काठमाडौं । विदेशी खेलकुद क्लबहरूसँग स्थानीय क्लबहरूलाई सहकार्य र सम्बन्धन दिलाउन कम्प्लिट स्पोर्ट्स सोलुसन (सीएसएस) इन्डिया र नेपालको हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट (एचएसएम) बीच सम्झौता भएको छ ।
आइतबार एक पत्रकार सम्मेलनमार्फत सीएसएस इन्डियाका प्रबन्ध निर्देशक दीप्ति उम्मत र एचएसएमका तर्फबाट निर्देशक साहित्यराज श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार सीएसएसले हिमालयन स्पोर्ट्सले उत्पादन गर्ने खेलाडीहरूलाई विदेशी क्लबसँग सहकार्यका लागि सहयोग गर्नेछ । एचएसएमले नेपालको क्लब, विद्यालय तथा अन्य टिमहरूलाई युरोपियन र अन्तर्राष्ट्रिय क्लबहरूसँग फुटबल, क्रिकेट, बास्केटबलसँगै अन्य खेलहरूका लागि खेलकुद भ्रमणको समेत आयोजना गर्नेछ ।
सीएसएस बेलायती संस्था भए पनि नेपाली खेलाडीहरूको सहकार्यका लागि भने भारतमा रहेको शाखाले हेर्नेछ । सम्झौतापछि एचएसएमका निर्देशक श्रेष्ठले यसबाट नेपाली युवा खेलाडीहरूको खेलस्तर उकास्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।