site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कार्थकको अन्तिम उपन्यास ‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’ सार्वजनिक

काठमाडौं । दिवंगत लेखक, संगीतकार तथा सम्पादक पिटर जे कार्थकको अन्तिम अंग्रेजी उपन्यास ‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’ एक समारोहकाबीच सार्वजनिक गरिएको छ । 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षाविद् एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमा, प्रा.डा. अभि सुवेदी तथा कार्थकपत्नी रञ्जना कार्थकले कृति संयुक्त रूपमा सार्वजनिक गरे ।  

कार्यक्रममा प्रा. माथेमाले पिटरलाई आफूले धेरैपछि मात्र भेटे पनि किन यति ढिला भेटेछु भनेर थकथकी लागेको बताए । पुस्तकमा पिटरले दार्जीलिङबाट काठमाडौं आउँदाको कथा लेखेका छन् । काठमाडौंबारे आउटसाइडरका रूपमा आफूले देखेभोगेका रूपमा पनि चित्रण गरेको उनले जनाए । 

माथेमाले भने, “पिटरको स्वतन्त्र लेखन र व्यंग्यात्मक भाषाशैलीले पुस्तकलाई थप रोचक बनाएको छ । यसले मलाई असाध्यै तान्यो । तपाईंहरूलाई पनि म पढ्न आग्रह गर्छु ।” 

पुस्तकका पात्र यथार्थ रहेको र यसले त्यति बेला अर्थात् पञ्चायतको समयताकाको चित्रणलाई राम्ररी अभिव्यक्त गरेको प्रा.डा. सुवेदीले बताए । उनले भने, “यहाँ पात्र यथार्थ छन्, तिनको जमात ठूलो छ । पुस्तक पढ्दा मैले विद्यार्थीकाल सम्झिएँ ।”

कार्यक्रममा कार्थकपत्नी रञ्जना कार्थकले पिटरको सम्झना गरिन् । पिटरले आफ्नो सिर्जनात्मक लेखनभन्दा पनि अरूका लागि आफ्नो जीवन समर्पण गरेको उनको भनाइ छ । 

यसअघिका पुस्तक लेखनका विषयमा आफूहरूलाई थाहा भए पनि यो अप्रत्याशित कृति भएको बताउँदै भनिन्, “यो पुस्तक तयार पारिसकेको कुरा पिटर दिवंगत हुनु केही अघि मात्र हामीलाई भनेका थिए । त्यसैले पनि यो पुस्तक हाम्रा लागि विशेष छ ।”

दार्जिलिङबाट नेपाल आएर लामो समयसम्म नेपाली साहित्य, संगीत र सम्पादनमा महत्त्वपूर्ण योगदान दिएका कार्थकप्रतिको श्रद्धाञ्जलीका रूपमा आफूहरूले यो पुस्तक प्रकाशन गरेको प्रकाशक अजित बरालले जनाए । “काठमाडौं सेरोफेरोमा बस्नेहरूले यस उपन्यासमा आफूलाई पनि पाउनुहुनेछ,” उनले भने ।  

फाइन प्रिन्टद्वारा प्रकाशित यो पुस्तक संस्करणात्मक आख्यान हो । यसमा विशेषगरी सन् १९६८ देखि १९७२ को काठमाडौंको चित्रण गरिएको छ । त्यतिबेला पश्चिमा युवा–युवती स्वतन्त्रता र निर्वाणको खोजीमा हिप्पी ट्रायल पछ्याउँदै नेपाल आउँथे । यस पुस्तकले त्यसैको कथा भन्छ ।

कार्यक्रममा निर्मलमान तुलाधरले पिटर जे कार्थकको एउटा गीत ‘मायालु’ शीर्षकको गीत गाएर स्वर्गीय कार्थकको सम्झना समेत गरेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro