काठमाडौं । बक्यौता तिर्न नसकेपछि खारेज भएको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले आफ्नो सम्पत्ति बिक्री गर्न वा फुकुवा गरिदिन माग गर्दै पत्र पठाएको छ ।
स्मार्ट टेलिकमले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै सम्पत्ति लिलाम बिक्री नगर्ने भए फुकुवा गर्न माग गरेको हो ।
प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले स्मार्ट टेलिकमले कानुनबमोजिम थप प्रक्रिया अघि बढाउन माग गर्दै पत्र पठाएको बताएका छन् ।
निर्देशक पौडेलले भने, “पत्र आएको छ । प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति नियन्त्रणमा ल्याएपछि थप प्रक्रिया अनुरुप अघि बढ्न भनेर पत्रमा लेखेको छ ।”
स्मार्ट टेलिकमले नियामक निकाय प्राधिकरणले सम्पत्ति नियन्त्रणमा लिएपनि सञ्चालन गर्न नसकी दायित्व र जिम्मेवारीबाट विमुख भएको भन्दै आलोचना गरेको छ ।
स्मार्ट टेलिकमले प्राधिकरणको अक्षमता र अकर्मण्यताको परिणाम कम्पनी वा कम्पनीका सञ्चालकले भोग्ने अवस्था नहुने दाबी गरेको छ ।
उसले नेपाल टेलिकम र एनसेललाई नवीकरण शुल्क बुझाउन राहत हुनेगरी अवधि तोकेको तर स्माटलाई भने नदिएको भन्दै भेदभाव गरेको आरोप लगाए ।
लिलाम बिक्री नगर्ने वा गर्न असमर्थ भए प्राधिकरणले नियन्त्रणमा लिएको सम्पत्ति फुकुवा गरी प्रचलित कानुनबमोजिम सम्पत्ति र दायित्व पूरा गर्ने जिम्मेवारी कम्पनीलाई दिन माग समेत स्मार्ट टेलिकमले गरेको छ ।
कम्पनीले मंसिर २१ गते लेखेको पत्रमा १५ दिनभित्र तत्काल प्रचलित नियमावलीबमोजिम कम्पनीले प्रदान गर्ने दूरसञ्चार सेवालाई व्यवस्थापन समूहमार्फत सुचारु गर्न समेत आग्रह गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति आफ्नो स्वामित्वमा ल्याएपनि सञ्चालन भने गर्न सकेको छैन । प्राधिकरणले स्मार्टको सम्पत्ति बिक्रीका लागि लिलाम प्रक्रिया पनि अघि बढाएको छैन । स्मार्टले यसअघि पनि यस्तै पत्र पठाएको प्राधिकरणका एक अधिकारीले बताएका छन् ।