आइरिस लेखक पाउल लिन्चलाई उनको उपन्यास ‘प्रोफेट सङ’ का लागि अंग्रेजी भाषाको साहित्यका लागि दिइने प्रख्यात पुरस्कार ‘बुकर प्राइज’ यो वर्ष प्रदान गरियो । आएरल्यान्ड अधिनायकवादतर्फ उन्मुख रहेको दुःखद परिदृश्यको लिन्चको पुस्तकले सामयिक राजनीतिक चिन्ताको सही चित्रण गरेको छ ।
यसबाट सवै समालोचक भने प्रभावित भएका थिएनन् । एकजना समीक्षकले त यसलाई ‘पँखेटा फडफडाएको टर्की’जस्तो पुस्तक र लिन्चको अर्वेलियन विषय र गद्य भएको पुस्तक भन्दै आलोचना गरेका छन् । तर अधिकांश समीक्षाहरू पुस्तकका पक्षमा छन् । तिनले संसदीय लोकतन्त्रको भविष्यका सम्बन्धमा पश्चिम युरोप र अन्यत्र पनि बढ्दो चिन्ताको चित्रण गरिएको भन्दै प्रशंसा गरेका छन् । एउटा मुलुक अधिनायकवादी शासनतर्फ खस्किँदै गएको चित्रणले हालै विजयी भएका नेदरल्यान्डका ग्रिट विल्डर, हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बान र फ्रान्सकी मरिन ल पेनजस्ता चरम दक्षिणपन्थी नेताहरूको प्रतिविम्ब देखिन्छ ।
डच आम निर्वाचनमा विल्डरको छक्क पार्ने जितले युरोपभर चरम दक्षिणपन्थी दलहरूप्रति बढ्दो समर्थनलाई स्पष्ट पारेको छ । दुई दशकभन्दा बढी समयसम्म उनी निरन्तर मुलुकको मुस्लिम समुदायप्रति लक्षित गरेर नेदरल्यान्डको आप्रवास नीतिको मुखर आलोचक थिए । उनको महत्त्वपूर्ण स्थानमा उदय मूलतः आजको पहिचानको राजनीति र लोकप्रियतावादी (पपुलिस्ट) आन्दोलनहरूको सरल समाधानको कारण भएको देखिन्छ ।
उदार लोकतन्त्र समर्थक पहिलेदेखि नै पहिचानवादी राजनीतिको प्रभावबाट चिन्तित छन् । व्यक्तिको पारिवारिक, जातीय, धार्मिक, राष्ट्रियताजस्ता विभिन्न पहिचान हुनु स्वाभाविकै हो तर उदार लोकतन्त्रका सिद्धान्तहरू यस्ता आबद्धताभन्दा धेरै परसम्म पुग्छन् । विभिन्नता बहुलवादी समाजको व्यवस्थापनजस्तो जटिल कार्यका लागि निर्वाचित बहुमतभन्दा बढी आवश्यक छ भन्ने मान्यता उदार लोकतन्त्रको केन्द्रमा हुन्छ ।
इतिहासमा सिसेरो, एलेक्सिस द टोक्वेभिल्ले, एडमन्ड बर्कजस्ता राजनीतिक चिन्तकहरूले अल्पमतको हितको रक्षाका लागि बहुमतको धारणामा नियन्त्रण र सन्तुलनको आवश्यकता रहेको विचार राख्दै आएका छन् जुन उदार लोकतन्त्रको एउटा स्तम्भ हो । यसविपरीत आजका अनुदार लोकतन्त्रहरूमा भने सत्तारुढ दलले राज्यका स्वतन्त्र निकायहरूलाई कब्जा गरी प्रणाली ध्वस्त पारेर पङ्गु बनाएपछि आफूले कहिल्यै नहार्ने गरसुनिश्चित गरेपछि मात्र नागरिकलाई मत दिन दिइन्छ ।
यसको तात्पर्य पहिचानको कुनै अर्थ छैन भन्ने होइन । म अंग्रेज हुँ र बेलायतको राहदानी छ तर मेरा बूढाहजुरबा आइरिस थिए । मेरो आस्था रोमन क्थाथोलिक हो र राजनीतिकरूपमा म पुरातन शैलीमा आफूलाई मध्यदक्षिणपन्थी टोरी ठान्छु । म आफूलाई युरोपेली र अन्तर्राष्ट्रियतावादी मान्छु । महत्त्वपूर्ण कुरा परिवार मेरो वैयक्तिक पहिचानको जग हो ।
मेरो पहिचानका प्रत्येक पक्षमा मैलै अपनाएको मूल्यमान्यता जोडिएका छन् । मेरो सहनशीलता र संयम, विधिको शासन एवं संसदीय लोकतन्त्रमा दृढ विश्वास छ । म पोप फ्रान्सिसको धारणा चर्चहरूले व्यक्तिले कसरी जिउनुपर्छ भनेर निर्देश गर्नु हुँदैन भन्ने दृष्टिकोणप्रति सहानुभूति राख्छु । बरू, अस्पतालले जसरी नै चर्चहरूले पनि जीवनका खराबीहरूबाट मुक्ति पाउन हामीले के गर्नसक्छौँ त्यसमा सघाउनुपर्छ ।
यसबाहेक म जटिल समस्याहरूमा सरल समाधान दिनेहरूप्रति सशङ्कित रहने गरेको छु । यही संशयले मैले ब्रेक्जिटको विरोध गरेको हुँ । अन्ततः युरोपियन यसनियनबाट बाहिर निस्केपछि बेलायती जनताले आफ्नो सार्वभौमसत्ता तथा राष्ट्र तथा व्यक्तिको भविष्यमा नियन्त्रण पुनः हासिल गर्न सकिन्छ भन्ने मान्यता झुटमा आधारित भ्रम साबित हुनपुग्यो । यसैगरी ब्रेक्जिटपछि विश्वमा बेलायतको कद पुनः उचा हुनेछ भन्ने वाचा पनि नराम्ररी भ्रममा परिणत भयो । र उल्टै आप्रवासन नियन्त्रणमा युरोपेली युनियन छाडेपछि प्रतिकूल प्रभाव परेको छ ।
ऐतिहासिकरूपमा, आप्रवासन अधिनायकवादी प्रियतावादका लागि उत्प्रेरक हुनेगरेको छ । विगतमा यसले यहुदी समुदायमाथि व्यापक दमन गरायो भने अहिले मुसलमान जनसङ्ख्याप्रति वैरभाव बढाएको छ । नेदरल्यान्डमा हंगरी र फ्रान्समा विदेशीप्रतिको घृणा र इस्लामभय उग्रराष्ट्रवादको उदय र उदार मूल्यहरूको क्षय गराउने शक्ति बनेका छन् ।
सरकारहरू आप्रवासनप्रति सामान्य र तर्कसम्मत प्रतिक्रिया जनाउन वा सीमाको प्रभावकारी व्यवस्थापन गर्न विफल भएपछि प्रियतावादी अधिनायकवादको आकर्षण बढ्न थाल्छ । तर, आर्थिक तनावका बेला खासगरी लोकतान्त्रिक सरकारहरूले जीवनस्तरमा सुधार गर्न सकेनन् भने यो झन् चर्को खतरा बन्नसक्छ ।
संसदीय लोकतन्त्रमा अधिनायकवादी शासनमा भन्दा बढी परिष्कृत नेतृत्व आवश्यक हुन्छ । लोकतान्त्रिक नेताले जटिल मामिलाहरू सस्ता नारा लगाएर वा पूर्वाग्रह राखेर किन समाधान हुनसक्तैनन् भन्ने बुझाउन सक्नुपर्छ । यही कारणले लोकतन्त्र राम्ररी चलेका अवस्थामा अरू कुनै पनि प्रकारको शासन पद्धितमा भन्दा जीवनस्तर उच्च हुन्छ ।
चीनजस्तो अधिनायकवादी शासनमा शासकको चाहना कार्यान्वयन गर्न सजिलो त देखिन्छ तर यस अवधारणाले प्रायशः आर्थिक न्यून हुन्छ भने राजनीतिक वैधता पनि घटाउँछ भन्ने उदाहरण चीनको हालको आर्थिक सङ्कट हो । जासुसीको शासनले असन्तोष दमन गर्न र स्वतन्त्र अभिव्यक्ति निषेध गर्न त सक्छ तर यस्ता उपाय लामो समयसम्म दिगो हुँदैनन् र भयावह दुष्परिणामका कारक बन्ने गरेका छन् ।
आजको चीनमा सरकारले सन् १९७९ मा हजारौं विद्यार्थीहरू मारिएका तियानमेन स्क्वायरको नरसंहारको कुनै पनि प्रकारको सम्झनालाई सक्रियतापूर्वक मेटाइन्छ । इतिहास मेटाउने यस्ता प्रयासहरू हुँदाहुँदै पनि यी घटनाको स्मरण भई नै रहन्छन् । टल्सटोयले सिकाएजस्तै असन्तोष दबाउन गरिएको प्रयत्नले कहिलेकहीँ विद्रोहको आँधीबेहरी ल्याएर अधिनायकवादी नेताहरू र संस्थालाई बढारेर लान सक्छ ।
गतिशील कल्पनाशीलतायुक्त लिन्चको बुकर प्राइज जित्ने उपन्यासले राजनीतिक प्रियतावाद र अधिनायकवादले अन्त्यमा ल्याउने अस्तव्यस्ता र कठिनाइको सम्झना तीव्र गराउँछ । तपाईँले त्यो पुस्तक किन्ने विचार गर्नुभएको छ पढ्न चाहिँ बिदाको याम सकिएपछि मात्र पढ्ने हो कि ? यो महत्त्वपूर्ण पुस्तक त हो तर आनन्द र रमाइलो गर्न भने प्रेरित गर्दैन ।
(अक्सफोर्ड विश्वविद्यालयका कुलपति )
Copyright: Project Syndicate, 2023.