
भक्तपुर । टिपरको ठक्करबाट मध्यपुरथिमि नगरपालिका–२, सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्रअगाडि स्कुटर चालकको मृत्यु भएको छ ।
बहाखा बजारबाट सानोथिमितर्फ जाँदै गरेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई शनिबार विपरीत दिशाबाट आउँदै गरेको बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो । स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई मध्यपुरथिमि–३, गठ्ठाघरमा बस्दै आएका २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
प्रहरीले टिपर चालक धादिङको थाक्रे गाउँपालिका–७ घर भई भक्तपुरकै सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा बस्दै आएका ४२ वर्षीय सुरेश तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको उनले जानकारी दिए । रासस