site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा सरकारको संलग्नता छ : ओली
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा सरकारको संलग्नता भएको अरोप लगाएका छन् । 

बिहीबार तेह्रथुममा मेची–महाकाली अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नताबिना बेचिन नसक्ने दाबी गरे । 

Argakhachi Cement Island Ad

उनले खर्बौको कारोबार हुने र मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए । उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको बताए ।

चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेल गरेर बेच्न लागेको बताए । नागरिकहरूले सरकारको संलग्नता भनेपनि सरकार बोल्न नसकेको उनको भनाइ थियो । 

ओलीले भने, "विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन भित्रिन्छ । कति किलो सुन सिग्रेट भनेर भित्रिन्छ । दिनैपिच्छे देशमा तस्करी भइरहन्छ । यस्तो कति हो कति तस्करी भइरहन्छ । सुनिन्छ अहिले एनसेल बेच्ने तयारी वा काम भइरहेको छ । यसमा सरकारको संलग्नता नहुने कुरै भएन । खर्बौको कारोबार, खर्बौको मूल्य पर्ने कम्पनी केही अर्बमा बिक्री हुँदैछ । सयौँ गुणा फरक छ यसमा । यत्रो अन्तर पारेर देशलाई घाटा पारेर अब तीन, चार वर्षपछि एनसेल आफैँ नेपाल सरकारको अन्डरमा आउने त्यस ठाउँमा सरकारले जालझेल गरेर अर्को कम्पनीमा नामसारी गरेर कौडीका मोलमा नामसारी गरेर कमिसनतन्त्रको जालोबाट देशलाई लुटतन्त्रमा लगेको छ । यो कुरा बाहिर आइरहेको छ । सरकार बोल्न सकिरहेको छैन । अवस्था यस्तो छ ।"

अध्यक्ष ओलीले सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गरे । उनले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्