” (पेज – ३१३)

वास्तवमा सम्बन्ध भनेको सोचाइ वा भावना मात्र न हो । सबै ठिक छ भन्ने भावना मनमा तरंगित हुँदा र अब ठिक छैन भन्ने भावना तरंगित मात्र हुँदा सम्बन्धमा आकाश–जमिनको भिन्नता आइसकेको हुन्छ । पाठकले अडिएका पाइलाबाट यस यथार्थतालाई नजिकबाट अनुभूति गर्न सक्छन् ।

लेखकले जीवन र बाँच्ने प्रक्रियालाई बडो दार्शनिक ढंगबाट व्याख्या गरिदिएका छन् । उनले लेखेका छन्, “बाँच्नु भनेको नै निरन्तर भत्किने र बन्ने, उध्रिने र बुनिने प्रक्रिया न हो । जति नै गहिरा भने पनि सम्बन्ध भनेका भावनाका त्यान्द्रा न हुन् । ती त्यान्द्रा कताकता जेलिएका हुन्छन्, के केमा अडिएका हुन्छन्, तिनीहरूमा केके बगिरहेका हुन्छन् ? त्यहाँभित्र के–के सञ्चार भएका हुन्छन्, कसले नै आफूले नियन्त्रण गरेको हुन्छ र ? कुन भाव कहिले कसरी उत्पन्न हुन्छन्, कसरी हराउँछन्, कोसँग गएर ठोक्किन्छन्, ती कहाँ दुर्घटनामा पर्छन्, कहाँ ल्यान्ड गर्छन्, कसले पो सधैँ अनुमान गर्न सकेको हुन्छ र ?” (पेज – २८४) 

इतिहासको खास सन्दर्भमा प्रेम, सम्बन्ध, भावना तथा विश्वासको विकास भएको हो । यो सर्वकालीक हँुदै होइन । यदि, बोल्ने प्रेमिल शब्द हुँदैन थिए भने, यदि कलम र कापी अनि शब्दको विकास हुँदैनथ्यो भने, अनि आधुनिककालमा सामाजिक सञ्जाल, सूचना प्रविधिको विकास हुँदैनथ्यो भने वा औद्योगिक क्रान्ति हुँदैनथ्यो भने रोमान्टिक लभ यो अवस्थामा हुन्थ्यो होला र ? त्यो सम्भावना नै थिएन ।

त्यसैले प्रेम आफैँ हुने कुरा होइन । प्रेम त विभिन्न सामाजिक सम्बन्ध, परिवेश, संरचनाको जगमा निर्मित सामाजिक उत्पादन हो । यस्तो प्रेम वा सम्बन्ध कति सानो कुराले सुरुआत हुन्छ, अनि त्योभन्दा पनि कति सानो कुराले अन्त्य । यो कुरा बुझ्न ‘अडिएका पाइला’ले पाठकलाई गहिरो खुराक दिन्छ ।

सबै लेखकका शब्दमा मात्र खोजेर पाइँदैन । लेखकले पुस्तकभरि पढ्ने शब्द वा वाक्य भारी मात्र थोपरेका छैनन्, बरु सचेत र बौद्धिक पाठकलाई सोच्ने र आफ्नोअनुसार व्याख्या गर्न मिल्ने प्रशस्त ठाउँ छाडिदिएका छन् ।

पुस्तक सकिने बेलामा मेरो दिमागमा दुईवटा कुरा घुमिरहेका थिए– के त्यति सामान्य सवालले अनसूयाजस्तो एउटा बोल्ड पात्रले आफूले चाहेको सम्बन्धलाई त्यसरी फरक ढंगले परिभाषित गर्न सक्छिन् ? अनि, के अझै अस्तित्व विश्वविद्यालयमै होलान् या विश्वविद्यालयमा राजीनामा दिएर अन्त कतै पुगिसके ? अनि, कति अस्तित्वहरू विश्वविद्यालयको दलीयकरणको सिकार बन्दै कीर्तिपुरको ढोकाबाट बाहिर निस्किन तम्तयार भएर बसेका होलान् ?

dipesh.ghimire333@gmail.com

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro